आज बडादसैँको तेस्रो दिन, चन्द्रघण्टा भगवतीको पूजा गरिँदै

काठमाडौं, १२ असोज : दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिंदै छ ।

घटस्थापना गरेसँगै देवीका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा अनुुसार आज चन्द्रघण्टाको पूजा गर्न लागिएको हो ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ ।

चन्द्रघण्टाको पूजा आराधनाले साधकमा वीरता र निर्भयताको साथमा सौम्यता र विनम्रताको विकास हुने धार्मिक विश्वास छ ।

चन्द्रघण्टालाई पार्वतीको सौन्दर्य अवतार मानिन्छ । चन्द्रघण्टा देवीको शीरमा अर्धचन्द्रको आभूषण हुने र यो मुकुट घण्ट जस्तो देखिने हुँदा यी देवीलाई चन्द्रघण्टा भनिएको धर्मशास्त्रहरुमा उल्लेख छ । उनी क्रोध तथा हिंसा जस्ता अमानवीय तथा आसुरी प्रवृत्ति नास गर्न र सज्जनको रक्षा गर्न अवतरण गरेको श्रीमददेवीभागवत लगायतका ग्रन्थमा उल्लेख छ ।

चन्द्रघण्टाको आराधना गर्नाले सबैप्रकारको दुःख, कष्ट नाशहुने र सबैप्रकारको बाधा हट्ने जनविश्वास छ । चन्द्रघण्टालाई विशेषगरी दूधको परिकार प्रिय छ । देवी मन्दिरहरूमा चन्द्रघण्टा स्वरूपा नवदुर्गा भवानीको पूजा गर्ने परम्परा छ । आज पनि काठमाडौैं उपत्यकाका देवी मन्दिरहरूमा बिहानैबाट भक्तजनको घुइँचो लागेको छ ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।
संसारका मुमुक्षु प्राणीलाई सच्चिदानन्द स्वरूप ब्रह्मको बोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा नवदुर्गामध्येको तेस्रो देवीलाई चन्द्रघण्टा भगवती भनिएको हो ।

यसैबीच दशैंको तेस्रो दिन आज पनि देवी मन्दिरहरुमा पूजा गर्नेहरुको भीड लागेको छ । राजधानीभित्र गुह्येश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली, इन्द्रायणीसहितका मन्दिरहरुमा दर्शनार्थीहरूको पूजा गर्नेहरुको चहलपहल छ ।

उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथिभरा, गोरखाको मनकामना लगायतका शक्तिपीठहरुमा पनि भक्तजनहरुको घुइँचो छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.