युरो कप : उपाधिका लागि इंग्ल्यान्ड र इटाली भिड्दै

काठमाडौं, २७ असार : युरोकप फुटबलको फाइनल खेल आज (आइतबार) राति हुँदैछ ।

वेम्बली स्टेडियमा हुने फाइनलमा इंग्ल्यान्ड र इटाली प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल राति १२:४५ बजे सुरु हुनेछ ।

इंग्ल्यान्ड पहिलो पटक युरोकपको फाइनल खेल्न लागेको हो । एक पटकको च्याम्पियन इटाली भने चौंथो पटक फाइनल खेल्न लागेको हो ।

इंग्ल्यान्ड र इटाली दुबै टोली यस पटक उपाधि जित्ने लक्ष्यमा रहेका छन् । दुबै टोलीका मुख्य प्रशिक्षक उपाधि जित्न तयार रहेको बताउँछन् ।

Image

इटालीका मुख्य प्रशिक्षक रोबर्टो मान्सिनीले यस उपाधिका लागि लामो समयबाट काम गरिरहेको बताए ।

‘हामीले धेरै वर्षदेखि यसका लागि काम गरिरहेका छौँ । त्यसैले हामी धेरै खुसी छौं र खेलाडीहरूलाई यस कामका लागि धन्यवाद दिन चाहन्छु,’ मान्सिसीले भनेका छन्, ‘हामीले अहिलेसम्म केही जितेनौं । हामीले आइतबार जित्नु पर्नेछ ।’

इटाली  तीन पटकको च्याम्पियन स्पेनलाई हराउँदै उपाधि नजिक पुगेको हो  । पहिलो सेमिफाइनलमा इटालीले स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गरेको थियो  ।

यस्तै मान्सिसीले घरेलु टिमसँग खेल्नु पर्ने हुँदा फाइनलमा ध्यान दिएर खेल्ने बताए ।

‘इंग्ल्यान्डको पछाडी पुरै स्टेडियम हुनेछ । उनीहरुले हामीलाई दबाबमा राख्ने छन् । फाइनल खेल अन्य खेल भन्दा फरक हुन्छ । हामीले ध्यान दिएर खेल्नु पर्छ,’ उनले भने ।

Image

इटालीको यो मुख्य प्रतियोगितामा १० औं फाइनल यात्रा हो । यस अघि इटालीले विश्वकपमा ६ र युरोमा ४ पटक फाइनल खेलिसकेको छ ।

इंग्ल्यान्डले डेनमार्कलाई पराजित गर्दै इटालीसँगको भेट पक्का गरेको हो  । रोमान्चक खेलमा इंग्ल्यान्डले डेनमार्कलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गरेको थियो  ।

इंग्ल्यान्डका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेट इटालीको अवरोध हटाएर इतिहास रच्ने योजनामा छन् ।

‘हामी फाइनलमा छौँ भन्ने तथ्यलाई हामीले रमाइलो गर्यौं । तर, हामीलाई अर्को एक ठुलो अवरोध छ । इटाली उत्कृष्ट टिम हो । पछिल्लो दुई वर्ष उनीहरु उत्कृष्ट लयमा देखिएका छन्,’ प्रशिक्षक साउथगेट भन्छन्, ‘ठुलो खेलमा लागि हेरिरहेको छु ।’

इंग्ल्यान्ड युरोकपको फाइनल खेल्ने १३ औं राष्ट्र हो । इंग्ल्यान्ड सन् १९६६ पछि पहिलो पटक मुख्य प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

इंग्ल्यान्ड र इटालीबीच हालसम्म २७ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा इटाली हाबी हुँदै आईरहेको छ ।

इंग्ल्यान्डविरुद्ध इटालीले ११ खेल जितेको छ । इंग्ल्यान्डले भने ८ खेलमा जित निकालेको छ । दुई टिमबीचको ८ खेल बराबरीमा सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.