विद्युत्गृह बगाएपछि एक्सरे सेवा बन्द   

जाजरकोट, १४ मङ्सिर : गत वर्षायाममा आएको काँशिलखोलाको बाढीले विद्युत्गृह बगाएपछि अवरुद्ध भएको फेम्ली अस्पतालको भिडियो एक्सरे सेवा अझै सञ्चालन हुनसकेको छैन ।

जिल्लाको मुड्केचुला गाउँपालिका–२ कालिका डोल्पास्थित फेम्ली अस्पतालमा एक्सरे सञ्चालनका लागि आवश्यक विद्युत् नहुँदा बन्द भएको हो । विसं २०६६ मा स्थापना भएको अस्पतालमा इटालियन संस्थाले औषधिदेखि अन्य सेवा निःशुल्क दिने गरेको छ । विद्युत् अभावमा एक्सरे मेसिन सञ्चालन नहुँदा स्थानीयवासी महङ्गो शुल्क तिरेर जिल्ला बाहिर जान बाध्य भएको ल्याव टेक्सिसियन नेत्रबहादुर शाहीले बताउनुभयो । इल, रिजिङ सर्मी, ओक्ट, होर्त, सुर, नर्कु र लहँका स्थानीयवासीले उक्त ठाउँबाट सेवा लिँदै आएका छन् ।

चिसो बढेकाले निमोनिया, रुघाखोकी अन्य रोगका बिरामी अस्पताल उपचारका लागि आउने भए पनि एक्सरे सेवाबाट भने बञ्चित हुनुपरेको छ । त्यस्तै प्रयोगशालाको काम प्रभावित हुँदै आएको छ । घाम राम्रो नलाग्दा काम गर्न समस्या भएको डा कृष्ण अधिकारीले जानकारी दिनुभयो । २४ घण्टा सञ्चालन हुने यो अस्पताल आजभोलि चिसोका कारण १० देखि ४ बजेसम्म मात्र सञ्चालन हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.