आज महानवमी पर्व, सिद्धिदात्रीको पूजा आराधना गरिदै
काठमाडौं, १८ असोज : आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदैछ ।महानवमीमा भगवती दुर्गाको नवौँ रूप सिद्धिदात्रीको पूजाआराधना गरिन्छ । यिनको उपासनाले भक्तजनले सिद्धि प्राप्त गर्छन् ।
चार भुजामा चक्र, गदा, शंख र कमल पुष्प लिएकी, कमलकै आसनमा बसेकी सिद्धिदात्रीको स्वरूप छ । यिनको आराधनाले मनोरथ पूर्ण हुने विश्वास गरिन्छ ।
अघिल्लो रात गरिएको कालरात्रिको पूर्णताका लागि महानवमीमा हवन गर्ने विधान छ । यो दिन खिर, तिल र घिउ मिश्रित चरु देवीलाई हवन गरिन्छ ।
नवमीमा पनि शक्तिपीठ तथा दशैँघरमा पशुबलि दिने परम्परा छ । पशुबलि नदिने वा शाकाहारीले भने कुभिण्डो, घिरौँला र नरिवल चढाउँछन् ।
अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ ।
मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ ।
कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि दिने गरिन्छ ।
दशैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलिसहित विशेष पूजा तथा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।
महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन रहेको छ ।