इटालीका जियानलुइजी युरोकपको सर्वोत्कृष्ट खेलाडी घोषित

काठमाडौं, २८ असार : इटालीका गोलकिपर जियानलुइजी डोनारुम्मा १६ औं संस्करणको युरोकप फुटबलको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्  ।

इटालीलाई युरोकप दिलाउन उत्कृष्ट प्रदर्शन गरेका जियानलुइजी प्लेयर अफ दि टुर्नामेन्ट चुनिएका हुन् ।

जियानलुइजी युरोकपमा प्लेयर अफ दि टुर्नामेन्ट अवार्ड प्राप्त गर्ने पहिलो गोलकिपर बनेका छन् ।

आइतबार राति भएको फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटालीले दोस्रो पटक युरोकपको उपाधि जितेको हो ।

फाइनलमा उनले दुई पेनाल्टी प्रहार समेत रोकेका थिए । स्पेनविरुद्धको सेमिफाइनलमा पनि उनी नायक बनेका थिए ।

जियानलुइजीले युरोमा ७ सय १९ मिनेट खेल्दै ३ क्लिन सिट निकालेका थिए । उनले प्रतियोगितामा ४ गोल व्यहोर्दा ९ पटक गोल बचाउ गरेका थिए ।

रोनाल्डोलाई गोल्डेन बुट अवार्ड

पोर्चुगलका कप्तान तथा फरवार्ड क्रिस्टियानो रोनाल्डोले १६ औं संस्करणको युरोकप फुटबलमा गोल्डेन बुट अवार्ड जितेका छन् ।

आइतबार सम्पन्न युरोकपको सर्वाधिक गोलकर्ता बन्दै रोनाल्डोले गोल्डेन बुट अवार्ड जितेका हुन् ।

 

गोल्डेन बुट जित्ने क्रममा रोनाल्डोले ४ खेलमा ५ गोल गरे । उनले १ असिस्ट समेत गरे ।

चार संस्करणको युरोकप खेलेको रोनाल्डोले पहिलो पटक गोल्डेन बुट जितेका हुन् ।

चेक रिपब्लिकका प्याट्रिक शिकलाई पछि पार्दै रोनाल्डोले यस अवार्ड जितेका हुन् । प्याट्रिकले ५ खेलमा ५ गोल गरेका थिए ।

पेड्री उत्कृष्ट युवा खेलाडी

स्पेनका मिडफिल्डर पेड्री १६ औं संस्करणको युरोकप फुटबलको उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् ।

आइतबार सम्पन्न युरोकपमा उत्कृष्ट प्रदर्शन गरेका पेड्री योङ प्लेयर अफ दि टुर्नामेन्ट बनेका हुन् ।

प्रतियोगितामा उनले ६ खेल खेलेका थिए । तर, स्पेन सेमिफाइनलमा इटालीसँग पराजित हुँदै बाहिरिएको थियो ।

१८ वर्षीय पेड्री यो अवार्ड पाउने दोस्रो खेलाडी हुन् ।

२०१६ मा पोर्चुगलका रेनेटो सान्चेजले यस अवार्ड जितेका थिए ।

युरोकपको उपाधि भने इटालीले जितेको छ । फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटालीले दोस्रो पटक उपाधि जितेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.