मानवसेवा आश्रमसंग मेरो सम्बन्ध: एक अनुभुती

डा मान वहादुर वीके । काठमाडौं, १५ भदौ : मानव सेवा आश्रमसंग मेरो सम्बन्ध यसको सुरवात देखि नै हो । म चितवनमा प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत रहँदा दुइ वटा कुराले आश्रमसंग नजिकायो । एयरपोर्ट नजिकको चौतारीमा दुई बच्चाहरु सहित एक दम्पती वेवारिसे अवस्थामा बस्ने गर्दा रहेछन । प्रत्येक दिन विशेष गरी बच्चाहरुको अवस्था देख्दा मनमा सारै खिन्नता जाग्थ्यो । वाल संरक्षणका क्षेत्रमा कार्य गर्ने मिना खरेल लगायतका अभियन्ताहरुसंग छलफल गरी बच्चाहरुलाई उद्धार गरी आदर्श गृहमा राख्ने व्यवस्था गरियो । तर वेसहारा दम्पतीलाई राख्ने कुनै त्यस्तो ठाउँ थिएन । त्यसै वेला यसरी वेसहारा भै सडकमा कष्टकर जीवन विताउनेहरुका लागि एक आश्रय स्थल आवश्यक भएको गहिरो महसुस भयो ।

त्यस्तै मेरो निवास अगाडी सडकमा दुवै खुट्टामा घाउ भएको एक युवा घस्रेर हिडेको देखियो, त्यसले झनै स्तब्ध वनायो । र त्यस्तो आश्रमको आवश्यकता झनै महसुस गरायो । संजोग नै भनु त्यति वेला “सर्वोत्कृष्ट जीवन; शास्वत चिन्तन” कि अभियन्ता रुपा जी चितवनमा मानवसेवा आश्रम सथापना गर्न पहल गर्दैै हुनु हुदो रहेछ । भावानात्मक तरंगको मेल, वहाँसंग भेट भयो र भरतपुर (तत्कालिन) उपमहानगरपलिकाको सहयोग तथा विभिन्न शुभेच्छुकहरुको सद्भावले आश्रम शुरु भयो । त्यो भन्दा अगाडी नै “सर्वोत्कृष्ट जीवन; शास्वत चिन्तन” का चिन्तक प्र.डा.गोविन्द टण्डनका अभिप्रेरणाले रामजी अधिकारीको नेतृत्वमा हेटौडामा मानवसेवा आश्रम शरुवात भैसकेको रहेछ । पछि त मानवसेवा प्रवद्र्धनका विभिन्न कार्यक्रममा डा टण्डन र रामजी जी संग साक्षात्कार हुने मौका मिल्यो ।

भावनात्मक तरंगले डो¥याए जस्तै भयो, केही समय पश्चात फेरी मकवानपुर नै सरुवा भै नजिकबाट मानवसेवा आश्रमका सेवाहरु नियाल्ने मात्र हैन कतिपय कार्यक्रममा संलग्न हुने मौका नै पाईयो । त्यहाँ आश्रममा रहेकी वालीका खुसीकोे पहिलो वार्षिक उत्सवमा सरिक भएको र त्यहा बन्दै गरेको आश्रमको भवन निर्माण अवलोकन गरेको कुरा अविस्मरणीय भएर बसेको छ । त्यस पछि त मानवसेवा आश्रम र यसका अभियान भावनात्मक रुपमा जीवनका हिस्साको रुपमै स्थापित भयो । २०७२, २०७४ र २०७५ सालको मैले दिगम्वत आमा वुवाको नाममा स्थापित “भीभ माया प्रोत्साहन पुरस्कार” मानवसेवा आश्रमलाई सर्मपण गर्न पाउँदा आत्म सन्तुष्टीले हिमाल छोयो ।

