लगानी सम्मेलनको तयारीमा प्रदेश नं १

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईसँग शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा भेटवार्ता गर्दै नेपालका लागि युरोपेली संघका राजदूत भेरोनिका कोडी । साथमा सामाजिक विकासमन्त्री जीवन घिमिरे र प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेल । तस्वीरः मनोज दाहाल

विराटनगर, ३० फागुन : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिका कोडीबीच आज यहाँ भेटवार्ता भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सो भेटवार्तामा राजदूत कोडीले बहुक्षेत्रीय पोषण कार्यक्रमबारे जानकारी गराउनुभएको थियो ।

उहाँले नेपालका लागि सङ्घीयता अवसर भएको बताउँदै यसको व्यवस्थापन र कार्यान्वयनमा केही समय लाग्नु स्वभाविक भएको धारणा व्यक्त गर्नुभयो । सङ्घीयता कार्यान्वयन, कर्मचारी समायोजनलगायत विषयमा राजदूत कोडीले जिज्ञासा राख्नुभयो । उहाँले प्रदेश सरकारले गरेका कामको प्रशंसा गर्नाका साथै डिजिटल प्रदेशको अवधारणा राम्रो रहेको बताउनुभयो ।

सो अवसरमा मुख्यमन्त्री राईले नेपालले सङ्घीयता पहिलोपटक अवलम्बन गरेको र मौलिकतामा आधारित रहेको बताउँदै शून्य संरचनाबाट शुरु भएर यो दुई वर्षमा महत्वपूर्ण आधार कानून निर्माण र आवश्यक संरचना तयार भएका छन् भन्नुभयो ।

प्रदेश तहमा जनशक्ति अभाव रहेको उल्लेख गर्दै उहाँले प्रदेश लोकसेवा आयोग गठन भएकाले समस्या चाँडै समाधान हुने बताउनुभयो । मुख्यमन्त्री राईले प्रदेश सरकारलाले ल्याएको पञ्चवर्षीय आवधिक योजना, १० वर्षे सडक गुरुयोजना सार्वजनिक गरिसकेको बताउँदै साना सिँचाइ, शहरी विकास, पर्यटनको गुरुयोजना र ‘चिफ मिनिस्टर ड्यास बोर्ड’को काम भइरहेको जानकारी दिनुभयो । रुपान्तरणकारी योजनाहरुको सूची बनाउँदै लगानी सम्मेलन गर्न प्रदेश सरकारले तयारी गरिरहेको पनि उहाँले जानकारी दिनुभयो ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले बालबालिकासम्बन्धी विधेयक प्रदेशसभामा पेश भएको चर्चा गर्दै उक्त विधेयकले बालबालिकाको अधिकार सुनिश्चित हुने बताउनुभयो । प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले प्रदेशको अवस्था र आवधिक योजनाबारे जानकारी गराउनुभएको थियो । भेटवार्तामा राजदूत कोडीसँग युनिसेफको नेपाल प्रतिनिधि इल्क विचको पनि सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.