चोभारस्थित सुख्खा बन्दरगाह निर्माण ठप्प

काठमाडौं, २७ भदौ : कोभिड १९ को प्रत्यक्ष प्रभाव चोभारस्थित सुख्खा बन्दरगाह निर्माणमा पनि परेको छ । कोरोना महामारी, लकडाउन र विभिन्न समयको निषेधाज्ञाले चोभारस्थित निर्माणाधीन सुख्खा बन्दरगाहको काम ठप्प भएको हो ।

निर्धारित समयमा ७ महिनाको म्याद थप गर्दा पनि बन्दरगाह निर्माण कार्य सम्पन्न हुन सकेको छैन । म्याद थप गरी पछिल्लो समय यही सेप्टेम्बरमा निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने थियो । हालसम्म ४५ प्रतिशत मात्रै काम सम्पन्न भएको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । हालसम्म कुल अनुमानित लागतको करिब ३५ प्रतिशत रकम खर्च भएको छ ।

गत फेब्रुअरीमा सरकारले ७ महिनाको म्याद थप गरेको थियो । २०१८ सेप्टेम्बर १८ तारिखमा निर्माणका लागि ठेक्का लागेको उक्त बन्दरगाह निर्माण कार्य गत फेबु्रअरीको पहिलो साताभित्र सम्पन्न गर्नुपर्ने थियो । निर्माणको जिम्मा नेपालको आशिष निर्माण सेवा र चीनको सैङछीले संयुक्त रूपमा लिएको थियो ।

‘तर, म्याद थप भएको दुई महिनापछि कोभिडको संक्रमण र त्यसपछि साढे तीन महिनाको लकडाउन र निषेधाज्ञाले निर्माण कार्य बिचमै रोकिएको हो’, नेपाल इन्टरमोडल यातायात विकास समितिका निर्देशक युवक डंगोलले भने, ‘यसले निर्माण सम्पन्न हुने अवधि थप ६ महिना लम्बिएको छ ।’

डंगोलकाअनुसार कोभिडका कारण प्रत्यक्ष असर पुगेको आयोजनाको हकमा सरकारले ६ महिनाको म्याद थप्ने निर्णय गरेको छ । कोभिडका कारण यो बन्दरगाहमा पनि प्रत्यक्ष असर पुगेकाले थप ६ महिनाको म्याद थप गर्ने समितिले आन्तरिक तयारी गरिरहेको डंगोलले जानकारी दिए ।

यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा राजेश बर्माले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.