कोरोना सङ्क्रमण नियन्त्रणका लागि द्रुत प्रतिक्रिया टोली गठन

भरत के.सी । बुटवल, ७ चैत : प्रदेश नं ५ सरकारले प्रदेशमा सम्भावित कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि द्रुत प्रतिक्रिया टोली ‘रेपिड रेस्पोन्स टिम’ गठन गरेको छ । प्रदेश सरकारका सामाजिक विकासमन्त्रीको संयोजकत्वमा बनेको टोलीमा सामाजिक विकास मन्त्रालयका सचिव, सम्बन्धित महाशाखा प्रमुख, लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, भीम अस्पताल भैरहवाका मेडिकल सुपरिटेन्डेन्टलाई सदस्य राखिएका छन् ।

मुख्यमन्त्री शङ्कर पोखरेलको अध्यक्षतामा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको कोभिड–१९ पूर्वतयारी प्रतिकार्य र नियन्त्रणसम्बन्धी बैठकले कोरोना भाइरस नियन्त्रणका लागि प्रदेशका तीन जिल्लामा रहेका अस्पताललाई आइसोलेशन अस्पतालका रुपमा तयार पार्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार रुपन्देहीमा भैरहवास्थित भीम अस्पताल, बुटवलस्थित बुटवल धागो कारखाना र देवदह क्याम्पस, दाङमा आयुर्वेद अस्पताल बेलझुण्डी, बाँकेमा अर्बुद रोग अस्पताल, खजुरा र नेपाल प्रहरीको अस्पताललाई आइसोलेशन अस्पतालका रुपमा तयार गरिनेछ ।

प्रदेश सरकारले कोरोना भाइरसको सूचना सम्प्रेषण तथा सुरक्षाका लागि छुट्टै सूचना प्रणाली बनाउने, शङ्कास्पद व्यक्तिको नाम, ठेगानालगायतको विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राख्ने, प्रदेशमा रहेका एम्बुलेन्सहरुको जिल्लागत विवरण सम्बन्धित जिल्लाका प्रजिअले तयारी अवस्थामा राख्ने र एम्बुलेन्स चलाउनका लागि थप चालक आवश्यक भए सुरक्षा निकायमा रहेका चालकहरुको विवरण तयार राख्नसमेत निर्देशन दिएको छ ।

यस्तै सीमा क्षेत्रबाट आवतजावत गर्ने मानिसको विवरण सङ्कलन गर्न थप जनशक्ति आवश्यक भए सुरक्षा निकायबाट व्यवस्था गरी विवरण सङ्कलन गर्ने, भारतीय सिमाना हुँदै नेपाल प्रवेश गर्ने भारत लगायतका तेस्रो मुलुकका नागरिकलाई अत्यावश्यक कामबाहेक नेपाल प्रवेशमा रोक लगाउने समेत निर्णय गरेको प्रेस सल्लाहकार केसीले जानकारी दिनुभयो । भारतबाट नेपाल भित्रिने सवारी साधनहरुलाई मेडिकल ट्रिटमेन्ट गरेर मात्रै नेपाल आउने व्यवस्था गर्ने र बढी भीडभाड हुने सरकारी कार्यालयहरुमा नेपाल सरकारबाट भएका सूचना सार्वजनिक गरी भीडभाड कम हुने व्यवस्था मिलाउनेसमेत निर्णय बैठकले गरेको छ ।

एक सय श्ययाको कोरोना विशेष (अस्थायी) अस्पताल निर्माण हुँदै    

यस्तै कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि बुटवलमा एक सय श्ययाको कोरोना विशेष (अस्थायी) अस्पताल निर्माण शुरु भएको छ । अस्पताल शनिबारसम्म सञ्चालन हुने गरी निर्माण थालिएको हो । लामो समयदेखि बन्द अवस्थामा रहेको बुटवल धागो कारखानाको फिनिसिङ ब्लकमा उक्त अस्पताल बनाउन थालिएको हो ।

बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा बुटवल उपमहानगरपालिका–१० स्थित बन्द अवस्थामा रहेको धागो कारखानाको भवनमा अस्पताल बनाउन ८० जना काममा खटिएका छन् । नेपाल प्रहरी, बुटवल उपमहानगरपालिकाका नगर प्रहरी, स्थानीय युवाहरु निर्माणमा खटिएका छन् ।

बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी र लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराई, अस्पतालका मेसु डा राजेन्द्र खनालसहित वडाध्यक्षहरु, बुटवल उपमहानगरका प्राविधिक, अस्पतालका स्वास्थ्य प्राविधिक, विशेषज्ञहरु आज बिहानैदेखि निर्माणस्थलमा खटिएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिनुभयो । निर्माणस्थलको अनुगमन तथा निरीक्षणका लागि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, प्रदेश प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख नरबहादुर केसीलगायत पुगेका छन् ।

बुटवलमा क्वारेन्टाइनका लागि एक सय कोठा तयार पारिएका छन् भने आइसोलेशनका लागि धागो कारखानामा करीब १०० श्ययाको अस्पताल बनाउने काम शुरु गरिएको नगर प्रमुख सुवेदीले बताउनुभयो । लामो समयदेखि बन्द रहेको बुटवल धागो कारखानाको एउटा ब्लकलाई अस्पतालका रुपमा प्रयोग गरिएको र निजी क्षेत्रको समेत सहकार्यमा यसको प्रभावकारी सञ्चालन गरिने उहाँले बताउनुभयो ।

बुटवलमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको बिरामी नभेटिए पनि कोरोनाको शङ्कास्पद दैनिक चार÷पाँचजना बिरामी आउने गरेका छन् । बुटवलमा हाल आइसोलेशनका लागि ३४ श्यया तयारी अवस्थामा रहेको प्रदेश नं ५ स्वास्थ्य निर्देशक डा विनोद गिरीले जानकारी दिनुभयो । बुटवलमा आशङ्कामा भर्ना भएका र परीक्षणका लागि स्वाब सङ्कलन गरेर पठाइएका कसैमा पनि कोरोनाको सङ्क्रमण नपाइएको अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.