चैते धानतर्फ किसान आकर्षित

मेनका चौधरी । बाँके, १ असार : बाँकेका बैजानाथ गाउँपालिका—८ झिंगौराका किसान अजितकुमार सुनार यस वर्षको परीक्षणमा पहिला पटक चैते धान फलाउन सफल भएका छन् । बर्षे धानभन्दा उत्पादनमा दोब्बर वृद्धि भएको अन्य किसानहरूबाट सुनेपछि सुनारले पनि चैते धान लगाएका हुन् ।उत्पादन राम्रो भएपछि अर्को वर्षदेखि थप जमीनमा पनि चैते धान रोप्ने उनले सोच बनाएका छन् । कृषि ज्ञान केन्द्र बाँकेले किसान उनलाई प्रोत्साहन गर्न यो वर्ष चैते १ जातको धान बिउ उपलब्ध गराएको थियो । पश्चिम तराईको बाँके र बर्दिया जिल्लालाई अन्नको भण्डार भनेर चिनिँदै आएको छ । बर्दियाका किसानले एक दशकदेखि नै चैते धान लगाउँदै आएका छन् । यस वर्ष बाँकेका किसानले पनि चैते धान फलाउन सफल भएका छन् ।

सिक्टा सिँचाइ आयोजनाअन्तर्गत नहरमा पानी आउन थालेपछि चैते धान लगाउन किसान उत्साही भएका हुन् । नहरमा बाह्रै महिना पानी आउन थालेपछि किसानलाई कृषि ज्ञान केन्द्र बाँकेले मल र धानको बिउ उपलब्ध गराएको थियो ।

यस्तै कोहलपुर नगरपालिका १५ चौधरिया गाउँका किसान ज्ञानबहादुर नेपालले पनि ११ कट्ठा जमीनमा चैते लगाएका छन् । किसान नेपालले असार पहिलो हप्तासम्म चैते धान थन्क्याएर बर्खे धान लगाउने तयारी गरेको बताए । परीक्षणका रूपमा उनले हल्दीनाथ ३ र चैते धान ५ नामक धानको बिउ रोपेका हुन् ।

लामो समयदेखि कृषि पेसामा आबद्ध नेपालले सिक्टा सिँचाइको नहर घर नजिकै पुगेपछि चैते धानको खेती लगाउनु भएको हो । एक वर्षमै शुरुमा बर्खे धान, त्यसपछि हिउँदमा मसुरो र चैतमा चैते धान खेती गरेको नेपालले बताए । सिँचाइ सुविधा पुगेपछि अन्य खेतीपाती पनि राम्रो हुन थालेको उनको भनाइ छ ।

धान लगाउनका लागि ज्ञान केन्द्रले किसानलाई निःशुल्क परामर्श र मल, बिउसमेत उपलब्ध गराएको केन्द्रका अधिकृत दिनेश भट्टराईले बताए । अर्को वर्ष थप किसानलाई चैते धान रोपाइँको कार्यक्रम ल्याउने उनले जानकारी दिए । बाँकेमा चैते धान फल्ने खेतमा गहुँ, मकै र तरकारीको खेती गर्ने चलन छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.