एसईई परीक्षा जेठ अन्तिममा गर्न सुझाव

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष तथा परीक्षा सम्बन्धी सुझाव समितिका संयोजक डा चन्द्रमणि पौडेलबाट सुझावपत्र ।

काठमाडौँ, १८ वैशाख: राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ अन्तिम साता गर्न सिफारिस गरेको छ ।

कार्यदलले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई बुझाएको प्रतिवेदनमा २५ वैशाखपछि लकडाउनको मोडल फरक भए सामाजिक दूरी कायम गर्दै भिडभाड नहुने गरी जेठ अन्तिम साताबाट एसईई परीक्षा गर्न सकिने उल्लेख छ ।

साथै एसईई र कक्षा १२ को परीक्षा एउटै समय (दुई सिफ्ट)मा गर्न पनि सिफारिस गरेको छ ।

अब परीक्षा गर्दा परीक्षार्थीहरु घरको खाना खाएर परीक्षा केन्द्रमा पुग्न सक्ने गरी उपकेन्द्रहरु थप गर्ने र सुरक्षाका उपाय अपनाउनुपर्ने कार्यदलको सिफारिस छ ।

एसईई परीक्षामा कूल ४ लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी छन् । चैत ६ मा परीक्षा लिने गरी १ हजार ९९५ परीक्षा केन्द्र तोकिएको थियो । तर कोरोना भाइरसका कारण चैत ५ गते बेलुकी मात्र एसईई परीक्षा स्थगित गर्ने निर्णय सरकारले गरेको थियो ।

‘केन्द्राध्यक्ष र निरीक्षक त्यही विद्यालयको नहुने हुँदा समस्या हुँदैन’ मन्त्रालयका एक अधिकारीले भने ।

साथै परीक्षाको नतिजा ६९ दिनको साटो ४५ दिनभित्र प्रकाशित गर्न सकिने कार्यदलको निश्कर्ष छ ।

यसैगरी कक्षा १ देखि ९ सम्मको बार्षिक परीक्षाको नतिजा भने वैशाख २५ गतेभित्र प्रकाशित हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.