‘चलचित्रको कथा समाजका लागि बोझ बन्नुहुन्न’ : मन्त्री खतिवडा

अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडा

नारायण ढुङ्गाना । काठमाडौँ, ९ साउन : चलचित्र समाजको ऐना हो । श्रव्य/दृष्यमा समेटिएका कुरा अन्य माध्यमको भन्दा बढी वस्तुगत र प्रभावकारी हुन्छ । विषय भद्दा र अतिरञ्जित हुँदा त्यसले समाजलाई बढी बेफाइदा गर्छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडा पनि चलचित्रमा भद्दा हुन नहुनेमा जोड दिनुहुन्छ ।

चलचित्रमा समेटिएका विषयवस्तु समाजलाई भारी बोक्ने खालको हुन नहुनेतर्फ उहाँले चलचित्रकर्मीको ध्यानाकर्षणसमेत गराउनुभएको छ । “कथा समाजका लागि बोझ बन्न हुँदैन, हाँस्दाहाँस्दै, हसाउँदाहसाउँदै सन्देश दिन सक्नुपर्छ”, चलचित्र विकास बोर्डमा आयोजना गरेको एक समारोहलाई सम्बोधन गर्ने क्रममा मन्त्री डा खतिवडाले थप्नुभयो, “चलचित्रले मनोरञ्जनका साथै सन्देशमुलुक हुनुपर्छ ।”

मन्त्री खतिवडाले विसं २०२४/२५ सालमा आफूले हेरेको नेपाली चलचित्र अहिले पनि ताजा स्मरणमा रहेको आफैँ उदाहरण रहेको सन्दर्भ जोड्दै चलचित्रको महत्व यसबाट पनि प्रष्ट हुने बताउनुभयो । मुलुकको पहिलो ‘आमा’ को चलचित्रको सानो अङ्श प्रस्तुत हुँदा मन्त्री डा खतिवडा आफ्नो विगत सम्झन पुग्नुभयो ।

उहाँले मुलुकको परिवर्तन र सामाजिक मूल्य मान्यतासम्बन्धी अमिट छाप राख्ने भएकाले चलचित्र समाज सचेतनाका लागि चलचित्र प्रभावकारी माध्यम भएको बताउनुभयो । चलचित्रले गौरवपूर्ण इतिहास बोक्ने र त्यसको संरक्षण पनि उत्तिकै जरुरी रहेको उल्लेख गर्नुभयो । समाजलाई सन्देश दिन श्रव्यदृष्य सामग्री बढी ओझपूर्ण हुन्छ । सञ्चारको सशक्त माध्यम चलचित्रमा भद्दा र नकारात्मक सन्देश प्रवाह भयो भने त्यसले आम समुदायलाई नै नकारात्मक बनाइदिन्छ ।

चलचित्रको स्क्रिप्टदेखि नै समाजको मूल्य, मान्यता, संस्कार, संस्कृति र मुलुकको गौरवपूर्ण इतिहासलाई तथ्यपरक ढङ्गबाट सहज रुपमा प्रस्तुत गर्न सक्नुपर्छ । सम्बोधनका क्रममा मन्त्री खतिवडाले त्यसतर्फ सङ्केत गर्दै चलचित्रकर्मीलाई विशेष ख्याल गर्न सुझाव दिनुभयो ।

मन्त्री खतिवडालाई स्वागत गर्न चलचित्र विकास बोर्डले उक्त आयोजना गरेको थियो । सोही क्रममा उहाँले बोर्डको स्थलगत निरीक्षण गर्नुभयो भने कोभिड–१९ का कारण मुलुकको चलचित्र क्षेत्रमा परेको असरका विषयमा जानकारी लिनुभयो ।

सरकारका प्रवक्ता एवं अर्थमन्त्रीसमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री डा खतिवडाले विश्व नै कोभिड–१९ को प्रभावबाट अछुतो नरहेको बताउनुभयो । जोखिम न्यूनीकरण गर्दै आर्थिक गतिविधिलाई पहिलेकै अवस्थामा ल्याउनुपर्ने मुलुकसामु चुनौती खडा भएको मन्त्री खतिवडाले धारणा राख्नुभयो । “सरकारले स्वास्थ्य जोखिम कम भएर लकडाउन हटाएको होइन, दैनिक जनजीवनमा नै अप्ठ्यारो परेकाले सहजीकरण गरिएको हो, आम नागरिक थप हुनु जरुरी छ”, मन्त्री खतिवडाले भन्नुभयो । चलचित्र क्षेत्रमा जस्तो असर परेको छ मुलुकको अर्थतन्त्रमा उस्तै असर परेको स्मरण गराउँदै मन्त्री खतिवडाले लगानी ह्रास हुन नदिन र पूँजी क्षय हुन नदिन सरकराले आवश्यक व्यवस्थापन गर्ने आश्वासन समेत दिनुभयो ।

विदेशी चलचित्रकर्मीलाई छायाङ्कनमा आउँदा कर छुट गर्नुपर्ने विकास बोर्डको मागप्रति सङ्केत गर्दै मन्त्री खतिवडाले नेपालको प्राकृतिक वैभव सित्तैमा उपयोग नहोस् भनेर कर लगाएकाले सबै कर छुट हुन नसक्ने स्पष्ट पार्नुभयो । अहिलेको समय भनेको चलचित्रकर्मीले स्वयत्तताका लागि नीति नियम बनाउने र परिमार्जन गर्ने बेला भएको भन्दै त्यसतर्फ ध्यान दिन उहाँले सुझाव दनुभयो ।

उहाँले स्टोरी बैंक, डिजिटलाइजेसन, सेन्सर प्रणालीलाई व्यवस्थित गर्ने विषयमा भने सञ्चार मन्त्रालयले आवश्यक सहयोग गर्ने आश्वासन दिनुभयो । यस्तै चलचित्रकर्मीको वृत्ती विकास जीवनवृत्तीका सवालमा सरकारले पनि सम्झने उहाँको भनाइ थियो । मन्त्री खतिवडाले विस्तारै धेरै सेवाहरु सहजीकरण गर्दै गएकाले उचित स्वास्थ्य मापदण्ड अपनाएर चलचित्र हल सञ्चालन गर्ने विषयमा सरकारले ध्यान दिएको बताउनुभयो ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले जतिसुकै चुनौती भए पनि मुलुकमा चलचित्र क्षेत्रलाई माथ उठाउनुको विकल्प नभएको बताउनुभयो । उहाँले चलचित्र क्षेत्रको अन्तराष्ट्रिय बजार प्रवद्र्धनका लागि पनि बोर्डले केही गर्नुपर्ने आवश्यकता महसुश गरेको बताउनुभयो । दाहालले कोरोनाका कारण अति प्रभावित बनेको चलचित्र क्षेत्रलाई सरकारले छिट्टै सम्बोधन गर्ने आशा व्यक्त गर्दै आगामी दिनमा छायाङ्कन हुने चलचित्रका लागि प्रोत्साहन जरुरी रहेको औँल्याउनुभयो । मन्त्री खतिवडाले उक्त विषयमा सरकार सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.