कीर्तिमानी पर्वातारोही आङरिता ‘हिम चितुवा’ को निधन

काठमाडौं, ५ असोज : विख्यात हिमआरोही आङरिता शेर्पाको निधन भएको छ ।

‘हिउँ चितुवा’ उपनामले चर्चित आङरिताको ७२ वर्षको उमेरमा सोमबार बिहान १० बजे जोरपाटीस्थित निवासमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी लिबर र ब्रेन सम्बन्धी समस्याबाट पीडित थिए ।

आङरिता शेर्पा नेपालका विख्यात पर्वतारोही हुन् । उनको जन्म सोलुखुम्बुको थामेमा भएको थियो । उनले सन् १९८३ देखि सगरमाथा आरोहण सुरु गरेका थिए उनले बिनाअक्सिजन १० पटकसम्म सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए । यही कारण उनलाई ‘हिउँ चितुवा’ उपनाम दिइएको थियो ।  पर्वतारोही शेर्पा लामो समयदेखि बिरामी थिए । उनी तीन वर्षअघिदेखि बिरामी परेर थलिएका थिए ।

कीर्तिमानी १० पटक अक्सिजनबिनै सगरमाथा आरोहण गर्ने शेर्पालाई तत्कालीन राजा वीरेन्द्र र त्यस बेलाको सरकारले थप स्वास्थ्य खराब हुने भन्दै पर्वतारोहणमा नजान सुझाव दिएपछि विश्राम लिएका थिए ।

आरोही आङरिताको आरोहण यात्रा …

सन् १९४८ मा सोलुकै थामेमा जन्मेका आङरिताको पुर्ख्यौली पेशा चौरी पालन भएपनि उनी भने १५ वर्षकै उमेरबाट आरोहणमा लागेका थिए ।

पहिलो पटक करिब २० वर्षको उमेरमा चोयु हिमालको आरोहण गरेका शेर्पाले बिना अक्सिजन पहिलो पटक १९८३ मा सगरमाथा चुचुरोमा पाइला टेकेका थिए ।

आरोहणको क्रममै रहेका आङरिता बिरामी भएपछि आरोहण यात्रा रोकिएको थियो । सगरमाथा आरोहणमा नजानुको मुख्य कारण उनी बिरामी भएको बेला तत्कालीन राजा वीरेन्द्रले छोरा दीपेन्द्रलाई घरैमा भेट्न पठाएका थिए । गोपीकृष्णस्थित भाडाको कोठामा बसेका शेर्पालाई भेट्न आएका दीपेन्द्रले ‘बुबा (वीरेन्द्र) ले आरोहणबाट सन्यास लिन हुकुम भएको छ’ भने पछि उनी आरोहणमा नगएको परिवारको भनाइ छ ।

त्यसबेला वीरेन्द्रले चाहना र आवश्यकता के छ भनेर सोधेको भएपनि आफुले केही पनि चाहना व्यक्त नगरेको आङरिताले पत्रकारको भेटमा भन्ने गरेका थिए।  सन् १९९६ तीर दीपेन्द्रले दरबार आउनू भनेको भएपनि दरबार नगएको बताउने शेर्पा नेपाल सरकारबाट त्यसबेला त्रिशक्तिपट्ट, गोरखा दक्षिणबाहु जस्ता  तक्माबाट भने सम्मानित भएका थिए ।​

१० पटकको विश्व कीर्तिमानलाई भने अहिलेसम्म कुनै आरोहीले तोड्न सकेका छैनन् । नेपालको विश्वभरि फैलाउन सफल आङरिता शेर्पालाई भारत सरकारले उतै बस्न व्यवस्था मिलाई दिने प्रस्ताव राखेको भए पनि नगएको बताउने शेर्पालाई नेपाल सरकारबाट भने खासै सहयोग प्राप्त नभएको उनका छोरी डोमा शेर्पाले बताइन् ।

उनको आर्थिक अवस्था दयनीय भएको भन्दै पर्वतारोहण संघले नियमित सहयोग गर्दै आएको छ । छोरीका अनुसार पर्वतारोहण संघले मासिक १५ हजार दिँदै आएको छ । आङरिताका तीन छोरा र एक छोरी छन् । जेठा छोरा कर्साङ हिमाल आरोहण पेशामै थिए । छेवाङ दोर्जे भने अमेरिकामा छन् ।  कान्छा छोरा फुरानुरु खुम्बुमै चौरी पालन गर्छन् । छोरी डोमा जोरपाटीमा छिन् आङरिता उनै छोरीसँग बस्दै आएका थिए । उनकी श्रीमतीको सात वर्ष बर्ष अघि निधन भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.