उत्तर कोरिया र अमेरिकाबीचको वार्ता स्टकहोममा शुरु

स्टकहोम, १८ असोज : उत्तर कोरिया र अमेरिकी अधिकारीहरु उत्तर कोरियाली आणविक कार्यक्रमका विषयमा वार्ता गर्न शनिबार स्वीडेनको स्टकहोम आइपुगेका छन् । पछिल्लो समय उत्तर कोरियाली लगातार क्षेप्यास्त्र परीक्षण गरिरहेकै समयमा दुबै देशका वरिष्ट अधिकारीहरु वार्ताका लागि भेला भएका हुन् ।

उत्तर कोरियाका किम म्योङ गिल र उत्तर कोरियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिफेन बाइगनले वार्ता टोलीको नेतृत्व गरिरहनुभएको छ ।

स्वीडेनकी विदेश मन्त्री आन लिन्डले अमेरिकी र उत्तर कोरियाली अधिकारीहरुले स्वीडेनलाई वार्तास्थल छनौट गरेकामा प्रसन्नता व्यक्त गर्नुभयो । उहाँले आणविक निःशस्त्रीकरण र शान्तिपूर्ण समाधानका लागि संवाद नै एकमात्र उपयुक्त विधि रहेकामा जोड दिनुभयो ।

उत्तर कोरियाली आणविक निःशस्त्रीकरणका विषयमा यस्तै किसिमका वार्ता सन् २०१८ र यसैवर्षको जनवरीमा पनि स्वीडेनमा भएका थिए ।

उत्तर कोरियाले वार्ताका लागि दबाब सिर्जना गर्न क्षेप्यास्त्र परीक्षण र नयाँ हातहतियारको प्रदर्शनीलाई निरन्तरता दिइरहेको छ । विज्ञहरुले उत्तर कोरियाली यस रणनीतिले केही फाइदा पुगेको बताएका छन् ।

उत्तर कोरियाले गत बुधबार पनि निकै ठूलो रकेट परीक्षण गरेको थियो । स्वीडेन प्रस्थान गर्नुअघि बेइजिङमा कुरा गर्दै उत्तर कोरियाली वार्ता टोलीका नेता किम म्योङ गिलले वार्ताप्रति आफूहरु निकै आशावादी रहेको बताउनुभएको छ ।

संयुक्तराज्य अमेरिकाले पनि वार्ता पुनः शुरु हुने आशा व्यक्त गरेको थियो । तर भियतनामको हनोईमा सम्पन्न दोस्रो उच्चस्तरीय वार्ता भंग भएपछि दुबै देशबीच औपचारिक वार्ताहरु हुन सकेका छैनन् ।

तर उत्तर कोरियाले जल पनडुब्बीबाट नयाँ हातहतियारको सफल परीक्षण गरी आफूहरु हतियारको विकासका सन्दर्भमा नयाँ युगमा प्रवेश गरेको जनाएको छ । तर अमेरिकी रक्षा मन्त्रालयले उत्तर कोरियाले पनडुब्बीबाट नभई समुद्री सतहबाट क्षेप्यास्त्र परीक्षण गरेको दाबी गरेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले पनि उत्तर कोरियाले गरिरहेका सानातिना हतियार परीक्षणबाट अमेरिकालाई खासै प्रभाव नपर्ने बताउँदै वार्ताका लागि तयारी भइरहेको बताउँदै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.