माइक्रोफाइनान्स एसोसियनको महामारी र मौद्रिक नीति विषयक बेभिनार सम्पन्न

मिरा मल्ल । काठमाडौं, २६ जेठ : नेपाल राष्ट्र बैकबाट अनुमति प्राप्त वित्तिय संस्थाहरुका संचालकहरुको छाता संगठन माइक्रोफाइनान्स एसोसियन अफ नेपाल (म्यान)को आयोजनामा कोभिड १९ महामारी र मौद्रिक नीति आ.व. २०७८/०७९ मा सुझाव विषयक बेभिनार सम्पन्न भएको छ । उक्त कार्यक्रममा म्यानका अध्यक्ष जगत बहादुर पोखरेलले लघुवित्त सेवालाई कोरोना प्रभावित अत्यावश्यक सेवामा समावेश गर्न आग्रह गरेका छन् । सरकारबाट लक्षित समुहका लागि उपलव्ध गराउने राहत प्याकेजहरु लघुवित्त बैंकहरु मार्फत उपलब्ध गराउनु प्रभावकारी हुने उनको भनाइ थियो ।

लघुवित्त वित्तिय संस्थाहरुले नेपालका दुरदराजमा ४५०० शाखा कार्यालयहरुबाट करिव २५ हजार कर्मचारीहरु मार्फत करिव ५० लाख महिलाहरुका विचमा वित्तिय सेवा प्रदान गरिएको जनाइएको थियो ।

नेपाल राष्ट्र बैकबाट अनुमति प्राप्त क, ख, र ग बर्गका बैक तथा वित्तिय संस्थाहरुले आफ्नो कुल ग्राहकको ७ प्रतिशतलाई मात्र कर्जा सुविधा प्रदान गरेको छ भने लघुवित्त वित्तिय संस्थाहरुले कुल ग्राहक सदस्यको ६७ प्रतिशतलाई कर्जा प्रवाह गरि गरिवि न्यूनिकरणमा टेवा पुराएको उक्त कार्यक्रममा जानकारी दिइएको थियो ।

यस्तै लघुवित्त बैंकका संचालकहरुले किस्ता तिर्ने समयअवधी थप गर्न र कर्जा पूनर्तालिकीकरण सुविधा दिन सरकारसँग माग गरेका छन । यस्तै सरोकारवालाहरुले कोरोना प्रभावितहरुका लागि सहुलियत दरमा पुनर्कर्जा उपलब्ध गराउन पनि आग्रह गरेका थिए ।

कोरोना भाइरसको महामारीका कारण ग्राहकहरुले किस्ता तिर्न नसकेको र नपाएकोले त्यसका लागि सरकारले ध्यान दिनु पर्ने उनीहरुको माग छ।

सरकारले हालै सार्वजनिक गरेको नयाँ आर्थिक वर्षको बजेटमा लघुवित्तका बारेमा पर्याप्त सम्वोधन नभएपनि अब जारी हुने मौद्रिक नीतिमा सम्वोधन गरिदिनु पर्ने उनीहरुको भनाइ छ ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेपाल सरकारका पूर्व सचिव तथा लघुवित्त विज्ञ डा. मानबहादुर विश्वकर्माले कोरोना प्रभावित क्षेत्रलाई लक्षित गरी विशेष सहुलियत प्याकेज पनि ल्याउनुपर्नेमा जोड दिए ।
उनले महामारीका बेलामा अति प्रभावित ऋणि ग्राहकको ब्याज अनुदान दिने व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिएका थिए ।

ग्रामिण क्षेत्रलाई लक्षित गरेर सेवा दिँदै आइरहेका लघुवित्त वित्तिय संस्थाहरु मार्फत सरकारबाट प्रदान गरिने सेवाहरु प्रवाह गर्दा आम नागरिकलाई पनि सजिलो हुने अध्यक्ष पोखरेलले दावी गरेका थिए ।

माइक्रोफाइनान्स बैंकर्स एसोसिएसनका अध्यक्ष बसन्त लम्सालले राहतका कार्यक्रमहरुलाई नै अहिले जोड दिनुपर्ने धारणा राखेका थिए ।

लघुवित्त संचालकहरुको सुझाव र आग्रहलाई सकारात्मक रुपमा लिएको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर डा निलम ढुंगाना, अर्थ मन्त्रालयका सहसचिव दिर्घराज मैनालीले बताएका थिए । उनीहरुले ग्रामिण अर्थतन्त्र र न्युन आय भएका महिलाहरुका लागि लघुवित्त बैंकहरुले ठूलो सहयोग गरिरहेकाले त्यसलाई सरकारको तर्फबाट प्रोत्साहन गराउने कार्यक्रमका लागि आफूहरुले पहल गर्ने आश्वासन दिएका थिए ।

देशभरका करिव ६० लघुवित्त वित्तिय संस्थाका संचालक र प्रमुख कार्यकारी अधिकृतहरु गरी तीन सय जनाको सहभागीतामा भएको कार्यक्रममा मौद्रिक नीतिका लागि संघको तर्फबाट दिने सुझावहरुको संकलन गरिएको संघका महासचिव वावुराम विश्वकर्माले जानकारी दिए ।

कार्यक्रमबाट प्राप्त सुझावहरुलाई समेटेर संघले चाडै नै मौद्रिक नीतिका लागि सुझाव पत्र तयार पारी नेपाल राष्ट्र बैंकलाई लिखित रुपमै बुझाउने तयारी समेत गरेको संघका सचिव अनन्तकुमार श्रेष्ठले बताए । त्यसका लागि विज्ञहरुको टोली समेत बनाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.