त्रिविले स्नातकोत्तर तहका विद्यार्थीको नयाँ भर्ना अनलाइनबाट खोल्ने

काठमाडौं, २९ जेठ : त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहका विद्यार्थीको नयाँ भर्ना अनलाइन माध्यमबाट खोल्ने भएको छ । भौतिक उपस्थितिमा मात्रै भर्ना प्रक्रिया कुर्दा धेरै समय पर्खनुपर्ने भएकाले अनलाइन माध्यमबाट भर्ना अगाडि बढाउन लागिएको जानकारी विश्वविद्यालयले दिएको छ ।

विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. शिवलाल भुसालले यसै साता स्नातकोत्तर तहमा नयाँ भर्ना सुरु गर्ने तयारी भइरहेको जानकारी दिए ।

यसअघि स्नातकोत्तर तहको पठनपाठन वैशाखबाटै गर्ने कार्यतालिका रहे पनि कोरोना (कोभिड–१९) प्रभावका कारण त्यो प्रभावित भएको थियो । यसका साथै स्नातक तहको कतिपय परीक्षाफल अझै प्रकाशित हुन बाँकी रहेका कारण पनि भर्ना प्रक्रिया अगाडि बढ्न नसकेको हो ।

विश्वविद्यालयमा यो भर्ना खुलेपछि विद्यार्थीले व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र, विज्ञान विषयमा स्नातकोत्तर तहमा भर्ना हुन पाउनेछन् । अनलाइनबाट भर्ना प्रक्रिया खुला गरिए पनि जनजीवन सामान्य भएको अवस्थामा थोरै विद्यार्थी भएका विषयमा भौतिक उपस्थितिमै पनि आवेदन दिन सकिने व्यवस्था मिलाइने जानकारी उनले दिए ।

स्नातक तहको परीक्षाफल यसै साताभित्र

विश्वविद्यालयले स्नातक तह परीक्षाको बाँकी नतिजा पनि यसै साताभित्र प्रकाशन गर्ने जनाएको छ । स्नातक तहमा मानविकी सङ्कायतर्फ तेस्रो वर्षको नियमिततर्फका विद्यार्थीको नतिजा प्रकाशित हुन बाँकी छ । अन्य सङ्काय तथा अध्ययन संस्थानका चौथो वर्षका विद्यार्थीको परीक्षाफल प्रकाशित हुन सकेको छैन । त्रिविमा हाल स्नातक तहमा तीनवर्षे र चारवर्षे कार्यक्रम सञ्चालनमा छन् ।

शिक्षाध्यक्ष भुसालले नतिजा प्रकाशनका लागि काम भइरहेको जानकारी दिए । उत्तरपुस्तिका परीक्षण सकिएको र उपत्यका बाहिरबाट उत्तरपुस्तिका आउने क्रममा रहेको उनले जानकारी दिए । उत्तरपुस्तिका परीक्षणको काम सकिएकाले अब केही दिनमा नतिजा प्रकाशन गरिने उनको भनाइ छ ।

बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय परिसरमा पाल टाँगेर भए पनि प्राध्यापकलाई काम पूरा गरिदिन आग्रह गरिएको छ । कोरोना भाइरस महामारीका कारण विश्वविद्यालयका प्राध्यापकहरू डराएकाले परीक्षण कार्य केही दिन बिलम्ब भएको उनले बताए ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.