आशा जगायो द्रुत मार्गले  

टीका खतिवडा । फिक्कल, २२ भदौ : इलामबाट मेची राजमार्ग हुँदै बिर्तामोड पुग्न ८३ किलोमिटर दूरी पार गर्नु पर्ने हुन्छ तर, यहाँ हाल निर्माण भइरहेको द्रुत मार्ग सम्पन्न भएपछि ४७ किलोमिटरको यात्रामै बिर्तामोड पुग्न सकिन्छ । पहाडी जिल्ला इलाम सुगम जिल्लाकै रुपमा परिचित छ । स्वास्थ्य क्षेत्रमा अत्यन्तै पछाडि परेको इलामवासीलाई द्रुत मार्ग निर्माणले ठूलो आशा जगाइदिएको छ ।

खाद्यान्न र निर्माण सामग्रीको ढुवानी र स्वास्थ्योपचारका लागि अझै पनि इलामले तराईमाथि भर पर्नु परिरहेको छ । द्रुत मार्गको निर्माणले यस्तो स्थितिको अन्त्य गरिदिने छ । महङ्गोमा ढुवानी गर्न नपरे पछि सामान सस्तिने इलामका उपभोक्ता तथा व्यापारीहरुको भनाइ छ । इलाम बजारका व्यापारी सुमन सुवेदी ढुवानी भाडामा मात्र हैन समय पनि बचत हुने बताउनुहुन्छ ।

इलाम बजार मात्र हैन, इलाम–मंगलबारे बजार जोड्ने द्रुत मार्ग निर्माण भइरहेको छ । यहाँबाट हिउँदका दिन सहज रुपमा गाडी वारपार भइरहेका छन् । बर्खा याममा साना गाडी गुड्छन् । मंगलबारे बजारबाट बिर्तामोड पुग्न १२० किलोमिटर पार गर्नुपर्छ तर, द्रुत मार्गबाट ५३ किलोमिटर दूरीमै बिर्तामोड पुग्न सकिन्छ । राज्य पुनःसंरचनापछि स्थानीय तहबाट नै गाउँ गाउँमा काम हुन थालेपछि सदरमुकामसमेत रहेको इलाम बजार सुनसान बन्दै गएको धेरैको गुनासो अब भने हट्ने भएको छ । इलाम बजार र मंगलबारेबाट तराई पुग्न अब आधा दूरी घट्ने भएको छ । इलाम नगरपालिका–९ को भञ्ज्याङ, राकसे हुँदै बेलासे पुग्ने दश किलोमिटर लामो नयाँ ट्र्याक खुलेसँगै इलाम बजारबाट झापा पुग्न आधा दूरी घट्ने भएको हो ।

हाल इलामबाट बिर्तामोड पुग्न मेची राजमार्गबाट ८३ किलोमिटर दूरी पार गर्नुपर्छ तर, यो दु्रत मार्ग खुलेपछि ४७ किलोमिटरमै बिर्तामोड पुग्न सकिने भएको छ । मेची राजमार्गबाट बिर्तामोड पुग्न तीन घण्टा समय लाग्नेमा अब आधा कम समयमै बिर्तामोड पुगिने भएपछि स्थानीयवासी खुशी छन् । बिरामी हुँदा पनि चाँडो तराई पुग्न सकिने भएपछि यहाँका स्थानीय बासिन्दामा खुशी छाएको छ ।

त्यस्तै, मंगलबारे बजारबाट गाग्रेभञ्ज्याङ जितपुर, सिद्धिथुम्का, सोयाक हुँदै दानाबारीबाट बिर्तामोड पुग्न सकिन्छ । मंगलबारेबाट मेची राजमार्गको नेपालटार निस्किएर इलाम बजार हुँदै बिर्तामोड पुग्न साढे चार घण्टा समय लाग्ने गरेको छ तर, निर्माणाधीन दु्रत मार्गबाट दुई घण्टामै बिर्तामोड पुग्न सकिने भएपछि मंगलबारेवासी पनि हर्षित छन् ।

इलाम बजारबाट झापा जाने सडकको थालनी भने विसं २०७४ मै भएको थियो । तत्कालीन निर्वाचन पूर्वाधार विकास कार्यक्रममार्फत प्राप्त रु १४ लाख ५५ हजार र तत्कालीन जिल्ला विकास समितिबाट प्राप्त रु दुई लाख ५० हजारले नयाँ ट्र्याक खोल्न शुरु गरिएको बताइएको छ । चालु वर्षमा इलाम नगरपालिकाको १५ लाख र १ नं प्रदेशबाट पाँच लाखको लागतमा उक्त सडक खण्डको ट्र्याक खुलेको हो ।

सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष तारादेवी कटुवालले १५ लाखले आठ मिटर चौडा भएको सडक एक हजार ७०० मिटर कटिङ गरिएको र पाँच लाखले थप सात सय मिटर कटिङ गरिएको जानकारी दिनुभयो । उहाँले घोर्लेभिर भन्ने स्थानसम्म सडक फराकिलो पार्ने काम भए पनि त्यहाँदेखि बेलासेको सोयाक–चिसापानीसम्मको सडक अmझै साँघुरो रहेको बताउनुभयो ।