समयको गति संगै अभियान्ताहरुको उत्कर्ष मेहनतले आश्रम नेपालका विभिन्न स्थानमा विस्तार भै रहेका थिए । त्यो बीचमा आफू अमेरिका रहदा पनि अभियन्ताहरुको क्रियाशीलता सामाजिक संजाल मार्फत जानकारी भैै नै रहन्थ्यो । खुसी लाग्थ्यो तर आफू संलग्न हुन नपाउदा खिन्न पनि लाग्थ्यो । तर त्यस्तो इश्वरीय शक्ति आफूमा कहाँ थियो र !
भावनाको तरंगले फेरी तान्यो फर्किए पछि प्रदेश नं ५ मा सेवा गर्नु पर्ने भयो । वुटवल आएको दोस्रो दिन नै रामजी गुरुलाई सम्पर्क गरेर वुुटवलमा आश्रम स्थापना गर्ने कुरा गरियो । नभन्दै उहाँहरुले पनि त्यो सोच बनाई सक्नु भएको रहेछ । त्यस पछि त के चाहियो र भावना नै ठूलो शक्ति रहेछ । भीम माया प्रोत्साहन पुरस्कार, २०७४ को समर्पण नै वुटवलमा आश्रम स्थापना गर्ने हेतू एक कार्यक्रमको आयोजना गरी वुटवल उपमहानगरपलिका लगायतका सरोकारवालाहरुसंग छलफल अघि बढ्ईयो, सेवा गर्र्ने स्वयंसेवकहरु पनि तम्तयार भई हाले ।

लेखक डा मानबाहादुर वीके ।

अभियन्ता रामजी गुरु र रुपाजी को सम्पर्क आउने जो कोही युवा पनि सेवाको लागि तयार भैहाल्दछन्, त्यस्तो उत्प्रेरणा जगाउन सक्ने खुवी छ उहाँहरुमा । उपमहानगरपलिकासंगको सहकार्यमा सेवा शुरु गर्ने त भनियो तर भने जस्तो भएन । जहाँ जग्गा तय गरिएको थियो, त्यहाँ वरिपरिका वासिन्दाहरुले स्वीकारेनन् । तथापी अभियान रोकिने कुरा भएन; केही महिना पछि अन्यत्रै भाडाको घरबाट आश्रमको सेवा शुरु भयो । यो हुदा आफूले त्यति ठूलो केही गर्न त सकिएन तर मनमा एउटा ठुलै युद्ध जिते जस्तो लाग्यो । वुवा आमाको नामको पुरस्कार सार्थक भएको महसुुुस भयो ।

जागिरे जीवन त्यस्तै हो, अझै त्यो समय त्यस्तै थियो, कुन वेला कहाँ सरुवा हुन्छ ठेगान हुदैनथ्यो; संघीयता कार्यान्वयको सुरुवाती दिन । कर्णाली प्रदेशमा सरुवा भयो । सरुवाको जानकारी पाउँदा मेरो मनमा सवै भन्दा पहिले अव कर्णाली (सुर्खेत) मा पनि मानवसेवा आश्रम विस्तार गरिने भयो भन्ने सोच आयो । त्यति वेला सम्म अभियन्ताहरुले विरगन्ज, पोखरा लगायतका विभिन्न ठाउमा आश्रम विस्तार गर्नुका साथै २०८२ सम्ममा नेपाललाई सहयोगापेक्षी सडक मानव रहित घोषणा गर्ने अभियान अगाडी बढाउनु भएको थियो । मलाई पनि लाग्यो त्यो अभियान त म भित्र पनि अन्तष्करण भैसकेको रहेछ ।

आश्रममा रहेकी छोरी खुसीको पहिलो जन्मदिनमा ।

कर्णाली प्रदेशमा पुगेपछि अभियन्ता रामजी गुरु र रुपाजी लाई सम्पर्क गरे । उहाँहरुले नस्वीकार्ने कुरै भएन । फेरी प्रदेश सरकारका तत्कनलिन प्रमुख सचिव राम प्रसाद थपलिया आश्रम स्थापना कालमा मकवानपुरमा प्रमुख जिल्ला अधिकारी रहनु भएकाले आश्रम र अभियान बारे परिचित नै हुनु हुन्थ्यो । अनि त तुरुन्तै अभियन्ता बोलाएर एउटा छलफल चलाइयो । उहाँहरुको प्रवचन र गरेको कार्यको प्रस्तुतीले उपस्थित सबैलाई भावुक बनाउनुका साथै उत्प्रेरित ग¥यो ।

