हिमपातले कतै सास्ती कतै उत्साह

मनाङ, २४ माघ  : पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय भएसँगै हिमाली तथा उच्च पहाडी क्षेत्रमा भारी हिमपात भयो । हिमपातले कहीँ उत्साह छाएको छ भने कहीँ सास्ती खेप्नुपरेको छ । हिउँ नपर्ने स्थानमा लामो समयपछि हिमपात हुँदा मानिस खुशी हुन्छन् भने हिमपात हुने स्थानमा दिनचर्यामा समस्याका साथै सास्ती बेहोर्न बाध्य छन् ।

कमै मात्र हिउँ पर्ने स्थानमा हिमपात भएपछि भने आन्तरिक पर्यटकमा खुसी छाएको छ । हिमपात नहुने स्थानमा परेपछि हिउँ खेल्नु र सामाजिक सञ्जालमा ‘भाइरल’ गराउनु धेरैको रहर सपनाको विषय बन्ने गरेको पाइन्छ । नेपालका धेरै स्थान तथा गाउँलाई हरेक वर्ष हिउँदमा हिउँकै कारण सकस र सास्तीमा जीवनयापन गर्नुपर्ने बाध्यता भएको मध्ये हिमालपारिको जिल्ला मनाङ एउटा ज्वलन्त उदाहरणका रूपमा लिन सकिन्छ ।

हिमाली क्षेत्रअन्तर्गत माथिल्लो मनाङवासीले यार्तुङ पर्व मनाएपछि वर्षायाम सकिएर हिउँदयाम सुरु भएको भन्ने बुझिन्छ । वर्षायामको खेतीपाती थन्क्याएपछि माथिल्लो मनाङले साउनको अन्तिममा यार्तुङ मनाउँछन् । त्यसपछि हिउँदका उराठिला महिना सुरु हुन्छ ।

दुवै याममा निर्माण ठप्प

हिउँदमा अत्यधिक चिसो र हिमपात पर्ने भएकाले माथिल्लो मनाङवासी जाडो र हिमपात छल्न बेंसी झर्ने गर्छन् । वर्षायाममा पानी पर्ने हुँदा यहाँको पर्यटकीय गतिविधि र विकासनिर्माणका काम पूर्ण रुपमा ठप्प हुने गर्छ ।

हिमाली जिल्ला मनाङमा जाडोयाममा हिमपातले विकासनिर्माणको काम तथा पर्यटन व्यवसायका कामकारवाही गर्न सकिँदैन । त्यतिबेला आवश्यक सामग्री ढुवानी तथा विकासका कार्य गर्दा पहिले हिउँ फाल्नुपर्ने समस्या हुन्छ । विकासको काम सकिनुभन्दा बढी हिउँ फाल्दा खर्च बढी लाग्न सक्ने भएकाले हिउँदमा पनि विकासका कार्य गर्न सकिँदैन । वर्षायाममा कहिले पनि पानी नपर्ने हिमाली जिल्ला मनाङमा पानी परेर बाढीपहिरोे आएपछि विकासका कार्य गर्न सकिँदैन ।

गत असारदेखि यता परेको वर्षाले गर्दा यहाँ धेरै क्षति बेहोर्नुपरेको छ । पानी नपरे पनि पहिरो खस्ने गरेको विकट जिल्ला मनाङमा यस वर्ष वर्षा भएपछि धेरै भौतिक क्षति भयो । पुनर्निर्माणको काम अझैसम्म पनि पूरा भएको छैन ।

जाडो छल्न बेंसी

बर्सेनि कात्तिकदेखि फागुनसम्म मनाङमा हिउँ पर्ने गर्छ । सो अवधिमा माथिल्लो मनाङका अधिकांश घरमा ताल्चा मारिएका हुन्छन् । घरका एकाध मात्र पशुचौपाया र घरको रेखदेख गर्न बसेका व्यक्ति मात्रै हुन्छन् । त्यतिबेला यहाँका सबै मानिस जाडो छल्न र घुम्ती व्यापार गर्न जिल्ला बाहिर निस्कन्छन् । तल्लो मनाङका पनि कतिपय पर्यटन व्यवसायी र बासिन्दा पनि जाडो छल्न पोखरा, काठमाडौंं जाने गर्छन् ।

