४० अर्ब लागतमा त्रिभुवन विमानस्थलको नयाँ टर्मिनल भवन बन्ने
काठमाडौं, १८ असार : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४० अर्ब रुपियाँको लागतमा नयाँ टर्मिनल भवन निर्माण हुने भएको छ ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार करिब ४० अर्ब रूपैयाँ लगानीमा यहाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन बन्न लागेको हो । यसका लागि फ्रेन्च कम्पनी एडिपिआइले सन् २०१६ मै टर्मिनलको डिजाइन तयार पारेर बुझाएको थियो ।
विभिन्न कारणले निर्माण रोकिएको अन्तर्राष्ट्रिय टर्मिनल भवनको काम आगामी आर्थिक वर्षबाट सुरू हुने जानकारी दिएको हो । प्राधिकरणका अनुसार यो भवन पाँच वर्षमा बनाइसक्ने योजना छ ।
नयाँ भवन बनेसँगै हाल प्रयोगमा रहेको अन्तर्राष्ट्रिय टर्मिनल भवन आन्तरिक पर्यटकका लागि प्रयोगमा ल्याइने हवाइ यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक इञ्जिनियर दीपेन्द्र श्रेष्ठले बताए ।
प्राधिकरणले तयार पारेको गुरुयोजना अनुसार हाल निगम र सेनाको जहाजहरू राख्ने ह्यांगर भएको क्षेत्रलाई खाली गरिनेछ । यही ठाउँमा नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन बनाइनेछ ।
‘विमानस्थलको पूर्वपट्टि हेलिकप्टर पार्किङका लागि हाल प्रयोग भइरहेको जग्गामा सेना र निगमको ह्यांगर स्थानान्तरण गर्न लागेका छौं,’ उनले भने ।
हाल सञ्चालित अन्तर्राष्ट्रिय टर्मिनल भवनको यात्रु क्षमता वार्षिक ३० लाख हो । तर कोरोना महामारी अघिसम्म वार्षिक ४३ लाख बढी यात्रुले सो टर्मिनलको प्रयोग गर्थे । अब बन्ने टर्मिनलको क्षमता अहिलेको भन्दा तीन गुणा बढी हुने श्रेष्ठले जानकारी दिए।
२००६ सालमा पहिलो पटक विमान अवतरण भएको यस विमानस्थल प्रयोग गर्ने हवाई यात्रु र विदेशी जहाज सङ्ख्यासमेत बर्सेनि थपिँदै गएपछि आगामी आर्थिक वर्ष २०७९/८० बाट नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माणको तयारी गरिने भएको छ ।
विमानस्थल पूर्वाधार विस्तार गुरुयोजना (सन् २०१०–२०२८) अन्तर्गत विमानस्थलको क्षमता अभिवृद्वि गर्न नेपाल सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणको संयुक्त लगानीमा निर्माण गरिने नयाँ टर्मिनल भवन निर्माण कार्य सुरु भएको पाँच वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
‘अब बन्ने अन्तर्राष्ट्रिय टर्मिनलको यात्रु क्षमता एक करोडको हुनेछ,’ उनले सेतोपाटीसँग भने, ‘हालको अन्तर्राष्ट्रिय टर्मिनललाई आन्तरिक बनाउँदा यात्रुको संख्या र क्षमताअनुसार ठिक्क हुन्छ ।’
अहिले आन्तरिक टर्मिनलबाट पनि वार्षिक ३० लाखभन्दा बढी यात्रु आवतजावत गरिरहेकाले हालको अन्तर्राष्ट्रिय टर्मिनललाई आन्तरिकमा रूपान्तरण गर्ने योजना बनाइएको हो ।
टर्मिनल भवनअगाडि अन्तर्राष्ट्रिय पार्किङ हुनेछ । पार्किङमा ठूला जहाज (वाइडबडी) मात्र राख्ने हो भने ६ वटा पार्किङ गर्न मिल्नेछ। त्यस्तै साना जहाज (न्यारोबडी) मात्र राख्ने हो भने १२ वटाको पार्किङ क्षमता हुनेछ ।
अन्तर्राष्ट्रिय हवाई सङ्गठन (आईसीएओ) को मापदण्डअनुसारका हवाई यातायात सुविधाको भौतिक सुधारअन्तर्गत निर्माण गरिने नयाँ टर्मिनल भवनले करिब एक लाख वर्गमिटर क्षेत्रफल ओगट्नेछ ।