तिब्बत भ्रमण उपलब्धिमूलक : मुख्यमन्त्री शाही

सुर्खेत, ६ कात्तिक : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले १० दिने तिब्बत भ्रमण उपलब्धिमूलक भएको बताउनुभएको छ । तिब्बत भ्रमण सकेर स्वदेश फर्कनुभएका मुख्यमन्त्री शाहीले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै चीनको तिब्बतका विभिन्न प्रदेशहरुको भ्रमण फलदायी भएको बताउनुभएको हो ।

पत्रकारसँग कुरा गर्दै उहाँले तिब्बतका विभिन्न शहरमा भएको विकास पूर्वाधारसम्बन्धी भौतिक संरचनाहरुको अवलोकनबाट त्यहाँको पूर्वाधार एवम् विकास विश्वमै नमूनाको रुपमा रहेको पाइएको बताउनुभयो । “भ्रमणको क्रममा मैले विशेषगरी कर्णाली प्रदेशको राजधानी सुर्खेतको चक्रपथ र सुर्खेतदेखि बर्दियासम्मको सुरुङ मार्गको निःशुल्क सर्भे गरिदिन तिब्बत सरकारसँग छलफल गरे”, मुख्यमन्त्री शाहीले भन्नुभयो, “यो विषयमा त्यहाँको सरकार सकारात्मक छ ।” यस विषयमा वातावरण बनाएर सङ्घीय सरकारले अनुमति दिए त्यहाँको सरकारको लगानीमा चक्रपथ बनाउने भन्ने कुरा भएको उहाँले बताउनुभयो ।

पूर्वाधारसम्बन्धी काम गर्दै आएको कम्पनीसँग छलफल गरेको जनाउँदै उहाँले त्यसले विकास गरेका विभिन्न भौतिक संरचना पनि हेरिएको जनाउनुभयो । समुन्द्रमाथि बनाइएको सबैभन्दा लामो सडक, समुन्द्रभित्र बनाइएको सुरुङ मार्ग, एकीकृत बस्ती विकासको ढाँचा पनि अवलोकन गरिएको उहाँको भनाइ थियो ।

“तिब्बतको सिचुवान प्रान्तमा एकीकृत बस्ती विकासको अवलोकनले कर्णाली प्रदेश सरकारले लिएको एकीकृत बस्ती विकासको नीतिगत योजना निर्माणमा सहयोग पुग्ने विश्वास मिलेको छ”, उहाँले भन्नुभयो, “छिन्ताओको एकीकृत बस्ती विकासको मोडल कर्णालीमा सम्भव हुन सक्ने भएकाले सङ्घीय सरकारले अनुमति दिएमा र सम्झौता गर्ने स्थिति बनेमा बनाइदिन सक्छौँ भन्ने इच्छा त्यहाँका कम्पनीहरुले देखाएका छन् ।” प्रदेशले त सिधैँ सम्झौता गर्न नमिल्ने उहाँले बताउनुभयो ।

त्यसैगरी, तिब्बतका विभिन्न कम्पनीहरुसँग भएको छलफलमा कर्णाली प्रदेशको पर्यटन, पूर्वाधार, कृषि, एकीकृत बस्ती विकास र जडिबुटीमा लगानी गर्ने सकरात्मक कुराकानी भएको बताउँदै उहाँले कर्णाली र सान्ताउ प्रदेशबीच भगिनी सम्बन्ध जोड्ने र त्यसो नभएको खण्डमा वीरेन्द्रनगर र त्यहाँको सान्ताउ सिटीबीच भगिनी सम्बन्ध जोड्ने कुरा भएको जनाउनुभयो ।

तिब्बत सरकारले हिमालयसँग जोडिएका विभिन्न देशहरुको सहभागितामा बिआरआइसम्बन्धी तीनदिने कार्यक्रमको आयोजना गरेको थियो । त्यो कार्यक्रममा बङ्गलादेश, नेपाल, पाकिस्तान, म्यान्मार, मङ्गोलियालगायतका देशका मन्त्री, मुख्यमन्त्रीसहित सरकारका प्रतिनिधिहरुको सभागिता जनाउने क्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री शाही असोज २७ गते तिब्बत प्रस्थान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.