डेनमार्कलाई हराउँदै इंग्ल्यान्ड पहिलो पटक युरोकपको फाइनलमा

काठमाडौं, २४ असार : डेनमार्कलाई पराजित गर्दै इंग्ल्यान्ड १६ औं संस्करणको युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति डेनमार्कलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड उपाधि नजिक पुगेको हो ।

यससँगै इंग्ल्यान्ड पहिलो पटक युरोपियन च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदान वेम्बली स्टेडियममा इंग्ल्यान्डले सुरुवाती एक गोलको अग्रता उल्टाएर जित निकालेको हो ।

इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केनले एक गोल गरे । इंग्ल्यान्डले एक गोल आत्मघाती उपहार पाएको थियो ।

डेनमार्कका मिकेल डाम्सगार्डले एक गोल गरे ।

रोमान्चक बनेको खेलमा सुरुवाती अग्रता डेनमार्कले बनाएको थियो । ३० औं मिनेटमा युवा खेलाडी डाम्सगार्डले फ्रिकिकबाट गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए ।

बक्सको ठिक बाहिरबाट २१ वर्षीय डाम्सगार्डले फ्रिकिकबाट उत्कृष्ट गोल गरेका थिए ।

Image

तर, खेलको ३९ औं मिनेटमा डेनमार्कका कप्तान सिमोनले आत्मघाती गोल गरेपछि खेल १-१ को बराबरीमा पुग्यो । इंग्ल्यान्डका बुकायो साकाको क्रसमा उनले आफ्नै पोस्टमा गोल गरेका थिए ।

दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयको १ सय ४ औं मिनेटमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई २-१ को जित दिलाए । उनले आफैले हानेको पेनाल्टीको रिबाउन्डमा गोल गरेका हुन् ।

रहिम स्ट्रर्लिङलाई जोकिम माहेलले पेनाल्टी बक्स भित्र फउल गर्दै लडाएपछि इंग्ल्यान्डले भीएआरको सहायताबाट पेनाल्टीको अवसर पाएको थियो  । जसमा केनको पेनाल्टी प्रहार डेनमार्कका गोलकिपर कास्परले रोकेका थिए । तर, रिबाउन्डमा आएको बलमा केनले सहजै गोल गरे ।

इंग्ल्यान्ड सन् १९६६ पछि पहिलो पटक मुख्य प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

अब इंग्ल्यान्डले फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल आइतबार राति वेम्बली स्टेडियममा हुनेछ  ।

इटाली पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराएर फाइनल प्रवेश गरिसकेको छ ।

यस अघि  इंग्ल्यान्डले क्वाटरफाइनलमा युक्रेनमाथि ४-० गोलको सानदार जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो ।   डेनमार्क क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २-१ गोल अन्तरले हराएर सेमिफाइनलमा स्थान बनाएको हो ।

Image

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.