माधव नेपाल र महन्थ ठाकुर नेतृत्वका पार्टीले पाए दलको मान्यता

काठमाडौं, ९ भदौ : निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले राजनीतिक दलको मान्यता  पाएका छन् ।

नेकपा (एमाले) को विभाजनले कानुनी मान्यता पाएको छ । माधव कुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) दर्ता भएसँगै एमाले विभाजने मान्यता पाएको हो ।

आयोगका अनुसार दल दर्ताका लागि एमालेका ५५ केन्द्रीय सदस्य र ३० सांसदले सनाखत गरेका छन् ।

एमालेका ५४ केन्द्रीय सदस्य र २९ सांसदले आज निर्वाचन आयोगमा नै पुगेर सनाखत गरेका हुन् । पार्टीका वरिष्ठ नेता झलनाथ खनालले भने दिल्ली दूतावासमार्फत् सनाखत पठाएका हुन् । आयोगले मंगलबार सनाखतका लागि स्वयम् उपस्थित हुनुपर्ने भएकाले खनालको सनाखत नहुने निर्णय गरेको थियो । तर, आज भने दूतावासबाट नै आएपछि उनको सनाखतलाई पनि मान्यता दिइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

खनालको सनाखत भएसँगै ५५ केन्द्रीय सदस्य र ३० सांसद्को हस्ताक्षर भएको छ ।

आयोगले सनाखतका लागि आएका सांसदहरू सोमप्रसाद पाण्डे, माया ज्ञवाली, तुलसा थापा र मायादेवी भट्टको सनाखत गर्न भने अस्वीकार गरेको श्रेष्ठले जानकारी दिए । दल दर्ताको निवेदनभन्दा पछि निवेदन आएकाले उनीहरूको सनाखत हुन नसकेको आयोगले जनाएको छ ।

यसैबीच, लोकतान्त्रिक समाजवादी पार्टीले पनि दल दर्ताको प्रमाणपत्र पाएको छ ।

जनता समाजवादी पार्टी (जसपा) विभाजन गरी लोसपा दर्ताका लागि नेताहरुले दिएको निवेदनमा पनि निर्वाचन आयोगले बुधबार नै सांसद र केन्द्रीय सदस्यहरुलाई सनाखत गर्न बोलाएको थियो ।   नयाँ दल दर्ताका लागि जसपाका ५१ सदस्यीय कार्यकारिणी समितिका १७ जनाले सनाखत गरेका छन् । यो कुल सदस्य सङ्ख्याको ३३ प्रतिशत हो ।

राष्ट्रियसभाका तीन र प्रतिनिधिसभाका ३४ गरी ३७ सांसदमध्ये १५ जनाले सनाखत गरेका छन् । यो कुल सदस्य सङ्ख्या ४० प्रतिशत हुन आउछ । निर्वाचन आयोगले नयाँ गठन हुने लागेका दुवै दलका सांसद र केन्द्रीय सदस्यहरूलाई सनाखतका लागि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय दिएको थियो ।

निर्धारित समयमा दुवै दलका केन्द्रीय सदस्य र संघीय सांसदको सनाखत गरेका थिए । त्यसपछि बसेको आयोगका पदाधिकारी बैठकले एकीकृत समाजवादी र लोसपालाई दलको मान्यता दिने निर्णय गरेको हो ।

योसँगै नेपालमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलको संख्या ६ पुगेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरू प्रमाणपत्र बुझ्दै ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.