फाल्गुनन्दको १३८औँ जन्मजयन्ती मनाइँदै, राष्ट्रपतिद्वारा शुभकामना सन्देश

काठमाडौं, २५ कात्तिक : किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३८औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गरेका थिए । जसलाई सत्य धर्म मुचुल्का भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो ।

किराँत समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान गरेका फाल्गुनन्दको निधन २००५ सालमा भएको हो । किराँत समाज सुधारमा उनले पुर्याएको योगदानको कदर गर्दै उनलाई २०६६ मंसिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

उनको योगदानको कदर गर्दै किराँती समुदायको बसोबास रहेको पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायत किराँत समुदायको बसोबास भएका जिल्लामा फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ । राजधानीमा पनि विभिन्न कार्यक्रम गरी किराँत समुदायले महागुरु फाल्गुनन्द जयन्ती मनाउने गरेको किराँत ज्योतिष सङ्घका अध्यक्ष चन्द्रकुमार शेर्माले जानकारी दिए ।

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले महागुरु फाल्गुनन्द लिङ्देनको १३८औँ जयन्तीको अवसरमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले फाल्गुनन्द जयन्तीका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा सबैमा सहिष्णुता, सद्भाव, अहिंसा एवं समाज सुधारको महान् अभियानमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरेकी छन् ।

“महागुरु फाल्गुनन्दले धार्मिक गुरु मात्र नभई एक सामाजिक अभियन्ताको रूपमा समाजमा विद्यमान अनेक विकृति र विसङ्गतिलाई हटाउनसमेत महत्वपूर्ण भूमिका खेल्नुभएको थियो”, सन्देशमा भनिएको छ, “उहाँले देखाएको बाटोमा हिँड्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास मैले लिएको छु ।”

सामाजिक रूढीवादको अन्त्य गर्दै समाजलाई सही बाटो देखाउँदै आर्थिक अनुशासन कायम गर्न उनले दिएको मार्गनिर्देशन अनुसरणीय रहेको र उनले अपनाएको दर्शन प्रेम र अहिंसामा आधारित रहेको हुँदा प्रेरणादायी उपदेश र मार्गदर्शनले समाजलाई सही बाटो दिनेछ भन्ने उनले विश्वास लिएको सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.