अझै सञ्चालनमा आएन वीरेन्द्रनगरस्थित सिटी बसपार्क

कर्णाली, ११ साउन : प्रदेश राजधानी वीरेन्द्रनगरस्थित सिटी बसपार्क अझै सञ्चालनमा आउन सकेको छैन । निर्माण सम्पन्न भएको एक वर्ष बितिसक्दासमेत व्यवसायी र वीरेन्द्रनगर नगरपालिकाबीचको विवादले बसपार्क सञ्चालन तथा व्यवस्थापनमा ढिलाइ भएको हो ।

नगरपालिकाले सञ्चालनको तयारी गरिरहेकै बेला व्यवसायीले आफूहरुको स्वामित्व खोजेपछि विवाद अदालतसम्म पुगेको थियो । सिटी बसपार्क निर्माण हुनुपूर्व व्यवसाय गर्दै आएका ५४ व्यवसायीले २०७६ पुस १३ गते आफूहरुको पहिलो हक स्थापित हुनुपर्ने माग गर्दै उच्च अदालत सुर्खेतमा रिट दायर गरेपछि नगरपालिकाले सञ्चालन तथा व्यवस्थापनसम्बन्धी ठेक्का प्रक्रिया स्थगित गरेको थियो । उच्च अदालतले फागुन अन्तिम साता उक्त रिटमाथि सुनुवाइ गर्दै ठेक्का प्रतिष्पर्धा गराउने तर पुराना व्यवसायीलाई प्राथमिकता दिनु भनी आदेश दिएको थियो ।

यसअघि नगरपालिका र बसपार्कमा व्यापार गरिरहेका व्यक्तिलाई निर्माणपछि व्यवसाय गर्न दिने सहमति भएको थियो । व्यवसायी इन्द्रबहादुर थापाले सहमति कार्यान्वयन नभएपछि आफूहरु रिट दायर गर्न बाध्य भएको बताउनुभयो । उहाँले बसपार्क सञ्चालन तथा व्यवस्थापनको जिम्मा नगरपालिकाले निजी कम्पनीलाई दिए पनि उपभोगको पहिलो प्राथमिकता आफूहरुले पाउनुपर्ने अदालतको आदेशको कार्यान्वयन हुने अपेक्षा व्यक्त गर्नुभयो ।

नगरपालिकाले अदालतको आदेशसँगै विवाद सुल्झिएको र बसपार्क सञ्चालन गर्ने बाटो खुलेको बताएको छ । प्रमुख कार्यकारी अधिकृत टीकाराम ढकालले भदौ १ गतेदेखि सञ्चालन गर्ने गरी तयारी गरिएको जानकारी दिनुभयो । हाल बसपार्कमा कोरोना सङ्क्रमितको उपचारका लागि आइसोलेशन सेन्टर बनाइएको छ । आइसोलेशन सेन्टरलाई प्रदेश अस्पतालमा व्यवस्थापन गर्ने गरी समन्वय भइरहेको उहाँको भनाइ छ । प्रमुख कार्यकारी अधिकृत ढकालले चैतदेखि सञ्चालनको तयारी गरेपनि बन्दाबन्दीका कारण रोकिएको बताउनुभयो ।

नगरपालिकाका अनुसार प्रतिष्पर्धाबाट पिआर कन्स्ट्रक्सन प्रालीले सञ्चालन तथा व्यवस्थापनको ठेक्का पाएको छ । उक्त कम्पनीले बसपार्क सञ्चालन गरेबापत मासिक रु २७ लाख ५६ हजार १०० नगरपालिकालाई राजस्व बुझाउनुुपर्नेछ । बसपार्कमा ५४ सटर, ग्यारेज, टिकट काउण्टर, शौचालय, पार्किङस्थल निर्माण गरिएको छ । रु सात करोड ४४ लाख लागतमा बसपार्क निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.