मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरूङकाे पनि दाबी, विपक्षी गठबन्धनको धर्ना

पोखरा, २९ जेठ : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेश गरेका छन् । २७ गते विश्वासकाे मत नपाएका गुरूङले अहिले फेरि दाबी गरेका हुन् ।

उनले जनता समाजवादी पार्टी (जसपा)को प्रदेश कमिटी र पदमुक्त भइसकेका राष्ट्रिय जनमाेर्चाका कृष्ण थापाको समर्थनमा दाबी पेश गरेका हुन् ।

गुरूङले जनमाेर्चाकाे कृष्ण थापाकाे पत्र र जसपाको महन्थ ठाकुर पक्षको पत्रसहित दाबी गरेका छन् । तर, जनता समाजवादीका सांसदहरूले भने आफूहरूको समर्थन विपक्षीलाई रहेको बताइरहेका छन् । बाबुराम भट्टराई निकट ती सांसदहरूले आफूहरूले हिजै विपक्षीलाई साथ दिन भन्दै हस्ताक्षरसमेत गरिसकेको बताए ।

यसअघि शुक्रबार विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले ३१ प्रदेशसभा सदस्यको उपस्थितिमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

जेष्ठ २७ गते प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएपछि वैकल्पिक सरकार गठनका लागि प्रदेश प्रमुख पौडेलले आज तीन बजेसम्मको समय दिएकी थिइन् ।

गठबन्धनले हिजो नै मुख्यमन्त्री नियुक्त गर्न आग्रह गरे पनि प्रदेश प्रमुख पौडेलले तोकिएको समय सीमासम्म अध्ययन गर्ने बताएकी थिइन् ।

गण्डकी प्रदेश प्रमुखको कार्यालयमा विपक्षी गठबन्धनको धर्ना

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको मुख्यमन्त्री दाबीमा समर्थन गरेका गण्डकी प्रदेशका बहुमत प्रदेशसभा सदस्यहरुले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका छन् ।

नेकपा एमाले संसदीय दलका नेता एवं कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नक्कली दाबी पेश गरेको भन्दै विपक्षी गठबन्धनका प्रदेशसभा सदस्यहरुले आपत्ति जनाएका छन् । गुरुङले जनता समाजवादी पार्टी (जसपा)को प्रदेश कमिटी र र प्रदेशसभा सदस्यबाट पदमुक्त भइसकेका राष्ट्रिय जनेमार्चाका कृष्ण थापाको समर्थनमा दाबी पेश गरेका थिए ।

मुख्यमन्त्रीमा नियुक्तिको पर्खाइमा रहेका विपक्षी सांसदहरु पृथ्वीसुब्बा गुरुङको दाबी परेको सुन्नासाथ प्रदेश प्रमुख कार्यालय आइपुगे । उनीहरुले जसपा संसदीय दल र दुवै सांसदको समर्थन नेपालीलाई रहेको भन्दै गुरुङले पेश गरेकोे दाबी नक्कली भएको बताए । जनमोर्चाकी सचेतक पियारी थापाले पनि पार्टी साधारण सदस्य समेत नरहेका र सांसदबाट पदमुक्त भइसकेकाले कृष्ण थापाको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्नु संवैधानिक अपराध भएको बताएकी छन् ।

कांग्रेस प्रदेशसभा सदस्य कुमार खड्काले बहुमतलाई स्वीकार नगर्ने हो भने निषेधाज्ञा तोडेर प्रतिगमनविरुद्ध राजनीतिक आन्दोलन गर्ने र अदालत पनि जाने चेतावनी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.