तराईमा उपभोक्ता मुद्रास्फीति बढ्यो : राष्ट्र बैंक

काठमाडौँ, ४ फागुन : तराईमा उपभोक्ता मुद्रास्फीति बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा तराईमा उपभोक्ता मुद्रास्फीति ७.४६ प्रतिशत रहेको उल्लेख छ ।

केन्द्रीय बैंकले चालू आर्थिक वर्षको छ महिनाको आर्थिक विवरण आज सार्वजनिक गरेको हो । विवरणअनुसार काठमाडौँ उपत्यकामा ७.२४ प्रतिशत, तराईमा ७.४६ प्रतिशत, पहाडमा ५.३९ प्रतिशत र हिमालमा ५.०१ प्रतिशत मुद्रास्फीति रहेको छ । यस्तै चालू आवको पुस मसान्तसम्म नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.८२ प्रतिशत रहेकामा भारतमा त्यस्तो मुद्रास्फीति ७.५९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा नेपालको ४.४५ र भारतको मुद्रास्फीति २.०५ प्रतिशत रहेको थियो ।

चालू आवको पुस मसान्तमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १०.२१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.२५ प्रतिशत रहेको छ । सो अवधिमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी, मसला, दाल तथा गेडागुडी र फलफूल उपसमूहको मूल्यवृद्धि उच्च रहेको छ । गैरखाद्य तथा सेवा समूहअन्तर्गत शिक्षा, लुगा तथा जुत्ता र फर्निसिङ तथा घरायसी उपकरण उपसमूहको मूल्य बढेको छ ।

५७ अर्बको निर्यात    

बैंकका अनुसार चालू आवको छ महिनामा कूल वस्तु निर्यात २६.१ प्रतिशतले वृद्धि भई रु ५७ अर्ब २८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११.५ प्रतिशतले वृद्धि भएको थियो । भारततर्फ ४५.८ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ८.५ प्रतिशत र अन्य मुलुकतर्फ ३.८ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पामतेल, अलैँची, जुटका सामान, आयुर्वेदिक औषधि, दाललगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुस, तामाको तारलगायतका वस्तुको निर्यात घटेको छ ।

चालू आवको छ महिनामा कूल वस्तु आयात चार प्रतिशतले घटेर रु छ खर्ब ९४ अर्ब ६९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३०.५ प्रतिशतले बढेको थियो । बैंकका अनुसार भारतबाट भएको आयात ९.१ प्रतिशतले घटेको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १२.१ र ०.४ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा कच्चा पामतेल, हटरोल सिट, रासायनिक मल, मेशिनरी तथा पार्टपुर्जा, विद्युतीय उपकरणलगायतका वस्तुको आयात बढेको छ भने एमएस बिलेट, पेट्रोलियम पदार्थ, सुन, यातायातका साधन तथा पार्टपुर्जा, सिमेन्टलगायतका वस्तुको आयात घटेको छ । भन्सार नाकाका आधारमा निर्याततर्फ वीरगञ्ज, विराटनगर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, मेची र तातोपानी भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात घटेको छ ।

आयाततर्फ सुक्खा बन्दरगाह, तातोपानी, कञ्चनपुर र रसुवा भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयात घटेको छ । चालू आवको पुस मसान्तसम्म कूल वस्तु व्यापारघाटा ६.१ प्रतिशतले सङ्कुचन भई रु छ खर्ब ३७ अर्ब ४१ करोड रहेको छ । गत वर्षको सोही अवधिमा व्यापारघाटा ३२ प्रतिशतले वृद्धि भएको थियो ।

छ महिनामा चार खर्ब ४७ अर्ब विप्रेषण भित्रियो    

बैंकको विवरणअनुसार चालू आवको छ महिनामा कूल रु चार खर्ब ४७ अर्ब २६ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । सो अवधिमा विप्रेषण आप्रवाह ०.९ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३०.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १७.६ प्रतिशतले बढेको थियो ।

अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या पुस मसान्तसम्म १७.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ३७.३ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ०.५ प्रतिशतले बढेको छ । यस्तै गत पुस मसान्तसम्मको अवधिमा खुद ट्रान्सफर आय ०.१ प्रतिशतले वृद्धि भई रु पाँच खर्ब छ अर्ब पाँच करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २८.७ प्रतिशतले बढेको थियो ।

यस्तै पुस मसान्तसम्म चालू खाता घाटा रु ८४ अर्ब ७१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु एक खर्ब ५२ अर्ब १६ करोड रहेको थियो । गत पुस मसान्तसम्मको अवधिमा शोधनान्तर स्थिति रु २६ अर्ब ६५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु ६३ अर्ब ६८ करोडले घाटामा थियो । यस्तै गत असार र मसान्तमा रु १० खर्ब ३८ अर्ब ९२ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति ५.५ प्रतिशतले वृद्धि भई गत पुस मसान्तमा रु १० खर्ब ९५ अर्ब ९८ करोड बराबर पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.