पहिलो कार्यक्रममै सहयोग राशीको घोषणाकै प्रतिस्पर्धा जस्तै भयो । अभियन्ताहरुलाई यति भए के चाहियो र; त्यस माथि विरेन्द्रनगर नगरपालिका र सामाजिक विकास मन्त्रालय कै प्रतिवद्धता । करिब एक महिना भित्रै भाडाको घरमा आश्रमको सुरुवात भयो । प्रदेश सरकारका मा.मुख्यमन्त्री महेन्द्र बहादुर शाहीबाट उद्घाटन भएको त्यो समारोहमा तेस्रो पटक मेरो वुवा आमाको स्मृतिमा स्थापित भीम माया प्रोत्साहन पुरस्कार, २०७५ समर्पण गर्ने मौका पाईयो ।

त्यती मात्र हैन कर्णाली प्रदेशलाई नै मिति २०७६ माघ ४ गते प्रदेश सरकारद्वारा पहिलो सहयोगापेक्षी मानव रहित प्रदेश घोषणा समेत भयो । सृजना जीको कुशल नेतृत्वमा संचालित सुर्खेतका आश्रममा अहिले त साठी जना सहयोगापेक्षी व्यक्तिहरुले आश्रय लिई रहेका छन् । त्यहाँ समय समयमा विभिन्न कार्यक्रम गरी मानव सेवाको भावना पवद्र्धन गर्ने कार्य पनि भैरहेका छन् ।

संजोगको कुरा अहिले म बढुवा भई बागमती प्रदेशको प्रमुख सचिव भई फेरी आश्रमको मुख्य कार्यालय रहेको मकवानपुर जिल्ला आउने मौका पाए र आश्रमको आठौ बार्षिक उत्सवमा सरिक हुने संयोग मिल्यो ।

मेरो संलग्नता मानवसेवा आश्रमको सुरुवाती चरणबाट नै हुन पुग्यो । यो दौरानमा मेरो अनूभूतीमा मानिसहरु विभिन्न हिंसाले गर्दा समाज, परिवार र आफैबाट विरक्तीएर परित्यक्त भई सडकमा आउने गरेका हुदाँ रहेछन् । र त्यस्ता व्यक्तिको लागि सबै भन्दा ठूलो उपचार माया र सम्मान नै हुदो रहेछ । यो कुराको पुष्टि आश्रममा आई त्यहाको व्यवहारबाट उनीहरुमा आएको अस्वभाविक परिवर्तन ले नै गरेको छ । अझ ठूलो कुरा त आश्रममा ल्याई उनीहरुलाई सेवामा समर्पित सेवक सेविका अभियन्ताहरुको सेवा नै हो ।

मानसिक रुपले विक्षिप्त र शारीरिक रुपले अशक्त यस्ता व्यक्तिको स्याहार सुसार गर्न कम चुनौतीपूर्ण छैन । तर त्यहाँ कार्यरत युवा सेवक सेविकाहरुले हासी हासी प्रत्येक दिन गरेको सेवा देख्दा उनीहरुको व्यवहारमा रहको इश्वरीय शक्ति नै हो जस्तो लाग्दछ । जो कसैले यो गर्नै सक्दैनन् ; न त भावनामा वहकिएर मात्र यो संभव छ । त्यसको लागि त दरिलो आत्मिक शक्ति चाहिन्छ । यस्तो शक्ति जगेर्ना गर्न रामजी गुरु जस्ताको संगत चाहिन्छ, डा. टण्डन जस्ताको आत्मिक ज्ञान चाहिन्छ, तथा रुपाजी, सृजनाजी जस्ता अभियन्ताको समर्पण चाहिन्छ । यस्तो कार्य र अभियानको नजिकबाट अवलोकन गर्न पाउनुु र यदाकदा कार्यक्रममा सहभागी हुन पाउदा पनि सौभाग्यशाली भए जस्तो लाग्छ ।

सुर्खेतमा आश्रम उद्घाटनको अबसरमा २०७५ को भिम माया प्रोत्साहन पुरुष्कार समर्पण गर्दै ।

राज्यले गर्नु पर्ने कार्य यी अभियन्ताहरुले राष्ट्रिय अभियानका रुपमा उजागर गरेकोमा जति धन्यबाद दिए पनि कम हुछ । २०८२ मा नेपाललाई सहयोगापेक्षी सडक मानव रहित राष्ट्र बनाउने अभियान पूरा होस र कसैले पनि सुन्दर जीवन सडकमा गुजार्न नपरोस; शूभकामना ।
(लेखक बागमती प्रदेशका प्रमुख सचिव हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.
error: