समृद्ध गण्डकी प्रदेशको निर्माण कसरी ?

डा. गिरीधरी पौडेल, काठमाडौं, २५ साउन : 

समृद्धिको परिचय
समृद्धि बारे बिभिन्न क्षेत्रका भिन्न भिन्न बुझाइ छन। अंग्रेजी शब्दकोषले जनताको उच्च जिबनस्तर, कार्यमा सफलता, प्रशस्त धन भएको अबस्था , उन्नत स्थिति, बित्तिय सफलता र राम्रो भबिस्य भएको अबस्था समृद्धि हो भनेको छ। अर्थशास्त्रले दिगो उच्च आर्थिक बृद्धि, बढदो नाफा र पुर्ण रोजगारी भएको अबस्थालाई समृद्धि मानेको छ। बाणिज्यशास्त्रले पुर्ण रोजगारी, उच्च आय र क्रयशक्ति र न्युन मुद्रास्फ्रीति भएको अबस्था लाई समृद्धि भनेको छ। औषधी बिज्ञानले पैसाले खरिदगर्न नसकिने जनताको आन्नद र असल स्वास्थलाई मानबजातीको धन र समृद्धि मानेको छ। हाम्रो पौराणीक अथर्ब बेदले कडा मेहनत गरेर प्रशस्त धन कमाउनु र दान गर्नु समृद्धि हो भनेको छ। बुद्ध धर्मले सामुहिक आध्यात्मिकता र त्यसवाट आउने आनन्द लाई समृद्धि ठानेको छ। क्रिस्चियन धर्मले समृद्धि स्वास्थ, धन, सफलता र बिश्वास हो र यो आर्थिक आसिष र शारीरिक भलाइ पनि हो र परमेश्वरको इच्छा अनुसार प्राप्त हुन्छ भनेको छ। इस्लाम धर्मले समृद्धि परमेश्वरको उपहार हो भनेको छ।
एउटा ब्यापारीको लागि सकारात्मक सोच र धारणाले धन, शान्ति र सुख प्राप्त गर्नु समृद्धि हो। असल लेखकको लागि समृद्धि सोच्ने र जिउने एक बाटो हो र यो भौतिक सुख र पैसामात्र होइन। एउटा राजनीतिज्ञको लागि उसका मतदाता प्रशन्न देखिनु समृद्धि हो। एउटा सैनिक जनरललाई उसका जवान आज्ञाकरी रहनु र आँफ्नो आर्थिक उन्नयन र पदोउन्नती हुनु समृद्धि हो। एउटा प्रशासकलाई उसको पदउन्नती हुनु र धन कमाउनु समृद्धि हो ।
सारमा समृद्धि एक उन्नत अबस्था हो जहां बुद्धि र बिवेकको उच्चतम अभ्यास भएको हुन्छ, सबैलाइ रोजगार उपलब्ध हुन्छ, हरेक ब्याक्तिले आंफनो आत्मसम्मान महसुस गरेको हुन्छ र अनुसन्धानले नयां प्रबिधी सृजना गरी जनतालाइ धनी र सुखी बनाएको हुन्छ। यो कोरा कल्पना र सिद्धान्त होईन मानिसको बुद्धि, बिबेक, सृजना, कडा मेहनत, काम र उत्पादनको उपज हो ।
समृद्धिको माध्यम
एउटा लेखकले पैसाको पछि नलागि जिबनमा चाहिने सबै प्राप्त गर्ने उद्देश्य राखेर उत्कृष्ट लेखन गरे समृद्धि प्राप्त हुने सपना देख्न सक्छ ।एउटा प्रेमिले धेरै प्रेम बांडेपछि समृद्धि प्राप्त हुने महसुस गर्नसक्छ । महभारतका मुख्यपात्र कृष्णको एक अनुयायीले सफा पानी जातजाति, धनी, गरिब नछुट्याई सबैलाइ पिउन दिने र घरमा श्रीखण्ड, शरास्वतीको मुर्ति, मह र सुद्ध गाइको घिउ राखे समृद्धिको ढोका खुल्ने कल्पना गर्न सक्छ । एउटा ब्यापारीले धन र मनको सकारात्मक सम्बन्ध बनाई ज्ञानमा आधारित ब्याबसायीक रणनीति बनाउने, निर्दिष्ट दिशा तय गरेर लगातार काम गर्ने र उच्च मनोबलका साथ ब्याबसायी क्षमता प्रदर्शन गरे समृद्धि प्राप्त हुने बाटो देखेको हुनसक्छ । एउटा राजनितिज्ञले सस्ता, राम्रा र टिकाउ सामाजिक सेवाहरु प्रदान गर्ने, सम्पुर्ण श्रम वलको लागि रोजगार सृजना गर्ने, सबै नागरिकको सुरक्षा प्रत्याभुती गर्ने र आर्थिक बजारमा प्रतिसपर्धा गर्न नबबिचार को बढवा दिनाले समृद्धि प्राप्त हुने सोचेको हुनसक्छ ।समृद्धि प्राप्त गर्नेबारे अमेरिकाका पूर्ब राष्टपति बराक ओबामा ले भनेका थिय “मैले धारासायी हुनलागेका बैंकमा ८२५ खरब (ट्रिलियन) डलरको उत्तेजना प्याकेज लागु गरे र अमेरिकी अर्थतन्त्रलाइ समृद्धिको बाटो देखाए”। बङ्गालादेशकी प्रधानमन्त्री सेख हसिनाले समृद्धिबारे भन्नुएको थियो “बङ्गालादेश एक आधुनिक सफलताको कहानि भएको देश हो। यो अहिले मध्य आय भएका देशको समुहमा सामेल भएको छ। सन १९९१ देखि २०१० को बिचमै हामिले दुइकरोड पांचलाख गरिबको जिबनस्तर माथि उठायौ। अब हामिले नयां रोजगारको सृजना र निर्यात बृद्धिको आर्को चरणवाट समृद्धि प्राप्त गर्नेछौ ” मलेशियाका प्रधानमन्त्री महाथिर ले भन्नुभएको थियो “सन २०२० सम्ममा मलेशिया एकताबद्ध, उच्च नैतिकमुल्य, लोकतान्त्रिक, उदारवादी, प्रगतिसील र सहनसील समाज र गतिशिल अर्थतन्त्र भएको बिकसित र समृद्ध देश हुनेछ”। समृद्धिबारे भारतका प्रधानमन्त्री नरेन्द्रमोदीले सन १९१८ मा भन्नुभएको थियो “सन २०१८ को संघीय बजेट भारत समृद्धिको एक टेलर हो। यसले १२ करोड किसान, तीन करोड मध्यम बर्ग र ४० करोड अनौपचारीक क्षेत्रमा कामगर्ने कामदारको समृद्धिको सपना बोकेको छ”।
सारमा नागरिकले प्राप्त गरेको ज्ञानलाई सिपमा बदल्ने, सिपलाई रोजगारमा बदल्ने, रोजगारलाई उत्पादनमा बदल्ने, उत्पादन बाट आउने लाभांस मानब कल्याण र नबप्रर्बतनमा लगाउने र उत्पादन प्रकृयालाई निरन्तर अद्याबिधक गरी परिस्कृत गर्नु समृद्धि प्राप्त गर्ने उत्तम माध्यम हो।
गण्डकी प्रदेशले बिक्रम सम्बत २१०० मा कल्पना गरेको समृद्धि
गण्डकी प्रदेशमा सम्बत २१०० सम्ममा सर्बसुलभ आधुनिक पूर्बाधार एबंम अन्तर आबद्धता बिकास भएको हुनेछ, मानबपुंजि निर्माण तथा संभाब्यताको पूर्ण उपयोग हुनेछ, उच्च र दिगो उत्पादन तथा उत्पादकत्व प्राप्त भएको हुनेछ, उच्च र समतामुलक आय हांसिल भएको हुनेछ, नागरिकको परिष्कृत तथा मर्यादित जिबन हुनेछ, सुरक्षित सभ्य र न्यायापुर्ण समाजको निर्माण हुनेछ, स्वास्थ र सन्तुलित पर्यावरण कायम हुनेछ, अशल सुशासन कायम हुनेछ, राष्ट्रिय एबं प्रदेशिक एकता हुनेछ, सुरक्षा र सम्मान सुद्दढ भई समृद्धि प्राप्त हुनेछ।
सारमा गण्डकी प्रदेशले सम्बत २१०० मा कल्पना गरेको समृद्धि बिकसित देश सरहको प्रतिब्यक्ति आय र जिवनसैलि, जोखिम बहन गर्न सक्ने दिगो र वातावरणमैत्री भौतिक पूर्बाधारको बिकास, सृजनसिल र स्वस्थ समाजको निर्माण, प्रबिधि र नवप्रर्बतनले जनताका समस्या समधान गर्ने क्षमता भएको समउन्नत प्रदेश हुनुहो ।
समृद्धि प्राप्त गर्न गण्डकी प्रदेशको प्रस्तान बिन्दु
शहरी क्षेत्रमा आयातमा निर्भर कमिसनमुखी र ग्रामीण क्षेत्र निर्बाहमुखी अर्थतन्त्रलाई उत्पादनमुखी, आत्मनिर्भर र समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने दिशामा रुपान्तरण गर्ने। बैङ्क तथा वित्तीय संस्थाको कमजोर लगानी क्षमता सुदृढ गर्ने। आयात गरिएका उपभोग्य वस्तु तथा निर्माण सामाग्रीको वाहुल्यता र बढ्दो ब्यापार घाटा लाई प्रदेशमा तुलनात्मक लाभ भएका उपभोग्य वस्तु तथा निर्माण सामाग्रीको उत्पादन, बिक्री वितरण र प्रयोग गर्ने। विप्रेषण उपभोग्य बस्तु र सेवा खरिदमा खर्चगर्ने प्रबृर्तीलाई घटाउंदै बचत परिचालन गरी उत्पादन क्षेत्रमा लगानी गर्ने। स्थानीय उत्पादनसँग कमजोर सम्बन्ध रहेको पर्यटनलाइ स्थानीय उत्पादनसँग सघन सहकार्य गर्दै अर्थतन्त्रसंग अग्र र पृष्ठ सम्बन्ध स्थापना गर्दै पर्यटन पूर्वाधारमा लगानी विस्तार गर्ने। लघु उद्योग,तथा अनौपचारिक क्षेत्रका साना उद्योगहरूको बाहुल्यताबाट मझौला तथा ठूला, कृषि तथा वनजन्य प्रशोधन र खनिजजन्य उद्योगहरूको स्थापना र संञ्चालन गर्न प्रोत्साहन गर्ने ।
मनसुनमा आधारीत, निर्वाहमुखी र परम्परागत खेती प्रणालीलाई यान्त्रिकीकरण र व्यावसायीकरण गरी उच्च उत्पादकत्व र उत्पादन हांसिल गर्ने ।सहकारी क्षेत्रको लगानी अनुत्पादक क्षेत्रमा भएकोमा उत्पादन क्षेत्रमा लगानी गर्ने ब्यबस्था गर्ने। आर्थिक उपार्जनसँग कमजोर सम्बन्ध रहेका संरक्षणमुखी वन व्यवस्थापन प्रणालीलाइ संरक्षण र आर्थिक उपार्जन सँगसँगै हुने बैज्ञानिक वन व्यवस्थापन प्रणालीमा रुपान्तरण गर्ने । उर्जाको लागि बगिरहेका खोलामा निर्मित साना जलविद्युत् आयोजनामा निर्भर रहेको अबस्थालाई निजी क्षेत्रको सहकार्यमा ठूला जलशययुक्त जलविद्युत्, सौर्य र वायु उर्जा उत्पादन गर्ने प्रणलिमा परिवर्तन गर्ने । निर्धारित समय र लागतमा गुणस्तरीय भौतिक पूर्वाधारको निर्माण सम्पन्न नहुने निर्माण पद्धतिलाई निर्धारित समय र लागतमा गुणस्तरीय भौतिक पूर्वाधारको निर्माण सम्पन्न हुने निर्माण पद्धतिमा बदल्ने। बजारको मागसँग प्रत्यक्ष नजोडिएको र साधारण विषयको वर्चश्व रहेको वर्तमान शिक्षा प्रणालीलाई बजारको माग, उत्पादन र उद्यमसँग जोडिएको प्राविधिक तथा ब्याबसायीक शिक्षामा रुपान्तरण गर्ने। वर्तमान सिंचाई प्रणालीले टार तथा भिरालो पहाडी भूभागलाई नसमेटेको हुँदा पम्पिङ्ग, लिफ्टिङ्ग र पाइप सिचाई प्रणलि बिकास गरी सिचांई सुबिधा बिस्तार गर्ने। खानेपानीको दिगो स्रोत नभएका पहाडी बस्तीहरूमा लिफ्टको माध्यमले आर्पूर्ति गर्ने व्यवस्था गर्ने। रोगहरूको संरचनागत परिवर्तन अनुसार जनताका स्वास्थ्य समस्या समाधान गर्न कमजोर स्वास्थ्य सेवा प्रणालीलाई बदलिंदो रोगको प्रकृति अनुसार आधारभूत र विशिष्टीकृत सेवा प्रभावकारी रुपमा प्रदान गर्ने प्रणालीमा रुपान्तरण गर्ने। कानुनी रुपमा लैङ्गिक समानता प्राप्त भएको तर ब्यावहारिक अभ्यास नभएको अबस्थालाई लैङ्गिक समानताका कानुनी प्राबधान र ब्यावहारिक अभ्यासमा सामञ्जस्यता विकास गर्ने। श्रमशक्तिको उत्पादन र बजारको माग बिच सन्तुलन कायम गर्ने। दुर्गम गाउँपालिकाहरूमा इन्टरनेट, रेडियो र टिभिको कमजोर पहुँचलाई सुदृढ गरी सबै पालिका र गाउँहरूमा पहुँच विस्तार गर्ने। जलवायु परिवर्तन अनुकूलन उत्पादन प्रणाली विकास गर्ने र विद्युतीय शासन प्रणाली लागू गरी सार्वजनिक सेवा प्रवाह प्रभावकारी बनाउने ।
सारमा अन्य देशले उत्पादन गरेका सामान आयात गर्दा उठेको भन्सार राजस्वले सरकार चलाउने र आयतीत सामान बेची आएको कमिसनले ब्याबसाय र घर गृहस्थ चलाउने बर्तमान कमिसनमुखि अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा रुपान्तरण गर्नु समृद्धि प्राप्त गर्ने पहिलो प्रस्तान बिन्दु हो।
गण्डकी प्रदेश समृद्धिका सात मुख्य सम्बाहक (Seven Key Drivers of Prosperity) र पांच मुख्य सहयोगिहरु (Five Key Enablers of Prosperity)
गण्डकी प्रदेशको समृद्धिको लागि मुख्य सात सम्बाहकहरू जस्तै पर्यटन, उर्जा, कृषि, उद्योग, पूर्बाधार, मानब संसाधन र सुशासन पहिचान गरिएका छन्ः
पर्यटनः साहसिक, धार्मिक, स्प्रिचुयल, साँस्कृतिक पर्यटन प्रर्बद्धन गर्दै स्थानीय उत्पादनसँग अग्र र पृष्ठ सम्बन्ध भएको (Forward and backward linkage) गुणस्तरीय पर्यटन सेवाको सुदृढीकरण र विस्तार गरी रोजगारी सृजना, गरिबी निवारण, र प्रदेश अर्थतन्त्रको आधारशीला तयार गर्ने ।
उर्जाः जलविद्युत् तथा नवीकरणीय उर्जाको (सौर्य, वायु र जैविक) उच्च उत्पादन, उपभोग र निकासी गरी औद्योगिकीकरणको विस्तार, र पेट्रोलियम पदार्थको आयातमा कमी ल्याउँदै आत्मनिर्भर र हरित अर्थतन्त्र निर्माण गर्ने।
कृषिः उच्च उत्पादन दिने जैविक (अर्गानिक) कृषि प्रणालीको प्रर्बद्धन, यान्त्रिकीकरण, व्यावसायीकरण र बजारीकरणमार्फत् उच्च उत्पादन र उत्पादकत्व प्राप्त गरी आयतनको आर्थिक लाभ (Economic of Scale) लिने।
उद्योगः उद्यमशीलताको विकास, मझौला र ठूला उद्योगहरूको स्थापना र औपचारिक क्षेत्रको विस्तार मार्फत् उपभोग्य बस्तु, निर्माण सामग्री, कृषि प्रशोधन र खनिजजन्य उद्योगहरूलाई चाहिने कच्चा पदार्थको आपूर्ति प्रदेश भित्रबाट व्यवस्था गरी प्रदेश अर्थतन्त्रमा उद्योग क्षेत्रको अग्र र पृष्ठ सम्बन्ध (Forward and backward linkage) विकास गरी रोजगारीको विस्तार, आयात प्रतिस्थापन, राजस्वको बृद्धि र समग्रमा प्रदेश अर्थतन्त्रको आकार र आयतन बढाउने।
भैतिक पूर्वाधारः उत्पादनमुखी अन्तरनिर्भर अर्थतन्त्र निर्माणमा सघाउने गुणस्तरीय भौतिक पूर्वाधारको विस्तार र संञ्जालीकरण गरी प्रदेश अर्थतन्त्रमा उत्पादन क्षेत्रको लागत घटाउने र प्रदेशमा उतपादित बस्तुको प्रतिस्पर्धी क्षमता बढाई बजार अर्थतन्त्रको विस्तार गर्ने ।
मानव संसाधन विकास (शिक्षा र स्वास्थ्य): उच्च उत्पादन र उत्पादकत्व प्राप्त गर्न चाहिने प्राविधिक सीप र ज्ञान भएको स्वास्थ मानव संसाधन विकास मार्फत् नयाँ प्रविधिको अन्बेषण गरी उत्पादन प्रकृयालाई सरलीकरण गर्दै प्रभावकारी रुपमा उच्च उत्पादन उत्पादकत्व प्राप्त गर्न सघाउने ।
सुशासनः राज्य संयन्त्रका सबै अङ्गमा विद्युतीय सुशासनको अभ्यासले कार्य क्षमता बृद्धि गर्दै भ्रष्टाचार निवारणमा सहयोग पुर्याई उच्च प्रतिफल प्राप्त गर्न सघाउने ।
गण्डकी प्रदेश समृद्धिको लागि पाँचवटा मुख्य सहयोगी क्षेत्रहरू जस्तै प्राकृतिक सौन्दर्य, जैविक विविधता, सामाजिक विविधता बीच एकता, साँस्कृतिक सम्पन्नता, सहअस्तित्व र पहिचान र जनसांख्यिक लाभ पहिचान भएका छन ।
प्राकृतिक सौन्दर्यः गण्डकी प्रदेशको तराइदेखि हिमालसम्मको मनोरम भूधरातल, ताल तलैया, पदमार्ग, नदी निर्मित गहिरा गल्छी आदि जस्ता प्राकृतिक सौन्दर्यताले पर्यटक आकर्षण बढ्ने र पर्यटन क्षेत्रबाट प्राप्त हुने आय बृद्धि भई प्रदेश समृद्धिमा सहयोग पुर्याउंछ।
जैविक विविधताः गण्डकी प्रदेशको करिब ४६ प्रतिशत भूभाग चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र, अन्नपूर्ण र मनास्लु संरक्षण क्षेत्र, पञ्चासे संरक्षित वन, फेवातालको पश्चिममा रहेको विश्व जैविक विविधता बगैचा (पार्क) र ढोरपाटन शिकार आरक्षभित्र पर्दछ । प्रदेशका यी निकुन्ज तथा संरक्षण क्षेत्रभित्र विशाल जैविक विविधताको संरक्षण र प्रर्बद्धन हुँदै आएको छ । जैविक विविधतले प्रदेशमा पर्यावरणीय सन्तुलन र विदेशी पर्यटकहरू आकर्षण गरी प्रदेश समृद्धि हांसिल गर्न सहयोग पुर्याउछ ।
सामाजिक विविधता बीच एकताः गण्डकी प्रदेशमा ब्राम्हण, क्षेत्री, मगर, गुरुङ्ग, थारु, तामाङ्ग, नेवार, कामी, सार्की, दमाई÷ढोली, मुसलवान, यादव, राई, ठकुरी, लिम्बु, थकाली, लेप्चा र अन्य गरी २२ भन्दा बढी जातजातिका मानिसहरू बसोबास गर्दछन् । यी विभिन्न सामाजिक समूह बीच रहन सहनमा विविधता भए तापनि आर्थिक विकास र पूर्वाधार निर्माणमा विविधता बीच अनुपम एकता छ जुन प्रदेश समृद्धिको महत्वपूर्ण सहयोगी क्षेत्र हो।
साँस्कृतिक सम्पन्नता, सहअस्तित्व र पहिचानः कला र संस्कृति खासगरि लोकभाकामा दोहोरी गीतको उदगम् स्थल रहेको, गुरुङ्ग, मगर, थकाली र थारु संस्कृति सामाजिक पहिचानको आदर्श नमुनाको रुपमा रहेकाले सामाजिक एवम् सांस्कृतिक सम्पन्नता, सहअस्तित्व र पहिचान समेत् पर्यटक आकर्षणका स्रोत र प्रदेश समृद्धिका महत्वपुर्ण सहयोगी क्षेत्रहो ।
जनसांख्यिक लाभः गण्डकी प्रदेशमा आर्थिक रूपले सक्रिय जनसंख्या कुल जनसंख्याको ५७ प्रतिशत छ । यो उमेर समूहलाई विशेष योजनाका साथ विदेश जान वा पलायन हुनबाट रोक्दै उत्पादनमूलक क्षेत्रमा योजनाबद्ध रुपमा परिचालन गरी आर्थिक र सामाजिक विकासमा चाँडै फड्को मार्ने सुवर्ण अवसर रहेको हुँदा प्रदेश समृद्धिको एक महत्वपूर्ण सहयोगी क्षेत्र हो ।
सारमा गणडकी प्रदेशको समृद्धिको लागि सात मुख्य संबाहक पहिचान गरिएका (Seven Key Drivers of Prosperity) छन जस्तै: पर्यटन, उर्जा, कृषि, उद्योग, भौतिक पूर्बाधार, मानब संसाधन र सुशासन। त्यस्तैगरी समृद्धिका मुख्य पाँच सहयोगि क्षेत्रहरु (Five Key Enablers of Prosperity) जस्तै: प्राकृतिक सौन्दर्य, जैबिक बिबिधता, सामाजिक बिबिधता बिच एकता, साँस्कृतिक सम्पन्नता र सहअस्तित्व र जनसांख्यिक लाभ पहिचान भएका छन। यी क्षेत्रमा लगानि बृद्धि र आधुनिकिकरण गरी प्रदेश अर्थतन्त्रमा अग्र र पृष्ट सम्बन्ध बिस्तार मार्फत उत्पादनमुखि प्रदेश अर्थतन्त्र निर्माण गर्ने साधनको रुपमा बिकास गरिनेछ।
समृद्धिको लागि प्रदेशभित्र क्षेत्रिय सन्तुलन र समन्यायीक विकास
प्रदेशभित्र सन्तुलित एवम् समन्यायीक विकास गरी समृद्धि प्राप्त गर्न तहगत (Hierarchical) प्रशासनिक एवं आर्थिक केन्द्रहरु विकास हुनेछन ।
वडा केन्द्र स्थानीय तहको विकास बिन्दुको रुपमा विकास हुने: गाउँ तथा बस्ती स्तरमा पालिकाका ७५९ वडा केन्द्र क्रमस: स्थनीय (गांउ) तहका प्रशासनिक एबं आर्थिक बिन्दुको रुपमा विकास हुनेछन। यी विकास बिन्दुहरूले आँफ्नो प्रभाबक्षेत्र (Sphere of Influence) भित्रका गाउँबस्ती स्तरमा प्रशासनिक तथा आर्थिक सेबाहरू जस्तै आधारभूत स्वास्थ्य सेवा, माध्यमिक तहसम्मको शिक्षा, साना स्तरका निर्माण, इमेल, इन्टरनेट, टेलिफोन, सामान किनबेच गर्ने ब्यापारिक पसल, परामर्श सेवा, निजी स्वास्थ्य क्लिनिक, एम्बुलेन्स जस्ता सेवा उपलब्ध गराउनेछन् ।
पालिका सदरमुकाम स्थानीयतहका विकास केन्द्रको रुपमा विकास हुने: गाउँपालिका तथा नगरपालिकाका ८५ वटा केन्द्र क्रमशः प्रशासनिक एवम् आर्थिक विकास केन्द्रको रुपमा विकास हुंदैछन् । यिनीहरूले आँफ्नो प्रभावक्षेत्र भित्रका गाउँ तथा बस्तीहरूलाई प्रशासनिक तथा आर्थिक सेवा केन्द्रको रुपमा आधारभूत स्वास्थ्य तथा अन्य मध्यम स्तरका विशेषज्ञ स्वास्थ्य सेवा, माध्यमिक तह सम्मको शिक्षा, वित्तीय कारोबार गर्ने संस्था, कालेपत्रे सडकमार्ग मार्फत् जिल्ला तथा प्रदेश सदरमुकामसँग आबद्धता, मझौला तथा साना उद्योगहरूको स्थापना र सञ्चालन जस्ता प्रशासनिक तथा आर्थिक सेवाहरू उपलब्ध गराउने छन् । यी केन्द्रहरूले प्रदेशका मुख्य शहरहरूमा हुने बसाईसराईलाई समेत कम गराउनेछन् ।
जिल्ला सदरमुकाम जिल्ला तहका विकास केन्द्रको रुपमा विकास हुने: प्रदेशमा रहेका ११ वटा जिल्ला सदरमुकाममा पालिका केन्द्रमा उपलब्ध सेवाहरूको अतिरिक्त नागरिकता र पासपोर्ट सेवा प्राप्त गर्ने थप प्रशासनिक सुविधा हुनेछन् र यिनीहरू जिल्ला तहका विकास केन्द्र हुनेछन् ।
पोखरा प्रादेशिक विकास केन्द्र हुनेः पोखरा प्रदेशको राजधानी समेत् भएकोले यसको प्रशासनिक, आर्थिक र राजनीतिक प्रभाव समग्र प्रदेशमा पर्न जाने र प्रादेशिक विकास केन्द्रको रुपमा विकास भई प्रदेशबाहिर पनि यसको प्रभाव क्षेत्र विस्तार हुनेछ । यसरी चार तहका प्रशासनिक तथा आर्थिक विकास केन्द्रहरूको विकासले प्रदेशमा सन्तुलित तथा समन्वायिक विकास हुनेछ।
सारमा प्रदेशमा सन्तुलित बिकास गरी समृद्धि प्राप्त गर्न प्रदेशका ७५९ वडा केन्द्र गाउंस्तरका बिकास बिन्दुको रुपमा बिकास हुनेछन। ८४ स्थानीयतहका प्रशासनिक केन्द्र पालिकास्तरका बिकास केन्द्रको रुपमा बिकास हुनेछन । ११ जिल्ला सदरमुकाम जिल्लास्तरका बिकास केन्द्रको रुपमा बिकास हुनेछन र प्रदेश राजधानी पोखरा प्रदेशस्तरको बिकास केन्द्रको रुपमा बिकास हुनेछ।यी बिकास बिन्दु तथा बिकास केन्द्रले आंफ्नो प्रभाबक्षेत्र (Sphere of Influence) भित्र आर्थिक तथा प्रशासनिक सेवाहरु उपलब्ध गराई समृद्धिमा सघाउनेछन।
समृद्धिका लागि आठ विकास अक्ष (मेरुदण्ड) (Growth Axis ) को बिकास
गण्डकी प्रदेशमा सन्तुलित विकास र समृद्धिको लागि सडक यातायातसँग आबद्धता गर्दै आठ वटा विकास अक्ष तथा मेरुदण्ड (Growth Axis ) विकास हुनेछन् ।
मुग्लिङ्ग–दमौली–पोखरा–कुश्मा–बाग्लुङ्ग–बुर्तिबाङ्ग· विकास अक्षः यो विकास अक्ष प्रदेशको मध्यभागमा पूर्व पश्चिम फैलिएको छ । यस विकास अक्षले मुग्लिङ्ग, आँबुखैरेनी, डुम्रे , दमौली हुँदै पोखरासम्म पृथ्बी राजमार्गलाई पछ्याउँछ भने पोखराबाट बाग्लुङ्गसम्म भूपी शेरचन राजमार्ग र त्यसपछि मध्यपहाडी लोकमार्गमा समाहित भएर बुर्तिबाङ्, ढोरपाटन हुँदै कर्णाली प्रदेशको रुकुमतर्फ लाग्दछ । यस विकास अक्षले विशेषगरि तनहुँ, कास्की, पर्वत र बाग्लुङ् गरी चार जिल्लाको विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ ।
कोरला–जोमसोम–बेनी–कुश्मा–पोखरा–भीमाद–दुम्कीबास–त्रिवेणी विकास अक्षः यस विकास अक्ष प्रदेशको उत्तर दक्षिण फैलिएको निर्माणाधीन विकास अक्ष हो । उत्तरमा यो मित्रराष्ट्र चीनको सिमाना कोरला नाकाबाट सुरु भएर मुस्ताङ्ग जिल्लाको लोमन्थाङ्ग, जोमसोम हुँदै बेनी, कुश्मा, पोखरा, तनहुँको भिमाद हँदै, नवलपुर जिल्लाको दुम्कीबास हुँदै दक्षिणमा मित्रराष्ट्र भारतसँग सिमाना जोडिएको ठाउँ त्रिवेणीसम्म पुग्दछ । यसरी यो विकास अक्षले मित्रराष्ट्र चीन र भारतसँग जोडिने गरी ६ जिल्लाका मुख्य शहरहरूसम्म यातायातको पहुँच स्थापित गराई सामाजिक आर्थिक क्रियाकलापलार्ई गतिशील बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ र यो प्रदेशको दोस्रो महत्वपूर्ण जीवनरेखाको (Lifeline) रुपमा विकास हुनेछ । यस विकास अक्षको सहायक खण्ड पूर्वमा म्याग्दीको बेनी हुदै पश्चिममा दरबाङ्गसम्म विस्तार हुनेछ । उत्तरको कोरला र दक्षिणको त्रिवेणीमा अन्तर्राष्ट्रिय भन्सार केन्द्र स्थापना र सञ्चालन हुँदा यो मार्ग व्यापारिक मार्गको रुपमा पनि बिकास हुनेछ ।
पोखरा–पुतलीबजार–वालिङ्ग–गल्याङ्ग–चापाकोट विकास अक्षः यो विकास अक्ष सिद्धार्थ लोकमार्ग पछ्याउँदै पुतलीबजार, वालिङ्ग, गल्याङ्ग र चापाकोट नगरपालिकालाई पोखरा महानगरपालिका जोड्छ । यस क्षेत्रमा पूर्व पश्चिम सिद्धार्थ लोकमार्गको समानान्तर विकास अक्षको विकास हुनेछ ।
अर्मादी–सेतीबेनी–मिर्मी–रुद्रवेणी–रानीघाट–गल्याङ–चापाकोट–देवघाट–गैंडाकोट–कावासोती शालिग्राम सांस्कृतिक विकास अक्षः यो बिकास अक्ष कालीगण्डकी करिडोरको समानान्तर रुपमा पर्वतको अर्मादीबाट सुरु भई सेतीवेणी, मिर्मी हुँदै रुद्रवेणी, रानीघाट, गल्याङ्ग, चापाकोट, देवघाटबाट, गैंडाकोट हुँदै कावासोतीसम्म पुग्नेछ। यसले कालीगण्डकी किनाराका तल्लो तटमा रहेका धार्मिक स्थल तथा टारहरूलाई जोड्दै जान्छ । यस सडकले सेतीवेणी, रिडी, रानीघाट, गजेन्द्र मोक्षधाम, देवघाट, केलादीघाट, शालिग्राम आदि धार्मिकस्थललाई जोड्नेछ। यसले कालीगण्डकी नदीको पूर्वी किनारामा रहेका टार तथा नदीनिर्मित फाँटहरूको विकासमा सहयोग पुर्याउँनेछ ।
देवघाट दक्षिण गैंडाकोटदेखि तल कालीगण्डकी नदीको पश्चिमपट्टि यस विकास अक्षले आर्थिक विकासमा टेवा दिनेछ । समग्रमा, यस विकास अक्ष पर्वत जिल्लाको दक्षिणी क्षेत्र, स्याङ्जाको पश्चिम क्षेत्र र तनहुँ जिल्लाका पश्चिम क्षेत्र र नवलपुर जिल्लाको उत्तरपूर्वी क्षेत्रको विकासमा सहयोग गर्ने गरी विकास हुनेछ ।
डुम्रे–बेसीशहर–धारापानी–थोचे–रुइलाभन्जाङ्ग विकास अक्षः यस सडक मार्ग तथा विकास अक्षको डुम्रे–बेसीशहर खण्डको निर्माण सम्पन्न भएको छ भने बेंसीशहर–धारापानी– थोचे–रुइलाभन्जाङ्ग खण्ड निर्माणधीन छ । यस सडक खण्डको निर्माणले डुम्रे –बेसीशहर– धारापानी–थोचे–रुइलाभन्जाङ्गबीचका चार जिल्ला तनहुँ, लमजुङ्ग, मनाङ्ग र गोरखाका उत्तर पूर्वी क्षेत्रको विकासमा सहयोग गर्नेछ ।
बेनीघाट–आरुघाट–श्रीर्दिवास–सामागाउँ–रुइलाभन्जाङ्ग· विकास अक्षः यो गोरखा जिल्लाको पूर्वी भागमा निर्माणाधीन उत्तर दक्षिण सडक मार्ग तथा विकास अक्ष हो । यो उत्तरमा चीनको सीमासम्म र दक्षिणमा पृथ्बी राजमार्गसम्म फैलिने छ र गोरखा जिल्लाको विकासको मेरुदण्ड हुनेछ । यो मार्ग मित्रराष्ट्र चीनलाई जोड्ने सबभन्दा छोटो मार्ग हुनेछ ।
पोखरा रिङ्गरोड विकास अक्षः पोखरा महानगरपालिका वरिपरिको बृहत्तर क्षेत्रमा करिब ११० किलोमिटर लामो पहिलो रिङ्गरोड निर्माण हुनेछ र उक्त रिङ्गरोडको वरिपरि आर्थिक क्रियाकलाप बढ्न गई पोखरा भित्रको भिडभाड बाह्य क्षेत्रतर्फ स्थानान्तरण भई सन्तुलित विकास हुनेछ । यस विकास अक्ष शहर केन्द्रित जनसंख्यालाई पोखराको बाह्यक्षेत्रमा ब्यवस्थापन गर्नेगरि विकास हुनेछ ।
पोखरा महानगर वरिपरि स्याटलाइट शहरको विकास अक्षः पोखरा महानगर वरिपरिका साना शहरहरू जस्तै, लमजुङ्गको मध्यनेपाल, तनहुँको शुक्लागण्डकी, स्याङ्गजाकाको पुतलीबजार, पर्वतको कुश्मा र कास्कीको मादी करिडोर क्षेत्रलाई पोखरा महानगरका स्याटलाइट शहरको रुपमा विकास हुनेछन। यी स्याटलाइट शहरहरूलाई बाहिरी रिङ्गरोडले एक आपसमा जोडनेछ र रिङ्गरोडको वरिपरि आर्थिक कृयाकलाप सञ्चालन गरी पोखरा महानगपालिकामा बढ्दै गएको जनसंख्याको चापलाई कम गर्नेछ ।
माथि उल्लेखित विकास अक्षमा समानान्तर हुने गरी विद्युतका ट्रान्समिसन लाइन, टेलिफोन लाइन, इन्टरनेट लाइन विस्तार हुनेछन् । सडकको दायाँ बायाँमा होटेल, रेस्टुंराँ, विद्यायल, महाविद्यालय, ब्यापारिक भवन, मझौला खाले उद्योग आदिको विकास हुनेछ । यी सडक मार्गको दुबैतर्फ बस्तीहरूको विकास भई ब्यवस्थित शहरीकरण हुनेछ ।
सारमा गण्डकी प्रदेशको बिकास र समृद्धिको लागि सडक यातायातसँग आबद्ध गर्दै आठ वटा विकास अक्ष (Growth Axis ) विकास हुनेछन्। विकास अक्षमा समानान्तर हुने गरी विद्युतका ट्रान्समिसन लाइन, टेलिफोन लाइन, इन्टरनेट लाइन विस्तार हुनेछन्। सडकको दायाँ बायाँमा होटेल, रेस्टुंराँ, विद्यायल, महाविद्यालय, ब्यापारिक भवन, मझौला खाले उद्योग आदिको विकास हुनेछ। यी सडक मार्गको दुबैतर्फ बस्तीहरूको विकास भई ब्यवस्थित शहरीकरण हुनेछ।आगामी २५ बर्ष सम्ममा प्रदेशको करिब ७० देखि ८० प्रतिशत जनसंख्या यीनै बिकास अक्षको बरीपरी केन्द्रित हुनेछ ।
बृहत्तर आर्थिक क्षेत्र निर्माण
पूर्वपश्चिम लोकमार्गको नारायणगढ–बुटवल खण्ड चार लेनमा स्तरोन्नति भइरहेको छ। यसै प्रकारले अन्य सडकहरू पनि स्तरोन्नति हुने क्रममा छन्। गुणस्तरीय सडक संजाल विकास भैसकेपछि चार वटा अन्तरार्ष्ट्रिय विमानस्थलहरूः काठमाडौं, पोखरा, भैरहवा र निजगढ एक आपसमा जोडिने छन् र यिनीहरू बीचको भूभागमा बृहत्तर आर्थिक क्षेत्र निर्माण हुनेछ। गण्डकी प्रदेशको नवलपुरदेखि मुग्लिङ्ग, डुम्रे, दमौली, खैरेनीटार, कोत्रे, पोखरा, पुतलीबजार, वालिङ्ग, मिर्मी र राम्दीसम्मको क्षेत्रमा ब्यापारीक र ब्यावसायीक गतिविधि बढ्न गई बृहतर आर्थिक क्षेत्र विकास हुनेछ। सारमा यस बृहत्तर आर्थिक क्षेत्रको निर्माणले गण्डकी प्रदेशको औद्योगिकरणमा सघाउने छ ।
आत्मनिर्भर तथा स्वfधिन अर्थतन्त्र निर्माण गर्ने ( Develop self-reliant and independent economy)
आत्मनिर्भर तथा स्वाधिन अर्थतन्त्र भनेको एक स्वतन्त्र अर्थतन्त्र हो जुन अरूमा निर्भर हुँदैन, आँफ्नै जगमा खडा हुन्छ, आँफ्नै जनता र स्रोतबाट संञ्चालित हुन्छ र आँफ्नै सेवा गर्दछ।आत्मनिर्भर अर्थतन्त्रको अर्थ आँफुलाई चाहिने सबै सामान आँफै उत्पादन गर्ने भन्ने अर्थमा बुझनु हुदैन।यसलाई आँफुसंग तुलनात्मक लाभ बस्तुहरु उत्पादन गर्ने र बढी भएका बस्तु निकासी गर्ने तथा आँफ्नो तुलनात्मक लाभ नभएका बस्तुहरु पैठारी गरी उपभोग र ब्यापार बिच सन्तुलन मिलाउने पद्दतिको रुपमा बुझनु पर्दछ।
सन १९९० पछि पश्चिमा राष्ट्रका उत्पादनलाई बजार सुनिश्चित गर्न ल्याईएको बिश्वब्यापिकरण र यसभित्र अन्तरनिहित दलाल अर्थतन्त्रले नेपालमा भर्खर तंग्रिन थालेका उत्पादन ईकाईहरु क्षतबिक्षत भए।औद्योगिकरणको लामो अनुभब भएका र उन्नत प्रबिधि प्रयोग गरेका पश्चिमा राष्ट्रका उत्पादनसंग नेपालका बालक उत्पादनमुलक उद्योगले (Infant Industry) उत्पादन गरेका बस्तुलाई प्रतिशपर्धा गर्न लगाईयो।उन्नत प्रबिधि प्रयोग गरी ठुला उद्योगले उत्पादन गरेका बस्तुसंग भर्खर स्थापना भएका नेपाली उद्योगका बस्तुले प्रतिशपर्धा गर्न सकेनन र ती उद्योगहरु घाटामा जानथाले। यसैलाई निहुँ बनाएर आत्मनिर्भर अर्थतन्त्र निर्माणको जग बसाल्न अग्रजले स्थापना गरेका सिमित उत्पादन ईकाईहरु खुला अर्थतन्त्रमा अन्तरनिहित गरिएको निजिकरण प्रकृयामा निजि क्षेत्रको जिम्मा लगाईयो। निजिकरणले भर्खर बामे सर्न थालेको औद्योगिकरण प्रकृया नेपालको सन्दर्भमा गतिहिन भयो। बजार अर्थतन्त्र आँफुले उत्पादन गरेका बस्तु बेच्नुभन्दा अरुले उत्पादन गरेका बस्तु आयात गरी बेच्न रमाउन थाल्यो। आज हामिले के अनुभब गरेका छौ भने अरुको आबश्यकता पुरा गर्ने सामान उत्पादन गर्न नसकेपनि आँफुलाई चाहिने सामान आँफै उत्पादन नगरेसम्म देश समृद्धिको बाटोमा अगाडि जाँदैन। तसर्थ ग्राहस्थमागले नेतृत्व गरेको औद्योगिरकण (Domestic Demand Led Industrialization) गरी आत्मनिर्भर तथा स्वाधिन अर्थतन्त्र निर्माण गर्नु पर्दछ।
सारमा आत्मनिर्भर तथा स्वाधिन अर्थतन्त्र भनेको एक स्वतन्त्र अर्थतन्त्र हो जुन अरूमा निर्भर हुँदैन, आँफ्नै जगमा खडा हुन्छ, आँफ्नै जनता र स्रोतबाट संञ्चालित हुन्छ र आँफ्नै सेवा गर्दछ । समृद्ध प्रदेश बनाउन ग्राहस्थमागले नेतृत्व गरेको औद्योगिरकण (Domestic demand led industrialization) गर्नुपर्दछ।
कमिसनमुखि अर्थतन्त्रलाई उत्पादनमुखि अर्थतन्त्रमा रुपान्तरण गर्ने (Change the commission oriented economy to production oriented economy)
नेपालको अर्थतन्त्र खासगरि सन १९९० पछि खुला बजार अर्थतन्त्रमा प्रबेस गरयो। यस अबधी पश्चात नेपालमा स्थापना भएका उद्योगहरु संरक्षणको अभाबमा बिदेशि कम्पनिका उत्पादनसंग प्रतिशपर्धा गर्न सकेनन र बन्द भए। प्रतिशपर्धात्मक क्षामता भएका केही उद्योगहरु जिबित रहे तर तिनीहरुको औद्योगिक उत्पादनको हिस्सा नगन्य रहयो । बिस्तारै बिस्तारै नेपालको अर्थतन्त्रमा भन्सार राजस्वको अंस उल्लेख्य रहयो भने बजार आयतित सामान बेच्ने कमिसनमुखि अर्थतन्त्रमा रुपान्तरण भयो। नेपालको औद्योगिकरणमा यसको असर नकारात्मक रहयो। याहांको आम बजार मनोबृति अरुले उत्पादन गरेका सामान आयात गरी बेच्ने र बिचको कमिसन बाट घर गृहस्थ चलाउन र ब्याबसाय प्रबर्द्धन उद्यत रहयो। तीन दशकको हाम्रो अनुभबले के सिद्ध गरयो भने कमिसनमुखि अर्थतन्त्रबाट देशको समृद्धि सम्भब छैन तसर्थ हाम्रो अर्थतन्त्रलाई उत्पादनमुखि अर्थतन्त्रमा रुपान्तरण गर्नु अपरिहर्य भएको छ। अर्थतन्त्रलाई उत्पादनमुखि दिशामा लैजान हाम्रा उपभोक्तालाई स्वदेसी सामानको प्रयोग गर्ने बानिको बिकास गर्ने, सबै सार्बजानिक निकायहरुमा उपलब्ध भयसम्म स्वदेशी उत्पादन प्रयोग गर्ने र हाम्रा शिसु उद्योगहरुको संरक्षाण गर्ने जस्ता कार्य आबश्यक हुन्छन।
सारमा अन्य देशले उत्पादन गरेका सामान आयात गरी बिक्रिगर्दा आएको बिचको कमिसन बाट घर गृहस्थ चलाउने र ब्यापार ब्याबसाय प्रबर्द्धन गर्ने प्रबृति छोडि आंफै उत्पादन गरेका वा देशमा उत्पादन भएका सामान बेची घर गृहस्थ चलाउने र ब्यापार ब्याबसाय प्रबर्द्धन गर्नु कमिसनमुखि अर्थतन्त्रलाई उत्पादनमुखि अर्थतन्त्रमा रुपान्तरण गरी प्रदेशलाई समृद्धिको मार्गमा लैजाने उत्तम उपाय हो ।
ज्ञानको पलायान लाई ज्ञानको पुन:प्राप्तिमा बदल्ने (Change the brain drain into brain regain):
ब्रेन ड्रेन (ज्ञानको पलायान) भनेको एक बोलचालको शब्द हो जसले कुनै ब्याक्ति वा समुह ज्ञानसहित एक ठांउ बाट आर्को ठांउमा हुने बसाई सराईलाई जनाउंछ। ब्रेन ड्रेन राजनीतिक उथलपुथल वा अन्यत्र अनुकूल र आकर्षक पेशा, स्वास्थ, शिक्षा, लगायतका अवसरहरूको उपलब्ध हुनाले हुन्छ। ब्रेन ड्रेनको कारण देशले उद्योग, संगठन र मूल्यवान व्यक्तिको ज्ञान गुमाउँछ। ब्रेन ड्रेन तीन किसिमको हुन्छ भौगोलिक, संगठनात्मक र औद्योगिक। भौगोलिक ब्रेन ड्रेन तब हुन्छ जब प्रतिभाशाली ब्याबसायीहरु एक देश वाट अर्को देशमा बसाई सराई गर्दछन।संगठनात्मक ब्रेन ड्रेन त्यसबेला हुन्छ जब एक कम्पनीका प्रतिभाशाली मजदुरहरू एकल वा सामूहिक रुपमा आर्को कम्पनीमा प्रस्थान गर्दछन।
औद्योगिक ब्रेन ड्रेन त्यसबेला हुन्छ जब कुशल श्रमिकहरू कम्पनी मात्र होइन सम्पूर्ण उद्योग क्षेत्रवाट बाहिर निस्किन्छन।हाल नेपालले भौगालिक र संगठानात्मक ब्रेन ड्रेनको अनुभब गरिरहेको छ। हाम्रा उत्पादनसिल युवाहरु रोजागार र गुणस्तरिय शिक्षाको खोजिमा बिदेश पलायन भएका छन। बिदेशमा काम गर्ने हाम्रा ईन्जिनयर, डाक्टर, नर्स, बैज्ञनिक, उद्योगी, ब्याबसायी, ब्यापारी, कलाकार, लेखक, अनुसन्धानकर्त्ता, योजनाकार, मजदुर आदि सबै हाम्रा सम्पत्ति हुन ।यिनीहरु देशमा राम्रो रोजगारको अबसर नपाएर पलायन भएका हुन र देशमा उपयुक्त अबसर पाएको खण्डमा देशमै फर्कि पुन योगदान गर्ने प्रतिक्षामा छन।यिनीहरुको फिर्ता केवल श्रमको मात्र फिर्ता हुदैन । यिनीहरु फिर्ता आउनु भनेको यिनीहरुले बिदेशमा आर्जन गरेको सिप, प्रबिधी र पुजी पनि फिर्ता आउनु हो । हालका केही बर्षहरुमा बिदेशका बिभिन्न ठाउमा राम्रो हैसियत बनाएका ब्याक्तिहरु प्रदेशमा फिर्ता भई पुन योगदान गर्ने ईच्छा जाहेर गरेका छन भने सिमित संख्यामै भयपनि केही स्वदेश फर्केर लगानि गरी ब्याबसाय संञ्चालन गरेका छन। अब हामिले प्रदेशमा औद्योगिकरणको युग आरम्भ गरी बिदेशमा गएका हाम्रा युवाहरुलाई फिर्ता गरी ज्ञानको पलायनलाई ज्ञानको पुन प्राप्तिमा बदल्नु पर्दछ।
सारमा ब्रेन ड्रैन वा ज्ञानको पलायन भनेको कुनै ब्याक्ति वा समुह ज्ञानसहित एक ठांउ बाट आर्को ठांउमा बसाई सराई गर्नु हो। ब्रेन रिगेन वा ज्ञानको पुन प्राप्ति भनेको बिदेशमा गएका हाम्रा नागरिकले बिदेशमा सिकेको ज्ञान, सिप र पुँजि सहित प्रदेशमा पुन आगमन गर्नु हो। बिदेशमा बसेका हाम्रा नागरिकलाई उपयुक्त अबसर दिई उनिहरुले बिदेशमा सिकेको ज्ञान र सिप र कमाएको पुँजि प्रदेशमा लगानी गर्ने वातावरण निर्माण गर्नु प्रदेशलाई समृद्धितर्फ डोर्याउने एक उत्तम माध्यम हो ।
समृद्धिको लागि गण्डकी प्रदेशका प्राथमिकता
गण्डकी प्रदेशलाई समृद्ध बनाउन क्षेत्रगत प्राथमिकताहरु निर्धारण गरेर कार्यान्वयन गर्नुपर्दछ। पर्यटन क्षेत्रका मुख्य प्राथमिकतामा पर्यटनको स्थानीय उत्पादनसँग अग्र र पृष्ठ (Forward and backward linkages) सम्बन्ध विकास गर्ने। पर्यटन पूर्वाधारको विस्तार गर्ने (होटेल, रेष्टुराँ, घरबास (Homestay), जनशक्ति, टुर्स एण्ड ट्राभल्स, पदमार्ग, पर्यटन सडक आदि) र गण्डकी प्रदेशमा आउने पर्यटकको संख्या बढाउदै लैजाने। उर्जा क्षेत्रका प्राथमिकताहरुमा उर्जा सम्वन्धी नीति एव सँगठन संरचना स्थापना र संचालन गर्ने। निजि क्षेत्रको लगानी आकर्षण गरी जलविद्युतको उत्पादन वृद्धि गर्ने। गण्डकी प्रदेश उज्यालो कार्यक्रमको पहुँच सवै घर परिवारमा पुर्याउने। सौर्य उर्जाको उत्पादन वृद्धि गरी लघु उद्यम, लिफ्ट, सिँचाई र खानेपानीमा प्रयोग गर्ने।वायोग्याँसको उत्पादन वृद्धि गर्ने र एल.पि ग्याँसलाई विद्युत र वायो ग्याँसले प्रतिस्थापन गर्ने। कृषि क्षेत्रका मुख्य प्राथमकिताहरुमा अनुसन्धान र नयाँ प्रविधिको विकास र प्रयोग गरी कृषि क्षेत्रको उत्पादकत्व र उत्पादन वृद्धि गर्ने।
मुख्यमन्त्री वातावरण मैत्री नमुना कृषि गाँउ कार्यक्रमको विस्तार तथा सुदृढिकरण गरी कृषिलाई पर्यटन, र गरिबी निवारण सँग जोड्ने। आलु,कफि, स्याउ, सुन्ताला, किवी, एभोगाडो र तरकारी खेतीको आधुनिकिकरण गरी आत्मनिर्भर हुने। खाद्यान्नको उत्पादन बृद्धि गर्ने, जग्गाको चक्लाबन्दी र करारखेती प्रर्बद्धन गर्ने प्रमुख हुन। उद्योग क्षेत्रका प्राथमिकताहरुमा ग्राहस्थ मागले नेतृत्व गरेको औद्योगिकरण गर्ने। ५१ स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने। कास्की र तनहुंको तल्लो पुडिटार र नवलपुरको लोकाहाखोलामा प्रदेशस्तरीय औद्योगिक क्षेत्रको स्थापना गर्ने। कृषि प्रशोधन, वन पैदावर र खनिजजन्य उद्योगको स्थापना गर्ने । महाविद्यालय र विश्वविद्यालयमा नवप्रवर्तन केन्द्र (Incubation Centre प्रबिधि कोरल्ने केन्द्र) स्थापना र सञ्चालन गर्ने र युवाहरुलाई शैक्षिक र गैरशैक्षिक उद्यमशिल शिक्षाको व्यवस्था गर्ने प्रमुख छन। भौतिक पूर्बाधार क्षेत्रमा प्रदेश राजधानी पोखराबाट स्थानीय तहका केन्द्र जोड्ने सडकको ट्रयाक खोल्ने, स्तरोन्नति गर्ने र कालोपत्रे गर्ने। भिमाद, डेडगाउँ, दुम्किवास, त्रिवेणी सडकको निर्माण गर्ने। ३६ निर्वाचन क्षेत्र पूर्वाधार सडक निर्माण गर्ने । पोखरा चक्रपथ र पोखरा वरिपरिका चारवटा सेटलाईट सहर जस्तै स्यांजाको पुतलिबजार, पर्बतको कुस्मा, तनहुँको सुक्लागण्डकी, र लमजुङको मध्यनेपाल जोडने दोस्रो रिङ्गरोड निर्माण आदि हुन। मानब संसाधनतर्फ गण्डकी विश्वविद्यालयको स्थापना र सञ्चालन गर्ने। गण्डकी प्राविधिक प्रतिष्ठानको स्थापना र सञ्चालन गर्ने। साधारण धारका माध्यमिक विद्यालय र महाविद्यालयलाई प्राविधिक धारमा रुपान्तरण गर्ने र माध्यमिक बिद्यालयमा बिज्ञान शिक्षा बिस्तार गर्ने। महाबिद्यालयमा नबप्रबर्तन केन्द्र खोल्ने। जिल्ला अस्पतालहरुको सुदृढीकरण गर्ने। विशिष्टीकृत अस्पतालहरु (महिला तथा वाल, मुटु, मृगौला र क्यान्सर) को स्थापना र सञ्चालन गर्ने। नेपाल सरकार र स्थानीय तहको सहकार्यमा आधारभूत स्वास्थ्य सेवाको पहुँच सवै नागरिकलाई पु¥याउने आदि प्रमुख छन। सुशासनतर्फ बिद्युतीय शासन प्रणालि प्रर्बद्धन गर्ने, भ्रष्टचार उन्मुलन गर्ने, र मानब अधिकारको प्रबद्धन गर्ने आदि प्रमुख छन।
सारमा समृद्धिको लागि गण्डकी प्रदेशका प्राथमिकताहरुमा प्रदेशमा संञ्चालन हुने सबै आर्थिक गतिबिधीको प्रदेश अर्थतन्त्रसंग अग्र र पृष्ट सम्बन्ध (Forward and backward linkages) बिकास गर्ने।प्रदेशलाई औद्योगिकरणमा लैजान आबश्यक पर्ने उर्जा प्रदेश भित्रै उत्पादन गर्ने। कृषिको आधुनिकिकरण गरी उच्च उत्पादन र उत्पादकत्व प्राप्त गर्ने। हाल स्थापना भएका र भबिष्यमा स्थापना हुने औद्योगिक ईकाईहरुको उत्पादन क्षमता र कार्यदक्षता बढाउने भौतिक पूर्बाधारको बिकास गर्ने । प्रबिधि कोरल्ने केन्द्र स्थापना गरी आबश्यक ज्ञान, प्रबिधि र नबबिचार हाँसिल गर्ने र बजारले माग गरेको प्राबिधिक तथा ब्याबसायीक जनशक्ति प्रदेश भित्रै उत्पादन गर्ने आदि हुन।
प्रदेश समृद्धिको नेतृत्व लिन युवालाई तयार गर्ने
प्रदेशलाई समृद्धिमा लैजाने महत्वपुर्ण कार्यको थालनि भएको छ। प्रदेश यस कार्यको निकट भबिष्यमा नेतृत्व गर्ने सृजनसिल युवाको पर्खाईमा रहेको छ। यो बर्गको ज्ञान, सीप, जाँगर र कार्यदक्षतामा प्रदेशको समृद्धि निर्भर रहन्छ। युवाको पहिचान बाल्यकाल वा किशोरअबस्थाबाट वयस्क मा परिणत हुने शारिरिक आधार र यिनीहरुका कृयाकलापको आधारमा गरिएको हुन्छ। अन्तराष्ट्रियस्तरमा युवाहरुको परिभाषा आंफ्नो सामाजिक, आर्थिक, साँस्कृतिक तथा राजनीतिक अवस्थाको आधारमा गरिएकोछ। संयुक्त राष्ट्र संघले १० देखि १९ वर्ष उमेर समूहकालाई किशोर किशोरी र १५ देखि २४ वर्षकालाई युवा भनी परिभाषित गरेकोछ। अन्तरास्ट्रियस्तरमा युवाहरुको परिभाषा आंफ्नो सामाजिक, आर्थिक, साँस्कृतिक तथा राजनीतिक अवस्थाको आधारमा गरिएकोछ । नेलालको राष्ट्रिय युवा नीति २०७२ ले १६–४० बर्ष उमेर समूहका महिला, पुरुष र तेस्रोलिङ्गीलाई युवा भनी परिभाषित गरेको छ ।उनीहरु राष्ट्रका कर्णधार हुन र राष्ट्र निर्माणका खम्बा हुन। युवाहरुमा अरुको तुलनामा धेरै शक्ति, सामर्थ्य र क्षमता हुन्छ र युवा उमेर जिउने कला र सिप सिक्ने बेला हो। नेपालमा युवालाई तरुण, युवक, नवयुवक जस्ता शब्द प्रयोग गरी सम्बोधन गरिन्छ । नेपालको संविधान २०७२ मा देशको विकासमा युवा जनशक्तिलाई परिचालन गर्न राज्यले विशेष नीति अवलम्वन गर्नेछ भन्ने उल्लेख भएअनुरुप युवाहरुमा आशा, उत्साह, राष्ट्रिय भावना, जिम्मेवारीबोध, सीप विकास, रोजगार तथा स्वरोजगारका उपयुक्त अवसर उपलब्ध गराई युवावर्गको क्षमतालाई विकासको मूलधारमा ल्याउन जरुरी भएको छ ।
संयुक्त राष्ट्र संघले युवा बिकासका चार चरणको ब्याख्या गरेको छ। कुनै पनि ब्याक्तिले निर्भरताको (बच्चा तथा किशोर किशोरी) अबस्थाबाट स्वतन्त्रताका (वयस्कता) मा प्रबेसगर्दा बिभिन्न चरणहरु पार गर्दछ: अभिभावकीय घर छोडेर नयाँ आंफ्नै घरमा बस्ने व्यवस्था गर्ने चरण। औपचारिक शिक्षा पूरा गर्ने चरण। परिवार बाहिर निकट ब्याक्तिसंग व्यक्तिगत सम्बन्ध बिकास गर्ने अक्सर गरी विवाह गर्ने र बच्चाहरु पाउने चरण । श्रम बजारमा आँफुलाई परीक्षण गर्ने, काम फेला पार्ने, क्यारियरमा प्रबेस गर्ने र दिगो जीविका प्राप्त गर्ने चरण। यसरी उमेरको आधारमा मात्र नभएर सामाजिक,आर्थिक, मनोबैज्ञानिक चेतना, ज्ञान र सिपको आधारमा युवाको पहिचान हुन नेपाली युवाहरुको माग रहेको छ। युवाका आबश्यकताका आधारमा राष्ट्रिय सोच र संस्कारको बिकास गर्न, स्थानीय श्रोत र साधनको उपयोग गरेर उनीहरुलाई जिउन सक्ने सीप र कला सिकाउने संयन्त्र बिकास गर्न, सर्पजस्तो घर्सने होईन भ्यागुतो जस्तो उफ्रने अर्थतन्त्रको निर्माण गर्न, ब्यक्तित्व विकास, नेतृत्व बिकास, युवा उद्यमशिलता, दिगो बिकास, सूचना प्रबिधि, पर्यटन, उर्जा, कृषि, उद्योग, भौतिक पूर्बाधार, सुशासन आदिको बिकासमा उनीहरुलाई संलग्न गराउन पनि उनीहरुको माग छ ।
युवाहरुले यो छैन वा उ छैन भनेर अरुलाई दोष दियर बस्ने, अभिभाबकलाई प्रबिधि र गृहस्थ अर्थतन्त्रले धान्न नसक्ने महत्वकांक्षी योजनामात्र प्रस्तुत गर्ने, अपरिपक्क भएर आक्रोस र आवेगलाई बढी महत्व दिने, उद्यमसिलता र सिर्जनाको कुरा नगरी आंफै दिग्भ्रमित र कुण्ठित हुने, आँफ्नो सिस्टम बनाउनु भन्दा बिकसित देशले बिकास गरेका सिस्टमसंग रमाउन खोज्ने, साना उत्पादनसिल कामलाई महत्व नदिने, आँफ्ना समस्याभित्र अबसरहरु नदेख्ने, कोईला भित्र हिरा पनि लुकेको हुन्छ र त्यस्तैगरी जुनसुकै बादलमा पनि चांदिको घेराहुन्छ भनेर नबुझने, र देशको यर्थात भन्दा काल्पनिक कुरामा रमाउने जस्ता युवाहरुमाथि लाग्ने आरोपबाट युवाहरु मुक्त हुन जरुरी छ। युवाहरु भन्ने बित्तिकै बिधिलाई स्वीकार गर्ने, काम गर्दा गलत होला की भनेर सतर्क हुने, आपसी बिश्वास र भातृत्वमा खुशी हुने, ब्यक्ति होइन सबै कुरा बिधिमा चल्नुपर्छ भन्ने बिश्वासको जगमा अडिने, अरुका पद्धति भन्दा आँफ्नै पद्धति बनाउन लाग्ने, जनताको मन छुने राम्रा काम गर्ने संकल्प बोकेको हुनुपर्दछ।
