तान बुन्ने सीपले उद्यमी बनायो पुलामीलाई 

चन्द्रकला भण्डारी । भद्रपुर, ७ माघ : झापाको दमक–१ घर भएकी ढाका कपडा व्यवसायी नीरु पुलामीलाई आफूले उत्पादन गरेको कपडाको माग निरन्तर बढ्दै गएपछि बजार धान्न मुस्किल हुँदै गएको छ । नानीहरु स्कूल र जागिरे पति काममा गएपछि घर रुङेर समय बिताउनुभन्दा ढाकाको तान बुन्ने सीप सिकेर २० वर्षअघि स्वरोजगारमा लाग्नुभएकी उहाँ अहिले सयौँलाई रोजगारी दिने उद्यमीको पहिचान बनाउन सफल हुनुभएको छ ।

“हिजो फुर्सदको समयमा शुरु गरेको व्यवसाय आज जीवन धान्ने माध्यम बनेको छ”, पुलामी आफूले रोजेको स्वरोजगारीको बाटोप्रति खुशी हुँदै भन्नुहुन्छ । दमक–१ मा उहाँले सञ्चालन गरेको प्रवीण ढाका उद्योगमा ७० भन्दा बढी कपडा बुन्ने हाते मेसिन (तान) छन् । उहाँको वार्षिक मुनाफा नै रु २० लाखभन्दा बढी छ । दमक नगरपालिकाका महिला सदस्यले हरियो रङको ढाकाको साडीलाई औपचारिक पोशाक बनाएका छन् । एकै रङको पहिरन लगाएर नगरपालिकाको कार्यक्रम र बैठकमा पुग्दा महिला जनप्रतिनिधिलाई असाध्यै सुहाएको छ । यी सबै पोशाक पुलामीको ढाका उद्योगका उत्पादन हुन् ।

उनीहरुले जस्तै बुद्धशान्ति र कमल गाउँपालिका, मेचीनगर र कनकाई नगरपालिकाका महिलाले विवाह, व्रतबन्ध, भोजभतेरलगायतमा कार्यक्रममा जाँदा ढाकाकै कुर्था सलवार, साडी, बर्की, ब्याग, चप्पलसमेत प्रयोग गर्न थालेका छन् । “नयाँ–नयाँ ठाउँबाट कपडाको माग आइरहेको छ”, उहाँ भन्नुहुन्छ, “मागेजति कपडा पु¥याउन नसकिने अवस्था भइसक्यो ।”

स्थानीय तहका जनप्रतिनिधि, सहकारी संस्थाका महिला सदस्य, आमा र बचत समूहका महिलाले संस्थागत पहिचानका लागि एउटै रङको पहिरन लगाउने प्रचलन बढ्दै गएको छ । पुरुषहरुले लगाउने दौरा, सुरुवाल र टोपी ढाकाकै मन पराइने हुँदा बजार व्यापक बन्दै गएको छ । धेरैजसोले मौलिक पहिरनका रूपमा ढाकाका कपडा नै रोज्न थालेपछि पुलामीले सञ्चालन गरेको उद्योगमा माग बढेको हो ।

उहाँको उद्योगमा आबद्ध हुनेमध्ये पति वैदेशिक रोजगारमा गएका महिला, पहाड तथा तराईका ग्रामीण क्षेत्रबाट दमकमा कलेज पढ्न आउने विद्यार्थी र सामान्य गृहिणीहरुले घरमै तान लगेर ढाकाका सामग्री बुन्ने गरेका छन् । घर–घरमा बनाएका ढाकाका सामग्रीको बजारीकरण पुलामी आफैँ गर्नुहुन्छ । “ढाका महङ्गो भए पनि नेपाली पहिचान झल्कने र लगाउँदा राम्रो र न्यानो भएकाले यसको माग बढेको हो”, उहाँले भन्नुभयो, “शुरुमा बजारको समस्या थियो, अहिले ग्राहकको माग धान्न हम्मे परेको छ ।”

