अफगानिस्तान र पाकिस्तानमा राष्ट्रसंघीय सहायता संस्थाको सहयोग 

संयुक्त राष्ट्रसंघ, ८ माघ : अफगानिस्तान र पाकिस्तानका चिसो पीडित नागरिकहरुलाई संयुक्त राष्ट्रसंघीय संस्थाहरुले सहयोग गरिरहेको ती संस्थाले जनाएका छन् ।

चिसोका कारण समस्यामा परेका नागरिकलाई राष्ट्रसंघीय निकायहरुले सहयोग गरिरहेको संयुक्त राष्ट्रसंघीय प्रवक्ताले मङ्गलबार जानकारी दिनुभएको छ । ती निकायहरुले दुई देशका चिसो पीडितलाई न्यानो कपडा, ज्याकेट, कम्बल एवं खाना उपलब्ध गराएका छन् ।

राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफन डुजारिकले मङ्गलबार आफ्नो ट्वीटर अकाउन्टमार्फत सो जानकारी गराउनु भएको समाचारमा जनाइएको छ ।
यी दुई देशमा हाल जारी रहेको हिमपात, बाक्लो हुुस्सु र शीत लहरका कारण कतिपय क्षेत्रका नागरिकलाई ठूलो समस्या परिरहेको छ ।

प्रवक्ता डुजारिकले यस्तो समस्यामा परेका नागरिकलाई संयुक्त राष्ट्रसंघीय कर्मचारीहरुकै उपस्थितिमा उद्धारको काम भएको र उनीहरुलाई सहायता सामग्रीहरु पनि प्रदान गरिएको जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।

पाकिस्तानको उत्तरी र दक्षिणी भूभागका कतिपय स्थानमा शीत लहर र हिमपातका कारण जनजीवन कष्टकर बन्दै गएको छ ।

यसका कारण त्यहाँ कम्तीमा पनि १२७ जनाको ज्यान गएको छ । ती नागरिकको ज्यान जानेक्रम जारी नै रहेको र केही स्थानमा चिसोबाट बच्नका लागि विभिन्न सहायता निकायहरुले उपायहरुका बारेमा पनि जानकारी गराउने गरेको उहाँले बताउनुभयो ।

पाकिस्तानका ती क्षेत्रमा हिमपातका कारण एक हजारभन्दा बढी घरमा क्षति पुगेको छ । हिउँले थिचेर घर भत्किएको समाचारमा जनाइएको छ ।

त्यसैगरी अफगानिस्तानमा पनि भारी हिमपात भएको छ । हिमपातपछि भएको वर्षापछि आएको बाढी र हिउँपहिरोका कारण यहाँका कम्तीमा पनि ११ वटा प्रान्त प्रभावित भएको छ ।

यहाँ बाढीले कैयौँ घर बगाएको छ । राजमार्गहरुमा हिउँले सवारी सञ्चालन हुन सक्ने अवस्था छैन । कतिपय बाटाहरु सेनाको प्रयासमा सफा गरिएको भए पनि यसबाट जनजीवन सामान्य हुन सकिरहेको छैन । प्राकृतिक प्रकोपको उद्धारमा खटिएका यहाँका सरकारी निकाय तथा सुरक्षाकर्मीहरुलाई संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी संघसंस्थाका कर्मचारीहरुले पनि सघाएका छन् ।

अफगानिस्तानका ३४ मध्ये ११ वटा प्रान्तमा मानवीय सहायताको ठूलो खाँचो रहेको प्रवक्ता डुजारिकले जानकारी दिनुभएको छ । उहाँले यहाँका कैयौँ भूभागमा न्यानो कपडा र खाद्यान्न मात्र नभएर बस्नका लागि अस्थायी शिविर र पालको नै आवश्यकता रहेको जानकारी दिनुभयो । उहाँले यस्तो अप्ठेरो समस्यामा सहायताका लागि सबै क्षेत्र र स्थानबाट लाग्न पनि सबैलाई ट्वीटर मार्फत आग्रह पनि गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.