नेप्से ३ हजार अङ्कको कीर्तिमान, झण्डै १९ अर्बको कारोबार

काठमाडौं, ३१ जेठ : सेयर बजार परिसूचक नेप्सेले तीन हजार अङ्कको कीर्तिमानी विन्दु पार गरेको छ । सातको दोस्रो सोमबार नेप्से ४२ दशमलव ७२ अङ्कले बढेर तीन हजार २५ दशमलव ८३ विन्दुमा पुगेको हो ।

​नेपाली सेयर बजारको इतिहासमा नेप्से पहिलो पटक तीन हजारको विन्दुमा पुगेको हो । यो दिन झन्डै १९ अर्ब रुपैयाँको कारोबार भएको छ । आइतबार १९ अर्ब ५५ करोड रुपैयाँको कारोबार भएकोमा आज दुई सय २१ कम्पनीका तीन करोड ५० लाख कित्ता सेयर १८ अर्ब ८८ करोड रुपैयाँको कारोबार भएको छ ।

आज बैंकिङ समूहको शेयर साढे ५२ अङ्कले, होटलको एक सय ५८, फाइनान्सको २५, जीवन बीमा समूहको ८१ र निर्जीवन बीमा समूहको तीन सय सात अङ्कले बढेको छ । व्यापार, विकास बैंक, जलविद्युत्, माइक्रोफाइनान्स, अन्य र म्युचल फन्ड समूहको शेयर भने घटेको छ ।

सबैभन्दा धेरै अरुण भ्याली हाइड्रो कम्पनीको ६२ करोड रुपैयाँको सेयर किनबेच भएको छ । नेप्से कीर्तिमानी विन्दुमा पुगेको दिन आज १२ वटा कम्पनीको शेयर मूल्य झन्डै १० प्रतिशतले बढेको छ । तर समग्र बजार बढे पनि माउन्टेन हाइड्रो कम्पनीको शेयर सबैभन्दा धेरै पाँच प्रतिशतले घटेको छ ।

लामो समयदेखि सुस्त रहेको वाणिज्य बैंक समूहमा विस्तारै लगानीकर्ताको आकर्षण देखिन थालेको हो । सोमबार अधिकांश वाणिज्य बैंकको सेयर मूल्य बढेको छ । मूल्य सामान्य हिसाबले मात्र बढेको भए पनि यस समूहका कम्पनीहरुको खरिदबिक्री कित्ता राम्रो छ ।

यतिबेला औसतमा सबैभन्दा सस्तो मूल्य वाणिज्य बैंकहरुकै रहेको देखिन्छ। सबल वित्तीय सूचक, सक्षम नियमन भएको क्षेत्र भए पनि वाणिज्य बैंकहरुको बजार मूल्य भने निकै तल छ । अहिले सबैभन्दा सुरक्षित लगानीको क्षेत्र पनि बैंक नै मानिएको छ ।

सोही विश्लेषणका आधारमा आम लगानीकर्ताहरु विस्तारै बैंकतिर आकर्षित हुने अनुमान गरिएको छ । सस्तो ब्याजदर, बैंकमा सहज तरलता अनि आम लगानीकर्ताको मनोविज्ञान सकारात्मक बन्दा नेप्सेले नयाँ–नयाँ उचाइहरु बनाउन सकेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.