इलाम भञ्ज्याङबाट नयाँ ट्र्याक खुलेपछि राकसे हँुदै माइ नगरपालिकाको दानाबारी र झापाको खुदुनाबारीसम्म यातायात सञ्चालन भएमा भाडासँगै सामग्री ढुवानी र पर्यटन क्षेत्रमा सम्भावनाका थप ढोकाहरु खुल्ने स्थानीयवासीले बताएका छन् । उक्त सडक खुलेसँगै यात्रा छोटिएर श्रम र स्रोत समेत बचत हुनेछ ।

द्रुत मार्गमा पुवाखोला तर्ने पक्की पुल निर्माण र सडक स्तरोन्नति हुन बाँकी रहेकाले हिउँदमा मात्र साना सवारी साधन चलाउन सकिन्छ । उक्त सडकका लागि हाल रणनीतिक सडक योजनाअन्तर्गत एक करोड बजेट छुट्याएको छ । यस रकमबाट सडक डिभिजनले थप काम अगाडि बढाउने इलाम नगरपालिकाका नगर प्रमुख महेश बस्नेतले जानकारी दिनुभयो ।

इलामदेखि बिर्तामोड पुग्न सडकका बीचमा विभिन्न खोला तर्नुपर्ने भएपनि केही पुल निर्माण भइसकेका छन् । पुवाखोलामा पुल बन्न बाँकी रहे पनि माईखोलाको बेलासेमा पुल बनिसकेको छ भने लोदिया खोलामा पुल निर्माणको ठेक्का लागिसकेको छ । दानाबारी गरुवा खोलाको पुल निर्माण अन्तिम चरणमा पुगेको छ । यस्तै, उक्त सडकमा पर्ने बुढी सुखानी र टाङटीडको पुल बनिसकेको छ ।

मेची राजमार्गबाट झापा जोड्न करीव तीन घण्टाको सडक यात्रा तय गर्नुपर्ने बाध्यता रहेकामा अब भञ्ज्याङ बेलासे दानाबारी सडक स्तरोन्नति भएमा एक घण्टामै झापासम्म सजिलै पुग्न सकिने भएको छ । प्रदेश सरकारले यस सडकलाई पक्की बनाउन काम अगाडि बढाउने बताइएको छ । साँघुरो मेची राजमार्गले हाल इलामसहित ताप्लेजुङ, पाँचथर ते¥हथुम लगायतका जिल्लाहरुमा जाने साना ठूला सवारीको भार थाम्न बाध्य छ । यो सडक निर्माणमा चासो दिए मेची राजमार्गमा पर्दै आएको सवारीको चाप समेत कम हुनेछ । साँघुरो सडक भएकै कारण बढी दुर्घटना र बिरामी हुँदा अस्पताल पुग्न धेरै समय लाग्ने भइरहेको छ ।

यता, मंगलबारे–जितपुर–बिर्तामोड सडकबाट भने दैनिक सवारी सञ्चालन हुन थालेपछि मंगलबारे क्षेत्रका बासिन्दा इलाम बजार नटेकी झापा पुग्न थालेका छन् । यस सडकले ढुवानी खर्च मात्र घटाएको हैन समयको समेत बचत भएको स्थानीयवासी निर्मल आचार्यले बताउनुभयो । उहाँ इलाम बजारबाट झापा पुग्न भन्दा दानाबारीबाट झापा झर्दा आधा भन्दा कम दूरी र समय लाग्ने बताउनुहुन्छ । मंगलबारेका व्यापारीहरुले पनि यस सडकमार्फत ढुवानी भएका सामानमा एक÷दुई रुपैयाँ सस्तोमा सामान बेच्ने गरेको बताउँदै आएका छन् । सडक कच्ची भए पनि उन्नति परियोजनाले ग्राभेल गरिदिएकाले गाडी गुड्छ । यस सडकको स्तरोन्नति गर्न स्थानीयवासीले माग गर्दै आएका छन् ।

यस सडकलाई देउमाई नगरपालिकाले आफ्नो गौरवको आयोजनाका रुपमा लिएर काम अगाडि बढाइरहेको छ । नगरपालिकाले राँके, तपेवा, सावजुङ हुँदै मंगलबारे बजारबाट दानाबारी र बिर्तामोड सडकअन्तर्गतका नगरभित्रको सडकलाई गौरवको आयोजनाका रुपमा काम अघि बढाउँदैआएको नगरपालिका प्रमुख सूर्य प्रसाद पोख्रेलले बताउनुभयो ।

प्रदेश सांसद राम रानाले यस सडकको स्तरोन्नति गर्न सङ्घीय सरकारले काम थालेको बताउनुभयो । यस सडकलाई पक्की गर्न डिपिआर सर्वे भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.