नेपालमा आजकल दोष र जिम्बेवारी अरुलाई पन्छाउने प्रबृति बढेको छ। पौडन नजानेर नदीमा डुब्यो भने पानीलाई दोष दिने, हिड्न नजानेर वा ढंग नपुगेर ठेस लाग्यो भने बाटो वा बाटोमा राखिएको ढुङगालाई दोष दिने, कार्यमा असफलता हात लाग्यो भने भाग्यलाई दोष दिने, बिकास निर्माण हुन सकेन भने राजनैतिक अस्थिरता लाई दोष दिने, अमेरिका वा युरोपको जस्तो बिकास भएन भनेर राजनैतिक दल र कर्मचारीलाई दोष दिएर आँफु पानी माथिको ओभानो हुने, देशको आँफ्नै पद्दति बनाउनु भन्दा अरुका पद्दति हेर्ने र त्यस्तै याहां भएन भनेर आलोचानमात्र गर्ने संस्कृति बिकसित भएको छ। अबका युवाहरुले यी बिकृतिलाई तोडदै जनताको दुःख र सुखमा असल नेता बनेर प्रदेश समृद्धिको नेतृत्व प्रदान गर्ने अब्बल नागरिकको भूमिका निर्बाह गर्नुपर्दछ।
सारमा अन्तराष्ट्रियस्तरमा युवाहरुको परिभाषा आंफ्नो सामाजिक, आर्थिक, साँस्कृतिक तथा राजनीतिक अवस्थाको आधारमा गरिएकोछ। संयुक्त राष्ट्र संघले १० देखि १९ वर्ष उमेर समूहकालाई किशोर किशोरी र १५ देखि २४ वर्षकालाई युवा भनी परिभाषित गरेकोछ। तथापी नेलालको राष्ट्रिय युवा नीति २०७२ ले १६–४० बर्ष उमेर समूहका महिला, पुरुष र तेस्रोलिङ्गीलाई युवा भनी परिभाषित गरेको छ। युवाहरुमा अरुको तुलनामा धेरै शक्ति, सामर्थ्य र क्षमता हुन्छ र यो उमेर जिउने कला र सिप सिक्ने बेला हो। युवाहरुमा आशा, उत्साह, राष्ट्रिय भावना र जिम्मेवारीबोध गराई जनताको दुःख र सुखमा असल नेता बनेर प्रदेश समृद्धिको नेतृत्व गर्ने अब्बल नागरिकको रुपमा बिकास हुनुपर्दछ।
समृद्धिको अनुभूती
प्रदेशमा आर्थिक कृयाकलाप बढन गई औद्योगिकरणले गति लिनेछ, नबप्रर्बतनले नयाँ प्रबिधि ल्याउनेछ, प्रदेश भित्र र बाहिरको आबद्धता सघन हुनेछ, हरेक ब्याक्ति सिप र जाँगरले युक्त भई उद्यममा लाग्नेछ, शिक्षा उद्योग र बजारसंग जोडिनेछ, अध्यन र अनुसन्धानले ल्यायको नयाँ प्रबिधि उद्योगसँग जोडिनेछ र प्रदेशले उच्च उत्पादन र उत्पादकत्व प्राप्त गर्नेछ । हाल बार्षिक ७.१ प्रतिशतमा रहेको आर्थिक बृद्धिदर बिसं २०८१ मा १०.२ प्रतिशत पुग्नेछ, बिसं २०८७ मा १०.५ प्रतिशत र बिसं २१०० मा ११.० प्रतिशत पुग्नेछ ।
प्रदेशका प्रत्येक नागरिकले अनुभूती गर्नेगरी प्रतिब्याक्ति आम्दानि बढनेछ। हाल प्रतिब्याक्ति आय १,०४३ अमेरिकी डलर बराबर रहेकोमा बिसं २०८१ मा १,९५६ डलर, बिसं २०८७ मा ३,७२१ डलर र बिसं २१०० मा १५,७२९ डलर पुग्नेछ । यो आम्दानि तल्लो आय भएका बिकसित मुलुक बराबरको आम्दानि हुनेछ र प्रदेशका प्रत्येक नागरिकले आर्थिक समृद्धिको अनुभूती गर्नेछन।
प्रदेश आर्थिक समृद्धिमा जाँदा हाल कृषि क्षेत्रको कुल ग्राहस्थ उत्पादनमा २८.२ प्रतिशत योगदान रहेकोमा बिसं २१०० मा ८.५ प्रतिशतमा झर्ने छ । त्यस्तैगरी उद्योग क्षेत्रको योगदान उल्लेख्य रुपमा बृद्धि भई हालको १४.२ प्रतिशतबाट बढेर ५२.९ प्रतिशत पुग्नेछ भने सेवा क्षेत्रको योगदान हालको ५७.६ प्रतिशतबाट घटेर बिसं २१०० मा ३८.६ प्रतिशतमा झर्नेछ। धनी र गरिब बिचको बिभेद न्युन हुनेछ । सबै घर परिवारका सदस्यले एउटै मापदण्डका खानाखान, उस्तै गुणस्तरका कपडा लगाउन, वालबच्चालाई एउटै गुणस्तरका बिद्यालयमा पढाउन, हिंडडुलको लागि आँफै गाडि चलाई जान सक्षम हुनेछन र समृद्ध नागरिकको अनुभूती गर्नेछन ।
समृद्धिका बिभिन्न आयामसंगै ब्याक्तिको अपेक्षित आयुमा उल्लेख्य बृद्धि हुनेछ। औषधी बिज्ञानको बिकासले कडा रोगहरुको पनि उपचार हुनेछ । झाडा पखाला र सरुवा रोग जस्ता रोगवाट हुने मृत्यु न्युन हुनेछ र ब्याक्ति जन्मंदाको अपेक्षित आयु हालको ७१.७ बर्षबाट बढेर बिसं २१०० मा ८२ बर्ष पुग्नेछ। हाल मातृमृत्युदर २३९ प्रतिखाल जबित जन्ममा रहेकोमा बिसं २१०० मा १५ मा झर्नेछ। पाँच बर्षमुनिका वालमृत्युदर हालको २७ प्रतिहजार जिबित जन्मबाट घटेर ६ मा झर्नेछ । प्रदेशका सबै नागरिक शाक्षर हुनेछन। सबै वालवालिका बिद्यालयमा हुनेछन। श्रमशक्ति सहभागिता दर बढेर हालको ३५.७ प्रतिशत वाट बिसं २१०० मा ७५ प्रतिशत पुग्नेछ । हाल ९ प्रतिशतमा रहेको पुर्ण बेरोजगारी दर घटेर १ प्रतिशतमा झर्नेछ। रोजगारिमा औपचारिक क्षेत्रको हिस्सा हालको ४० प्रतिशतवाट बढेर ७५ प्रतिशत पुग्नेछ ।
पूर्बाधार बिकासमा पनि उल्लेख्य प्रगति हुनेछ । हाल ९३७ किलोमिटर मात्र कालोपत्रे सडक रहेकोमा बिसं २१०० मा १२,९३७ किलोमिटर पुग्नेछ। सडकहरु चौडा, सफा र दायांबायां हरियालि सहितका हुनेछन। सुरुङ्ग प्रबिधिको बिकास भई घुमाउरा बाटाहरु सोझा हुनेछन। पहाडि धरातलमा पनि रेलमार्गको निर्माण हुनेछ र रेलमा यात्रा गर्ने हाम्रा सपना यर्थातमा बदलिने छन। सबै नागरिकको घरमा आधुनिक उर्जाको पँहुच पुग्नेछ । प्रति ब्याक्ति बिद्युत खपत हालको १९० किलोवाट घण्टाबाट बढेर बिसं २१०० मा ३,८०० किलोवाट घण्टा पुग्नेछ । बिद्युत उत्पादन हालको ४४८.५ मेघावाट बढेर बिसं २१०० मा ९,००० मेगावाट पुग्नेछ । सुद्ध खानेपानी, स्वास्थ उपचार, शिक्षा, बिद्युत, टेलिफोन, ईन्टरनेट र यातायात जस्ता आधारभूत सेवाहरुमा सबै नागरिकको सहज पँहुच हुनेछ। कृषि क्षेत्रको आधुनिकिकरण भई उच्च उत्पादकत्व प्राप्त हुनेछ र कृषि पनि नाफामुलक ब्याबसायमा रुपान्तरण हुनेछ। माथि उल्लेखित आर्थिक तथा भौतिक बिकासले हरेक ब्याक्तिमा समृद्धिको अनुभूती गराउने छन ।
सारमा प्रदेशमा आर्थिक कृयाकलाप बढन गई औद्योगिकरणले गति लिनेछ, नबप्रर्बतनले नयाँ प्रबिधि ल्याउनेछ, प्रदेश भित्र र बाहिरको आबद्धता सघन हुनेछ, हरेक ब्याक्ति सिप र जाँगरले युक्त भई उद्यममा लाग्नेछ, शिक्षा उद्योग र बजारसंग जोडिनेछ, अध्यन र अनुसन्धानले ल्यायको नयाँ प्रबिधि उद्योगसँग जोडिनेछ र प्रदेशले उच्च उत्पादन र उत्पादकत्व प्राप्त गर्नेछ । प्रदेशका सबै घर परिवारका सदस्यले एउटै मापदण्डका खानाखान, उस्तै गुणस्तरका कपडा लगाउन, वालबच्चालाई एउटै गुणस्तरका बिद्यालयमा पढाउन, हिंडडुलको लागि आँफै गाडि चलाई जान सक्षम हुनेछन र हालका बिकसित देशका नागरिक सरह समृद्ध नागरिकको अनुभूती गर्नेछन ।
सुखको अनुभूती
सबै नागिरकको लागि चाहिने आधारभूत सेवाहरु जस्तै: गास, बास, कपास, शिक्षा, स्वास्थ, सुरक्षा, पोषण, सरसफाई, खानेपानी, बिद्युत, टेलिफोन, ईन्टरनेट, यातायात आदिको ब्यबस्था हुनेछ। निरपेक्ष गरिबी, मानब गरिबी र बहुआयमिक गरिबी सुन्य बिन्दुमा झर्नेछन। वालवालिका, महिला, तथा जेष्ट नागरिकमा रहेको कुपोषणको अन्त हुनेछ। आँफ्नै स्वमित्वको आबासमा बस्ने नागिरकको संख्या उल्लेख्य बृद्धि हुनेछ। वालवालिका दुब्ला, ख्याउटे र पुडका हुनेछैनन। महिला, वालवालिका र जेष्ट नागरिकले भोगेका हिंसा न्युन हुनेछन। सबै नागिरक स्वास्थ बिमा र सामाजिक सुरक्षा भित्र सामेल हुनेछन। सबै नगारिकले खाद्य सुरक्षा, मानब अधिकार, वाक स्वतन्त्रता, हिंडड्लको स्वतन्त्रता र स्वच्छ वातावरणको उपलब्धता महसुस गरी सुखको अनुभूती गर्नेछन ।
