सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट, ५ लाख ४० हजारले सेयर पाए

काठमाडौं, ३० साउन : सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट भएको छ ।

कम्पनीले साउन २० गतेदेखि २४ गतेसम्म निष्कासनमा ल्याएको सेयर शनिबार बाँडफाँट गरेको हो ।

कम्पनीको आइपीओ मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ताको दरले सेयर वितरण भएको हो । जसअनुसार ५ लाख ४० हजार जनाले मात्र गोलाप्रथामार्फत् १० कित्ताको दरले सेयर पाएका छन् भने साढे १७ लाख  ६८ हजार १२२ जनाको हात खाली भएको छ ।

साउन २० गतेदेखि सानिमा लाइफ इन्स्योरेन्सले प्रतिकित्ता अंकित मूल्य १०० रूपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आइपिओ विक्री खुला गरेको थियो ।

सानिमाको आइपिओमा २४ लाख १९ हजार ८४८ जनाको आवेदन परेको थियो। त्यसमध्ये २३ लाख ८ हजार १२२ योग्य आवेदन परेको थियो भने एक लाख ११ हजार ७२६ जनाको आवेदन रद्द भएका छन् ।

२०७४ मंसिरबाट यो कम्पनीले कारोबार सुरू गर्दै आएको छ । चैत मसान्तसम्म कम्पनीले ९ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । सो अवधिसम्म खुद १ अर्ब ४४ करोड बीमा शुल्क आर्जन गरेको छ ।

आब ०७७/७८ सम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ११६ रूपैयाँ ७४ पैसा  र प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७३ पैसा अनुमान छ ।

आइपिओ रिजल्ट  https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.