प्रज्ञा–प्रतिष्ठानबाट ऐतिहासिक महत्वका ग्रन्थको पुनःप्रकाशन 

काठमाडौँ, १४ भदौ : नेपाल प्रज्ञा–प्रतिष्ठानले पूर्वप्रकाशित तर बजारमा उपलब्ध नरहेका करीब तीन दर्जन महत्वपूर्ण ग्रन्थको पुनः प्रकाशन शुरु गरेको छ ।

नेपाली वाङ्मयका विभिन्न विधाको खोज–अन्वेषण, गोष्ठी–सेमिनार तथा प्रकाशनलगायत कार्यमार्फत मुलुकको समग्र वाङ्मयको सर्वाङ्गीण विकासको जिम्मेवारी पाएको प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, दर्शन र सामाजिक शास्त्रसँग सम्बन्धित विभिन्न विशेष महत्त्वका ग्रन्थको पुनः प्रकाशन थालेको हो ।

प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले ‘नेपाल निरूपण’, ‘नेपाल माहात्म्य’, ‘नेपालमा बौद्ध धर्म’, ‘नेपाली निघण्टु, भरतमुनिको नाट्यशास्त्र’, ‘अमरकोश’, ‘विश्वसाहित्यको रूपरेखा’, ‘आइए रिचर्ड्सको साहित्यिक सिद्धान्त’, ‘एरिस्टोटल र उनको काव्यशास्त्र’, ‘कौटलीय अर्थशास्त्र’, ‘जर्ज लुकासको साहित्य सिद्धान्त’, ‘नेपाली साहित्यको इतिहास’, ‘नेपाली साहित्यकोश’, ‘पाश्चात्य काव्यसिद्धान्त’, ‘पूर्वीय काव्यसिद्धान्त’, ‘वाल्मीकि रामायण’लगायत उपयोगी र ऐतिहासिक महत्वका पुराना ग्रन्थ (पुस्तक)को मुद्रण भइरहेको जानकारी दिनुभयो ।

उहाँले विगतमा विद्तवृत्ति र शोधवृत्तिअन्तर्गत लेखाइएका कतिपय महत्वपूर्ण पुस्तक आफूखुशी निजी प्रकाशनगृहबाट छाप्ने कार्यसमेत देखिएकाले त्यसलाई नियन्त्रण गरी प्रतिष्ठानले नै पुनः प्रकाशानारम्भ गर्न थालेको जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.