सारमा प्रदेशका सबै नागिरकको लागि चाहिने आधारभूत सेवाहरु जस्तै: गास, बास, कपास, शिक्षा, स्वास्थ, सुरक्षा, पोषण, सरसफाई, खानेपानी, बिद्युत, टेलिफोन, ईन्टरनेट, यातायात आदिको ब्यबस्था हुनेछ। सबै नगारिकले खाद्य सुरक्षा, मानब अधिकार, वाक स्वतन्त्रता, हिंडड्लको स्वतन्त्रता र स्वच्छ वातावरणको उपलब्धता महसुस गरी सुखको अनुभूती गर्नेछन ।
निष्कर्ष
समृद्धि एक उन्नत अबस्था हो जहां बुद्धि र बिवेकको उच्चतम अभ्यास भएको हुन्छ, सबैलाइ रोजगार उपलब्ध हुन्छ, हरेक ब्याक्तिले आंफनो आत्मसम्मान महसुस गरेको हुन्छ र अनुसन्धानले नयां प्रबिधी सृजना गरी जनतालाइ धनी र सुखी बनाएको हुन्छ ।
समृद्धि मानिसको बुद्धि, सृजना, मेहनत, काम र उत्पादनको उपज हो र हरेक नागरिकले प्राप्त गरेको ज्ञानलाई सिपमा बदल्ने, सिपलाई रोजगारमा बदल्ने, रोजगारलाई उत्पादनमा बदल्ने, उत्पादन बाट आउने लाभांस मानब कल्याण र नबप्रर्बतनमा लगाउने र उत्पादन प्रकृयालाई निरन्तर अद्याबधिक गरी परिस्कृत गर्नु समृद्धि प्राप्त गर्ने उत्तम माध्यम हो।
गण्डकी प्रदेशमा बिसं २१०० सम्ममा सर्बसुलभ आधुनिक पूर्बाधार एबंम अन्तर आबद्धता बिकास भएको हुनेछ, मानबपुंजि निर्माण तथा संभाब्यताको पूर्ण उपयोग हुनेछ, उच्च र दिगो उत्पादन तथा उत्पादकत्व प्राप्त भएको हुनेछ, उच्च र समतामुलक आय हांसिल भएको हुनेछ, नागरिकको परिष्कृत तथा मर्यादित जिबन हुनेछ, सुरक्षित, सभ्य र न्यायापुर्ण समाजको निर्माण हुनेछ, स्वास्थ र सन्तुलित पर्यावरण कायम हुनेछ, अशल सुशासन कायम हुनेछ, राष्ट्रिय र प्रादेसिक एकता, सुरक्षा र सम्मान सुद्दढ भई समृद्धि र सुख प्राप्त हुनेछ।
गणडकी प्रदेशको समृद्धिको लागि सात मुख्य संबाहकहरु (Seven Key Drivers of Prosperity) पहिचान गरिएका छन जस्तै: पर्यटन, उर्जा, कृषि, उद्योग, भौतिक पूर्बाधार, मानब संसाधन र सुशासन तथा समृद्धिका मुख्य पाँच सहयोगिहरु क्षेत्रहरु (Five Key Enablers of Prosperity) जस्तै: प्राकृतिक सौन्दर्य, जैबिक बिबिधता, सामाजिक बिबिधता बिच एकता, साँस्कृतिक सम्पन्नता र सहअस्तित्व र जनसांख्यिक लाभ पहिचान भएका छन। यी क्षेत्रमा लगानि बृद्धि र आधुनिकिकरण गरी प्रदेश अर्थतन्त्रमा अग्र र पृष्ट सम्बन्ध बिस्तार मार्फत उत्पादनमुखि प्रदेश अर्थतन्त्र निर्माण गर्ने साधनको रुपमा बिकास गरिनेछ।
प्रदेशमा सन्तुलित बिकास गरी समृद्धि प्राप्त गर्न प्रदेशका ७५९ वडा केन्द्र गाउंस्तरका बिकास बिन्दुको रुपमा बिकास हुनेछन, ८४ स्थानीयतहका प्रशासनिक केन्द्र पालिकास्तरका बिकास केन्द्रको रुपमा बिकास हुनेछन, ११ जिल्ला सदरमुकाम जिल्लास्तरका बिकास केन्द्रको रुपमा बिकास हुनेछन र प्रदेश राजधानी पोखरा प्रदेशस्तरको बिकास केन्द्रको रुपमा बिकास हुनेछ।यी बिकास बिन्दु तथा बिकास केन्द्रले आंफ्नो प्रभाबक्षेत्र (Sphere of Influence) भित्र आर्थिक तथा प्रशासनिक सेवाहरु उपलब्ध गराई समृद्धिमा सघाउनेछन।
गण्डकी प्रदेशको बिकास र समृद्धिको लागि सडक यातायातसँग आबद्ध गर्दै आठ वटा विकास अक्ष (Growth Axis ) विकास हुनेछन्। विकास अक्षमा समानान्तर हुने गरी विद्युतका ट्रान्समिसन लाइन, टेलिफोन लाइन, इन्टरनेट लाइन विस्तार हुनेछन्। सडकको दायाँ बायाँमा होटेल, रेस्टुंराँ, विद्यायल, महाविद्यालय, ब्यापारिक भवन, मझौला खाले उद्योग आदिको विकास हुनेछ। यी सडक मार्गको दुबैतर्फ बस्तीहरूको विकास भई ब्यवस्थित शहरीकरण हुनेछ। आगामी २५ बर्षमा प्रदेशको करिब ७० देखि ८० प्रतिशत जनसंख्या यीनै बिकास अक्षको वरीपरी केन्द्रित हुनेछ।
आत्मनिर्भर तथा स्वाधिन अर्थतन्त्र भनेको एक स्वतन्त्र अर्थतन्त्र हो जुन अरूमा निर्भर हुँदैन, आँफ्नै जगमा खडा हुन्छ, आँफ्नै जनता र स्रोतबाट संञ्चालित हुन्छ र आँफ्नै सेवा गर्दछ । समृद्ध प्रदेश बनाउन ग्राहस्थमागले नेतृत्व गरेको औद्योगिरकण (Domestic demand led industrialization) गर्नुपर्दछ। अरुले उत्पादन गरेका सामान आयात गर्दा उठेको भन्सार राजस्वले सरकार चलाउने र आयतीत सामान बेची आएको कमिसनले ब्याबसाय र घर गृहस्थ चलाउने बर्तमान कमिसनमुखि अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा रुपान्तरण गरी प्रदेशलाई समृद्धिको मार्गमा लैजाने उत्तम उपाय हो ।
ब्रेन ड्रैन वा ज्ञानको पलायन भनेको कुनै ब्याक्ति वा समुह ज्ञानसहित एक ठांउ बाट आर्को ठांउमा बसाई सराई गर्नु हो । ब्रेन रिगेन वा ज्ञानको पुन प्राप्ति भनेको बिदेशमा गएका हाम्रा नागरिकले बिदेशमा सिकेको ज्ञान, सिप र कमाएको पुंजि सहित प्रदेशमा पुन आगमन गर्नु हो। बिदेशमा बसेका हाम्रा नागरिकलाई उपयुक्त अबसर दिई उनीहरुले बिदेशमा सिकेको सिप र कमाएको पुँजि प्रदेशमा लगानी गर्ने वातावरण निर्माण गर्नु पनि प्रदेशलाई समृद्धितर्फ डोर्याउने आर्को एक उत्तम माध्यम हो ।
अन्तराष्ट्रियस्तरमा युवाहरुको परिभाषा आंफ्नो सामाजिक, आर्थिक, साँस्कृतिक तथा राजनीतिक अवस्थाको आधारमा गरिएकोछ। संयुक्त राष्ट्र संघले १० देखि १९ वर्ष उमेर समूहकालाई किशोर किशोरी र १५ देखि २४ वर्षकालाई युवा भनी परिभाषित गरेकोछ। तथापी नेलालको राष्ट्रिय युवा नीति २०७२ ले १६–४० बर्ष उमेर समूहका महिला, पुरुष र तेस्रोलिङ्गीलाई युवा भनी परिभाषित गरेको छ। युवाहरुमा अरुको तुलनामा धेरै शक्ति, सामर्थ्य र क्षमता हुन्छ र यो उमेर जिउने कला र सिप सिक्ने बेला हो। युवाहरुमा आशा, उत्साह, राष्ट्रिय भावना र जिम्मेवारीबोध गराई जनताको दुःख र सुखमा असल नेता बनेर प्रदेश समृद्धिको नेतृत्व प्रदान गर्ने अब्बल नागरिकको रुपमा बिकास गरिनेछ।
माथि उल्लेखित रणनीति, कार्यनीति र कार्यक्रमले प्रदेशमा आर्थिक कृयाकलाप बढन गई औद्योगिकरणले गति लिनेछ, नबप्रर्बतनले नयाँ प्रबिधि ल्याउनेछ, प्रदेश भित्र र बाहिरको आबद्धता सघन हुनेछ, हरेक ब्याक्ति सिप र जाँगरले युक्त भई उद्यममा लाग्नेछ, शिक्षा उद्योग र बजारसंग जोडिनेछ, अध्ययन र अनुसन्धानले ल्यायको नयाँ प्रबिधि उद्योगसँग जोडिनेछ र प्रदेशले उच्च उत्पादन र उत्पादकत्व प्राप्त गर्नेछ। प्रदेशका सबै घर परिवारका सदस्यले एउटै मापदण्डका खानाखान, उस्तै गुणस्तरका कपडा लगाउन, वालबच्चालाई एउटै गुणस्तरका बिद्यालयमा पढाउन, हिंडडुलको लागि आँफै गाडि चलाई जान सक्षम हुनेछन र हालका बिकसित देशका नागरिक सरह समृद्ध नागरिकको अनुभूती गर्नेछन।
प्रदेशका सबै नागिरकको लागि चाहिने आधारभूत सेवाहरु जस्तै: गास, बास, कपास, शिक्षा, स्वास्थ, सुरक्षा, पोषण, सरसफाई, खानेपानी, बिद्युत, टेलिफोन, ईन्टरनेट, यातायात आदिको ब्यबस्था हुनेछ। सबै नगारिकले खाद्य सुरक्षा, मानब अधिकार, वाक स्वतन्त्रता, हिंडड्लको स्वतन्त्रता र स्वच्छ वातावरणको उपलब्धता महसुस गर्नेछन् ।
(डा. गिरीधरी पौडेल, गण्डकी प्रदेश, नीति तथा याेजना आयाेगका निवर्तमान उपाध्यक्ष हुनुहुन्छ ।)
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.