हिउँदमा जिल्लाका सबै नागरिक बेंसी झर्ने यहाँको पुर्ख्यौली परम्परा हो । हिउँदमा यहाँ अत्यधिक चिसो हुने र जनजीवन प्रभावित हुने भएकाले मनाङबासी बेंसी झर्नु रहर नभई बाध्यता हो । अत्यधिक चिसो र हिमपातले घरका धारा, सेफ्टी ट्याङकी, सिंचाइ कुलोलगायत जमेर दैनिक जीवनयापनमा असर पुर्‍याउने भएकाले पनि उनीहरु बेंसी वा जिल्ला बाहिर जान बाध्य छन् । यसरी बेंसी झर्दा घरपालुवा पशुचौपाया र ससाना बालबालिकाको रेखदेख र व्यवस्थापनमा उत्तिकै समस्या पर्छ । हिउँदका महिना जिल्लाका सरकारी कार्यालयसमेत करिब करिब सुनसान नै हुन्छन् ।

जलवायु परिवर्तनको प्रभाव

जलवायु परिवर्तनको प्रभावका कारण पछिल्ला वर्षमा स्वाभाविक हिउँ पर्न सकिरहेको छैन । हरितगृह ग्यास उत्सर्जनका कारण वातावरण क्षेत्रमा परेको नकारात्मक प्रभावले हिमाली क्षेत्रमा असमान प्रकारको हिमपात हुने गरेको पाइएको छ । मनाङमा कुनै वर्ष अत्यधिक तथा कुनै वर्ष आंशिक हिमपात हुने गर्छ । कुनै वर्ष हिमपातसँगै तल्लो मनाङमा भारी वर्षा हुने गरेको छ । विगतमा हिमपातका कारण सयौंँ याक, चौँरी र भेडाच्याङ्ग्रा खर्कमा हिउँमा पुरिएर मरे । त्यसपछि माथिल्लो मनाङमा त्यस्तो भारी हिउँ भने परेको छैन ।

स्थानीयवासी चौंरीपालक किसान याङदुङ गुरुङ विगतमा जस्तो हिउँ नरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “विगतमा हिमपात धेरै हुन्थ्यो । चौँरी खर्कहरु हिमपातले पुरिने गर्थ्यो । अहिले बेमौसममा हिमपात हुन्छ । विगतमा कात्तिक, मङ्सिरमा मात्रै हिउँ पर्ने गर्थ्यो तर अहिले बेमौसममा हिउँ पर्छ । यसले गर्दा वस्तुभाउको चरण क्षेत्र नासिएको छ ।” चरण क्षेत्र नासिएपछि युवाहरू पशुपालनबाट विमुख भएको उहाँको बुझाइ छ । बेमौसमका हिउँले धेरै वनजङ्गल तथा चरण क्षेत्र र उत्पादनसमेत घटेको उहाँ बताउनुहुन्छ ।

ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घले भन्नुहुन्छ, “विगतमा जस्तो हिउँ पर्न सकेको छैन । आंशिक मात्रै परेको छ । तहननहस हुने गरी भारी हिमपात भएको छैन । हिउँदको हिमपात स्वाभाविक नभई असन्तुलित भइरहेको छ ।” विगतमा मनाङको तल्लो क्षेत्रमा समेत पाँच फिटसम्म हिउँ पर्ने गथ्र्यो । हिमपातले कृषि क्षेत्रलाई राहत पुर्‍याउँथ्यो तर पछिल्लो समयको जस्तो हिउँ देख्न पाइएको छैन ।” उहाँले हिमपातले खुसीसँगै सास्ती दिने गरेको पनि सुनाउनुभयो ।

मासिए माटाका घर

यहाँका सदियौँ वर्ष पुराना माटाले बनेका परम्परागत घर छन् । सडक सञ्जाल जोडिएपछि ऐतिहासिक घर क्रमशः मासिएका छन् । सडकको पहुँच, आधुनिकता र जलवायु परिवर्तनका कारण हिउँ नपरी वर्षा हुन थालेपछि माटाले बनेका घर विस्थापन हुने क्रम बढेको छ ।

माथिल्लो मनाङ र नार्पाभूमि क्षेत्रबाहेक अन्य क्षेत्रमा माटाका घर कमै पाइन्छ । जलवायु परिवर्तनले हिउँसँगै पानी पर्न थालेपछि यहाँ पक्की घर बन्न थालेका हुन् । माटाको घरभन्दा सुरक्षित भएकाले पनि पक्की घर बनाउनतर्फ स्थानीयवासी लाग्ने गरेको पाइन्छ ।

