चिनियाँ चलचित्र महोत्सव शुरु

काठमाडौँ, ११ पुस : आजदेखि यहाँ चिनियाँ चलचित्र महोत्सव शुरु भएको छ । पहिलो दिन जनगणतन्त्र चीन स्थापनाको ७० औँ वार्षिकोत्सवका अवसरमा तियानमेन स्क्वायरमा आयोजित विशाल सैन्य परेड २०१९ समारोहको झलक प्रस्तुत गरियो ।

नेपालस्थित चिनियाँ राजदूतावासको आयोजना र वल्र्ड कल्चरल नेटको संयोजनमा आयोजित महोत्सवअन्तर्गत शनिबार कुमारी चलचित्रघरमा चाङ यिमोयुद्वारा निर्देशित ‘ग्रेटवाल’ शीर्षक चलचित्र प्रस्तुत गरिने छ । सो चलचित्र यही पुस २१ गते पोखरामा प्रस्तुत गरिने छ भने २४ गते लुम्बिनीमा ‘सैन्य परेड २०१९’र ‘स्वेन चाङ’ प्रस्तुत गरिने छ ।

महोत्सव उद्घाटनका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बुद्धभद्र, भृकुटी, स्रङ चङ गम्पो, भृकुटी, अरनिको र पद्मसंभवलगायतले अघि बढाएको नेपाल चीनबीचको सम्बन्ध हिमाल झँै अटल र नदी जस्तै गतिशील भएको बताउँदै विश्वशान्ति, भ्रातृत्व र बन्धुत्वका लागि नेपाल र चीन एकै ठाउँमा उभिएका छन् भन्नुभयो ।

उहाँले सामाजिक सञ्जालका माध्यमबाट नेपालका लागि चिनियाँ राजदूत हौ यान्कीले नेपालको प्रचारप्रसार गरिरहेकामा धन्यवाद दिँदै नेपाल भ्रमण वर्षमा बढीभन्दा बढी चिनियाँहरु नेपाल ल्याउनका लागि आग्रह गर्नुभयो ।

चिनियाँ राजदूत हौले चिनियाँ राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध निकै उचाइमा पुगेको बताउँदै चिनियाँहरुलाई नेपाल आउन र नेपालीहरुलाई चीन गएर ज्ञान हासिल गर्न आग्रह गर्नुभयो ।

वल्र्ड कल्चरल नेटका अध्यक्ष दीपक सरकारले हरेक वर्ष नेपालमा चिनियाँ चलचित्र महोत्सव गर्ने गरिएको जानकारी दिँदै यस्तो महोत्सवले दुई देशबीचको सांस्कृतिक सम्बन्ध वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.