सडक अध्ययन गर्न मुख्यमन्त्री शाही महाबु लेकमा

सुर्खेत, १३ कात्तिक : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही तिहार सम्पन्न गरेलगत्तै आज दैलख र कालीकोट सीमा क्षेत्रमा पर्ने महाबु लेकमा पुग्नुभएको छ ।

मुख्यमन्त्री शाही दैलेख–कालीकोट–जुम्ला हुँदै रारा जोड्ने सडकको अध्ययन गर्न महाबु लेकमा पुग्नुभएको हो । मुगुको राराताल जोड्ने सडक सांस्कृतिक, धार्मिक, पुरातात्विक, प्राकृतिक र ऐतिहासिकता बोकेको पर्यटकीय महत्वको बाटोको निर्माण कार्यको अवस्था अध्ययन गर्न मुख्यमन्त्री शाही नेतृत्वको टोली त्यहाँ पुगेको मुख्यमन्त्रीका स्वकीय सचिव खेमबहादुर सिंहले राससलाई जानकारी दिनुभयो ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि दैलेख सदरमुकाम भएर कालीकोट–जुम्ला हुँदै मुगु राराताल जोड्ने यो सडक कर्णाली राजमार्गभन्दा करीब ७० किलोमिटर कम भएको र यसको निर्माण कार्य छरितो होस् भन्ने हेतुले अध्ययन तथा अवलोकन गर्न आजै त्यसतर्फ लागिएको मुख्यमन्त्री शाहीले राससलाई जानकारी दिनुभयो । सङ्घका साथै कर्णाली प्रदेश सरकार र स्थानीय सरकारको समन्वय सडक निर्माण कार्यलाई जतिसक्दो तीव्रता दिइने उहाँको भनाइ थियो ।

उहाँका अनुसार कर्णाली प्रदेश सरकारले उक्त सडकलाई पर्यटकीय मार्गका रुपमा समेत विकास गर्ने लक्ष्य राखेको छ । टोलीमा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, प्रदेशसभा सदस्य अमरबहादुर थापा, स्थानीय दैलेख महाबु तथा कालीकोट महावै गाउँपालिकाका जनप्रतिनिधिलगायत सरोकारवालाको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.