नोबेल अस्पतालमा १५५० मै पिसिआर परीक्षण

विराटनगर, १२ असोज : नोबेल शिक्षण अस्पतालले सोमबारबाट पिसिआर परीक्षण सुरु गरेको छ ।

अस्पतालले सरकारले तोकेको भन्दा साढे ४ सय रुपैयाँ कम शुल्कमा पिसिआर परीक्षण गर्ने भएकौ हो । सरकारले निजी अस्पतालले पिसिआर परिक्षण गरेबापत २ हजार शुल्क लिन पाउने व्यवस्था गरेको छ ।

प्रदेश एकमा निजीस्तरबाट सञ्चालित अस्पतालमा पिसिआर परीक्षण अनुमति पाउने पहिलो अस्पताल बनेको छ नोबेल । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. सुनिल शर्माले प्रदेशका ल्याबहरुमा स्वाबको चाप बढेर परीक्षणको रिपोर्ट आउँन ढिलाइ भइरहेका बेलामा सर्वसुलभ शुल्कमा पिसिआर परीक्षण सुरु गरेको बताए । उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट परीक्षणको अनुमति पाएसँगै सोमबारबाट परीक्षण थालिएको बताए ।

नोबेलले एक महिनाअघि नै पीसीआर ल्याब तयार गरेर परीक्षणको सम्पूर्ण तयारी पुरा गरेको थियो । तर, सरकारबाट एक महिनापछि मात्रै परीक्षण अनुमति मिलेको नोबेलले जनाएको छ । ‘अस्पतालले पिसिआर मेसिन ल्याएर ल्याब बनाई परीक्षणका लागि एक महिनाअघि नै सम्पूर्ण तयारी पुरा गरेको थियो’, सञ्चालक शर्माले भने, ‘सरकारी अनुमति कुरेका एक महिना बस्नु पर्यो । अब अनुमति पाएकाले सोमबारदेखि अस्पतालमा परीक्षणको काम शुरु भएको छ ।’

कोरोना परीक्षणका लागि नोबेलले दुई वटा अत्याधुनिक अमेरिकन पिसिआर मेसिन ल्याएको जनाएको छ । उसले सुरक्षित तवरले परीक्षणका लागि नोबेलले बेग्लै ल्याब निर्माण गरेर पीसीआर परीक्षण थालेको बताएको छ ।

नोबेलमा दुई वटा पिसिआर मेसिन भएकाले एक दिनमा दुई हजार स्वाब परीक्षण गर्न सकिने नोबेलका वरिष्ठ ल्याब अधिकृत गणेशकुमार सिंहले बताए । सिंहका अनुसार ४ देखि ६ घण्टा भित्रै रिपोर्ट प्राप्त हुनेछ । काठमाडौं मेडिकल कलेजको अध्यक्ष समेत रहेका  डा. शर्माले केएमसीमा १ हजार ९ सय ९९ शुल्कमा पीसीआर परीक्षण हुदै आएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.