नासाले मानवसहितको यान अन्तरिक्षमा पठाउँदै

वासिङ्टन, ६ वैशाख: करिब दश वर्षपछि अमेरिकी अन्तरिक्ष सम्बन्धी निकाय नासाले अन्तरिक्षमा मानवसहितको यान पठाउने घोषणा गरेको छ । यानमा दुईजना अन्तरिक्षयात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस)तर्फ जानेछन् । रकेट र अन्तरिक्ष यान फ्लोरिडाको केनेडी स्पेश सेन्टरबाट २७ मे का दिन उडाउने योजना नासाले शुक्रबार सार्वजनिक गरेको हो ।

“एक पटक फेरी अमेरिकी अन्तरिक्ष यानलाई अमेरिकी भूमिबाट आगामी मे २७ मा पठाइने भएको छ,” नासाका प्रमुख जिम ब्राइडेस्टाइनले ट्वीटमार्फत् पुष्टि गर्नुभयो ।

नासाले उसको अन्तरिक्ष शटलले सन् २०११ मा काम गर्न बन्द गरेयता मानवसहित अन्तरिक्ष यात्राका लागि रुसी रकेटहरूको प्रयोग गर्दै आएको छ ।

रकेट र अन्तरिक्ष यान दुवै एउटा निजी कम्पनी ’स्पेस एक्स’ले निर्माण गरेको बताइएको छ । अन्तरिक्ष यात्रीहरू बब बेहन्कन र डग हर्लीलाई आइएसएस पुग्न करिब २४ घण्टा लाग्ने बताइएको छ ।

यदि सफल भएमा अर्बपति व्यवसायी एलन मस्कको कम्पनी स्पेश एक्स, नासाका अन्तरिक्ष यात्रीलाई अन्तरिक्षमा पु¥याउने पहिलो निजी कम्पनी हुनेछ ।

’द फाल्कन नाइन रकेट’ र ’क्रु ड्र्यागन’ अन्तरिक्ष यानले अन्तरिक्ष केन्द्रको अपोलो र शटल मिसनहरूका लागि प्रयोग भएको ऐतिहासिक प्याड ३९ ए बाट उडान गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.