नेपालमा उत्पादित ढाकाको सामग्रीको माग भारतको नेपाली बाहुल्य दार्जिलिङ, सिक्किम, आसामलगायतका शहरमा अत्यधिक रहेको उहाँले बताउनुभयो । किराँत समुदायका पुरुषहरुले लगाउने म्याक्ली (कोट)का लागि पछिल्लो समय ढाका कपडा अत्यधिक प्रयोग हुन थालेको छ । झापाको दमकलाई ढाका कपडाका लागि पूर्वको राजधानी मानिन्छ । यहाँ साना–ठूला गरी एक दर्जन ढाका उद्योग सञ्चालनमा छन् ।

नेपाल उद्यमशील महिला सङ्घ झापाका अध्यक्ष पार्वता विमलीले महिलाले उत्पादन गरेको व्यवसायको प्रवद्र्धनमा सङ्घले सहयोग गर्दै आएको बताउनुभयो । सङ्घले गर्ने हरेक कार्यक्रममा स्थानीय महिलाले उत्पादन गरेका माला, खादादेखि अतिथिलाई दिने मायाको चिनो प्रयोग गर्दै आएको उहाँले बताउनुभयो । नीरु पुलामी सोही सङ्घको जिल्ला उपाध्यक्ष हुनुहुन्छ । उहाँ दमक नगरपालिकाको कार्यपालिका सदस्यसमेत हुनुहुन्छ । सङ्घमा आबद्ध सबै महिलाले नीलो रङको ढाका साडीलाई संस्थागत पहिरनका रूपमा प्रयोग गर्दैै आएका छन् ।

दमक नगरपालिकाका उपाध्यक्ष गीता अधिकारीले ढाका व्यवसायीलाई प्रोत्साहन गर्न आफूहरुले संस्थागत पहिरनका रुपमा ढाकाको साडी प्रयोग गरेको बताउनुभयो । उहाँले दमक नगरभित्र हुने कार्यक्रममा महिलाले बनाएका ढाकाका खादाले अतिथिलाई सम्मान सत्कार गर्दैै आएकोसमेत जानकारी दिनुभयो । “ढाका नेपालीको मौलिक पहिचान हो”, उहाँले भन्नुभयो, “यसको संवद्र्धन र प्रवद्र्धन गर्नु स्थानीय सरकारको दायित्व हो भनेर हामी लागिपरेका छौँ ।” दमकमा ढाका उद्योगबाट ५०० भन्दा बढीले रोजगारी पाएको उपप्रमुख अधिकारी बताउनुहुन्छ ।

पुलामीकै प्रेरणा र सहयोगबाट स्वरोजगार बन्न सफल हुनुभएको छ अर्जुनधारा नगरपालिकाकी सरु बुढाथोकी । उहाँले कागजका माला, ब्याज बनाएर स्थानीय क्षेत्रमा फरक पहिचान बनाउन सफल हुनुभएको छ । उहाँले बनाउने कागजको माला, खादा, मोती र क्रिस्टलका मालाको माग झापा, मोरङ, पोखरा, इलामसम्म हुने गरेको छ । काठमाडौँमा कागजको झोला बनाउँदा रहेका टुक्रा प्रतिकेजी रु ३०० मा खरीद गरेर ल्याई माला बनाएको उहाँले सुनाउनुभयो ।

स्थानीय महिलालाई स्वरोजगार बनाउने उद्देश्यले शुरु गरेको व्यवसायबाट राम्रो आम्दानी भइरहेको उहाँले बताउनुभयो । “माला बनाउन झन्झटिलो हुन्छ”, उहाँले भन्नुभयो, “कच्चा पदार्थ आफैँ दिएर एउटा माला बनाएको ज्याला रु ४० दिने गरेका छौँ ।” माला भने प्रतिगोटा रु ५० का दरले बिक्री गर्दै आएको उहाँले बताउनुभयो । अधिकांश महिला फुर्सदको समयमा सिर्जनशील काममा लाग्नुपर्छ भनेर सन्देश प्रवाह गर्ने सफल उद्यमी नीरु पुलामी नेपाली महिलाका लागि उदाहरणीय हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.
error: