सुदूरपश्चिम प्रादेशिक महोत्सव बिहीबारदेखि

डोटी, २९ माघ : ‘सेतीको हिरा खप्तडको मोती, व्यापार पर्यटन र जलस्रोतबाट बनाउछौँ समुन्नत डोटी’ भन्ने मूल नाराका साथ नेपाल भम्रण वर्ष २०२० लाई सफल पार्नका लागि जिल्लाको दिपायलमा आयोजना गरिन लागेको प्रादेशिक व्यापारिक कृषि तथा पर्यटन महोत्सवको तयारी तीव्ररुपमा भइरहेको छ ।

डोटी चेम्बर अफ कमर्सको आयोजनामा सञ्चालन हुने उक्त महोत्सव हेर्न आउने दर्शक तथा पर्यटकको स्वागतका लागि जिल्लाको दिपायल, पिपल्ला, द्वारीखोला, विमानस्थललगायतका ठाउँमा स्वागत द्वार धमाधम निर्माण गरिन लागेका छन् भने महोत्सव स्थलमा स्टेज, चर्खा, रोटेपिङ, बालउद्यान, मौतका कुवाँलगायतका मनोरञ्जनका खेल धमाधम निर्माण हुन लागेको चेम्बर अफ कमर्सका सचिव तेजबहादुर डुम्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवका तयारीका क्रममा मञ्च व्यवस्थापन, गेट निर्माण, कक्ष निर्माण, कलाकारको छनोट, प्रचारप्रसार, अतिथिलाई निमन्त्रणा गर्नेलगायतका कार्य धमाधम भइरहेको छ ।

महोत्सवको अन्य आकर्षणका रुपमा यस वर्षको मुख्य आकर्षक प्याराग्लाइडिङ, सेती नदीमा जलयात्रा, डोटीका स्थानीय खानाका परिकार, रमाइलो मेला, छलिया, हुड्के, स्थानीय झाँकी, घरेलु उत्पादन प्रदर्शनी र बिक्रीवितरण, कृषि प्रदर्शनी रहने चेम्बरका अध्यक्ष खगेन्द्रबहादुर साउदले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले पर्यटन वर्ष २०२० लाई सफल बनाउन र जिल्लामा भएका स्थानीयस्तरका कला संस्कृति देश विदेशमा चिनाउने उद्देश्यले महोत्सवको आयोजना गरेका छौँ, यहाँका कला संस्कृति देश विदेशमा चिनाउनेछौँ ।” त्यस्तै उक्त महोत्सवमा छिमेकी मुलुक भारतका नागरिकले आफ्नो कला संस्कृति प्रदर्शन गर्नुका साथै पञ्जाव शहरको मुख्य आकर्षणका रुपमा रहेको पञ्जावी भाङणा नाचसमेत प्रस्तुत गर्नका लागि सम्झौता भएको चेम्बरका सदस्य रामबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “महोत्सवमा पञ्जावको उत्कृष्ट नाच भाङ्णा नाच प्रदर्शन गर्ने सहमति भएको छ, आशा छ उक्त नाचले दर्शकलाई निकै मनोरञ्जन दिनेछ ।”

आउँदो फागुन १ देखि १३ गतेसम्म उक्त महोत्सव सञ्चालन हुने भएको छ । महोत्सवको उद्घाटन सुुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गर्नुहुने कार्यक्रम तय भएको डोटी चेम्बर अफ कमर्सले जनाएको छ । महोत्सव दिपायलको दिल्पेश्वर मठमा सञ्चालन हुने भएको छ । यतिमात्र नभई महोत्सवमा चर्चित राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारको पनि प्रस्तुतिसमेत रहने अध्यक्ष साउदले जानकारी दिनुभयो । उहाँका अनुसार दिपायलको तिखा क्षेत्रबाट प्याराग्लाइडिङ उडान गरिनेछ । प्याराग्लाइडिङबाट दिपायल, सिलगढी, सेती नदीको दृष्य अवलोकन गर्न सकिनेछ ।

महोत्सव अवधिमा जिल्लामा कम्तीमा पनि रु एक करोडभन्दा बढीको आर्थिक कारोवार गर्ने लक्ष्य रहेको अध्यक्ष साउदले बताउनुभयो । उहाँले भन्नुभयो, “महोत्सव अवधिमा सेती नदीमा जलयात्रा र तिखो अग्लो डाँडाबाट प्याराग्लाइडिङ हुने भएकाले यो वर्ष अधिक पर्यटक र दर्शक अवलोकनका लागि आउनेछन् र जिल्लाको प्रचारप्रसारसँगै आम्दानी पनि हुनेछ ।”

सुदूरपश्चिम प्रदेशमा रहेका धार्मिक, ऐतिहासिक र पर्यटकीयस्थलको प्रचारप्रसार गरी नेपाल सरकारद्वारा घोषणा गरिएको भ्रमण वर्ष २०२० लाई पूर्णरुपमा सफल पार्नका लागि पनि महोत्सवको आयोजना गरिएको सो संस्थाका सचिव तेजबहादुर डुम्रेले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो उद्देश्य भनेको महोत्सव आयोजना गर्ने मात्रै हैन, नेपाल भ्रमण वर्षलाई सफल पार्नु पनि हो, सबैको सुझाव र सहयोग आवश्यक छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.