नेपालको इन्टरनेट बजारमा सिजीको प्रवेशसंगैं नयाँ तरङ्ग

काठमाडौं, २९ जेठ : सिजी इन्टरनेटले बजार मूल्यभन्दा आधा सस्तोमा दोब्बर स्पिडको इन्टरनेट दिन सुरु गरेसँगै नेपालको इन्टरनेट बजारमा नयाँ तरङ्ग उत्पन्न भएको छ । सिजी नेटको इन्ट्रीसँगै सेवाप्रदायकहरु स्पिड बढाउने र मूल्य घटाउने होडमा देखिएका हुन् ।

त्यसो गत पछिल्ला केही महिनादेखि सस्तो मूल्यमा सिजी नेट बजारमा आउने चर्चा चल्न थालेको थियो । त्यससँगै इन्टरनेट सेवाप्रदायकहरुले एकपछि अर्को आकर्षक प्याकेजहरु सार्वजनिक गर्न थाले ।

वर्ल्डलिङ्कले ७९९ रुपैयाँमा आईपीटिभीसहित सस्तो इन्टरनेट प्याकेज बजारमा ल्यायो । लगत्तै क्लासिक टेकले त्यसलाई काउन्टर दिँदै ७९९ रुपैयाँमै २० एमबीपीएस इन्टरनेटसहित आईपी टिभी सार्वजनिक गर्‍यो । त्यस्तै भायनेटले नेपालमै पहिलो पटक १०० एमबीपीएस गतिको इन्टरनेट (तीन वटा भायटिभी सहितको वार्षिक प्याकेज २१ हजार ६०० रुपैयाँमा) अफर सार्वजनिक गर्‍यो ।

उसले ६० एमबीपीएस प्याकेजलाई सोही मूल्यमा १०० एमबीपीएस पुर्‍यायो । त्यसलाई समेत काउन्टर दिन क्लासिक टेकले सोही अनुसारको प्याकेज १८०० रुपैयाँमा उपलब्ध घोषणा गर्‍यो ।

बजारमा आफूलाई अब्बल देखाउने सिजीले भने एक कदम अगाडि बढ्दै गएको १८ जेठमा चल्तिको मूल्यभन्दा आधा सस्तोमा थप स्पिड सहित १२० एमबीपीएस गतिको इन्टरनेट ल्यायो । सिजीको इन्ट्रीसँगै इन्टरनेट बजारले नयाँ दिशा समातेको छ ।

अब सेवाप्रदायकहरु सस्तो मूल्यमा कम स्पिडको इन्टरनेटको ठाउँमा कम मूल्यमा बढी स्पिड दिने प्रतिस्पर्धामा देखिएका छन् । मासिक ६०० रुपैयाँमा डिशहोम टिभी प्रयोग गरिरहेका ग्राहकका लागि भन्दै डिशहोमले १० एमबीपीएस इन्टरनेट निःशुल्क गरेको छ भने मासिक २३३ रुपैयाँमा ३० एमबीपीएस इन्टरनेट अफर गरिरहेको छ ।

यति मात्र होइन, डिशहोम फाइबर नेटले अब २०० एमबीपीएस गतिको इन्टरनेट ल्याउने घोषणा गर्न समेत भ्याइसकेको छ । मूल्यका हिसाबले समेत उक्त प्याकेज आकर्षक हुने कम्पनीले जनाएको छ ।

पछिल्लो समय सरकारी स्वामित्को दूरसञ्चार कम्पनी नेपाल टेलिकम समेत इन्टरनेट सेवाप्रदायकहरुबीचको प्रतिस्पर्धामा उत्रेको छ । फाइबरमा इन्टरनेटसँगै आईपीटिभी र टेलिफोन सेवा दिइरहेको कम्पनीले सँगसँगै मोबाइल डेटा समेत निःशुल्क दिन थालेको छ ।

कम्पनीले भर्खरै मात्र २० एमबीपीएस गति माथिको एफटीटीएच इन्टरनेट प्रयोगकर्तालाई दैनिक ३०० एमबी मोबाइल डेटा निःशुल्क दिने बताएको हो ।

यी ठाउँमा उपलब्ध छ सीजीको इन्टरनेट

सीजी कम्युनिकेसन्सले गत सातादेखि इन्टरनेट सेवा ‘सीजी नेट’ ल्याएकाे छ । हाल काठमाडाैं उपत्यकाका सीमित ठाउँमा यसकाे सेवा उपलब्ध छ ।

कम्पनीका अनुसार हाल जावलाखेल, लगनखेल, महालक्ष्मीस्थान, एकान्तकुना, सानेपा (रिङराेड) र पुल्चाेकका बासिन्दाले इन्टरनेट सेवा लिन सक्छन् । उपभोक्ताका घरमा कम्पनीको सेवा जडान गर्न सेवा माग गरिएको ६ देखि २४ घण्टाभित्र उपलब्ध गराइने कम्पनीले जनाएकाे छ ।

कम्पनीका अनुसार केही दिनमा कुपण्डाेल र कुलेश्वरमा पनि इन्टरनेट विस्तार गरिनेछ । २०७८ को अन्त्यसम्ममा देशभर ‘सीजी नेट’ विस्तार गर्ने कम्पनीको लक्ष्य छ ।

कम्पनीका ग्राहक सेवाकेन्द्रहरू हालका लागि सीजी डिजिटलका शाखा– जावलाखेल, कुमारीपाटी, कीर्तिपुर, नयाँबजार, मीनभवन र ट्रेड टावर थापाथलीमा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.