हिउँ पर्दा घरमाथि हिउँ थुप्रिएर बस्थ्यो । हिमपातसंँगै वर्षा हुँदा माटाले बनेका घरले थेग्न नसकेर चुहिने, भत्किने क्रम बढेपछि मासिन थालिएको बताइन्छ । हिमपातका कारण घरमाथि हिउँको चाङ लागेपछि स्थानीयवासी हिउँ पन्छ्याउन जुट्छन् । हिउँ नपन्छयाइए पग्लिएर घरभित्र चुहिने हुन्छ ।

याकचौँरी घर नजिक ल्याउने समय

खर्कमा रहेका याकचौँरीसमेत हिमपातकै कारण बस्ती नजिक स्थान्तरण गरिन्छ । पशु चौपायालाई आहारा दिन र न्यानो पार्न तिनलाई बस्ती नजिक सार्ने गरिन्छ । हिमाली क्षेत्रमा हिमपातका बखत ठाउँठाउँमा सडक अवरुद्ध हुँदा पर्यटक तथा कामदारले समेत सास्ती भोग्नुपरेको छ ।

हिमपातले घरबाहिर निस्कन नसक्ने अवस्थामा कामदारले बाक्लो हिउँमा जमेर बसेका पशुचौपायालाई तातो आहारा दिनसमेत मुस्किल हुने गर्छ ।

समुद्री सतहबाट तीन हजार ८०० मिटरको उचाईमा रहेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका –१ स्थित मुक्तिनाथ मन्दिरको छानामा र मन्दिर परिसरमा थुप्रिएको हिउँ । तस्वीरः निरज थकाली

किसानमा खुशी

हिमपातले स्थानीयवासीलाई सास्ती भए पनि यहाँका किसान भने उत्साहित हुने गर्छन् । हिउँदयामको हिमपात तिनका लागि वरदान सावित हुने भएकाले उत्साह थपिने गरेको कृषि ज्ञान केन्द्र मनाङका प्रमुख राजेश गुरुङले बताउनुभयो । हिउँले जमिनको भित्री सतहलाई सिंचित गर्ने भएकाले कृषकले लगाएको अन्नबाली फस्टाउने उहाँको भनाइ छ । उहाँका अनुसार हिउँले स्याउ, ओखर, उवा, फापर, आलुलगायत फलफूल र अन्नबाली सप्रिन्छ । हिउँले फलफूल तथा तरकारीमा लाग्ने विभिन्न प्रकोपसमेत नियन्त्रण गर्न सघाउने उहाँ बताउनुहुन्छ । प्राङ्गारिक औषधिका रुपमा समेत हिउँको योगदान उत्तिकै हुने गर्छ । पछिल्ला वर्षमा अपेक्षा गरेअनुरूप हिउँ पर्न नसक्दा स्याउलगायत फलफूल र अन्नबालीमा स्क्याप रोग लागेकाले कम स्याउ उत्पादन हुनाका साथै गुणस्तरसमेत खस्किएको छ ।

‘आइस क्लाइम्बिङ’

पहिले हिउँ खेल्न र रमाउन जिल्ला बाहिरका उल्लेख्य पर्यटक मनाङ आउने गर्थे । कोभिड –१९ सङ्क्रमणका कारण पछिल्ला तीन वर्ष हिमपातले पर्यटन क्षेत्रलाई योगदान दिन सकेको छैन । हिउँ खेल्ने पर्यटक वृद्धि गर्नाका साथै जोखिममा पर्वतारोहणमा सहयोग पुर्‍याउने उद्देश्यले ‘आइस क्लाइम्बिङ’ प्रशिक्षण दिइएको छ । पहिले नेपाल पर्वतारोहण प्रशिक्षण सङ्घका आयोजनामा नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनको सहयोगमा ङिस्याङ–४ हुम्डेस्थित ‘हुम्डे झरना’मा लेबल –१ अन्तरगतको आइस क्लाइम्बिङ प्रशिक्षण दिइएकामा यसपालि आवश्यक प्रशिक्षार्थी सहभागी गराउन सकिएन ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.