भारतमा दुई महिनायताकै सबैभन्दा कम कोरोना संक्रमण, मृत्युको संख्यामा कमी

नयाँ दिल्ली, २३ जेठ : भारतमा विगत २४ घण्टामा कोरोनाभाइरस (कोभिड–१९) बाट एक लाख १४ हजार व्यक्ति संक्रमित भेटिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ को दोस्रो लहरको मध्यमा दैनिक चार लाखभन्दा बढी संक्रमित भेटिएकामा पछिल्लो संख्या विगत दुई महिनायताकै सबैभन्दा कम दैनिक संक्रमण हो ।

भारतमा यो सहित कूल दुई करोड ८८ लाख व्यक्ति कोभिड संक्रमित भएका छन् जसमध्ये दुई करोड ७० लाख संक्रमणमुक्त भएका छन् । कोभिड–१९ को दोस्रो लहरबाट सर्वाधिक असर परेको भारतमा विगत २४ घण्टामा थप दुई हजार ६७७ जनाको ज्यान गएको मन्त्रालयको भनाई छ ।

यो सहित भारतमा कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन लाख ४६ हजार ७५९ पुगेको छ। भारतमा अझै पनि १४ लाख ७८ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् ।

विगत २४ घण्टामा कूल सक्रिय संक्रमितको संख्यामा ७७ हजारले कमी आएको छ । विगत केही दिनदेखि सक्रिय संक्रमितको संख्यामा पनि कमी आउन थालेको मन्त्रालयले जनाएको छ ।

गत जनवरी १६ बाट खोप लगाउन थालेको भारतमा हालसम्म २३ करोड १० लाख डोज खोप लगाइएको छ । यसैबीच, भारतीय स्वास्थ्य अनुसन्धान परिषदले देशभर हालसम्म ३६ करोड ४० लाख नमुना परीक्षण गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.