विश्वविद्यालयहरुलाई अनुसन्धानका केन्द्र बनाउने अभियानमा सक्रिय डा. दंगाल

डा. दिलनाथ दंगाल

सुमित्रा फुयाँल । काठमाडौँ, २९ कार्तिक : विश्वमा अब्बल देखिएका विश्वविद्यालयहरु अनुसन्धान गरेर नै अब्बल बनेका हुन भन्दै त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र प्राध्यापन गरिरहेका डा. दिलनाथ दंगालले लकडाउन सुरुभएबाट नै जुममार्फत अनुसन्धानलगायतका आजसम्म ९१ ओटा कार्यक्रमहरु सम्पन्न गरिसक्नु भएको छ । उहाँका कार्यक्रममा पूर्व मन्त्रीहरु, नेपाल सरकारका पूर्व र वहालवाला सचिवहरु, नेपाल राष्ट्रबैंकका पूर्व गभर्नर र कार्यकारी निर्देशक, योजना आयोगका पुर्व उपाध्यक्ष, नेपाल सरकारका मुख्यमन्त्री, विभिन्न विश्वविद्यालयका पदाधीकारीहरु, कोरोना सम्बन्धि जानकार डाक्टरहरु र अनुसन्धानको क्षेत्रमा ख्याती प्राप्त देश र विदेशका १५ जना विज्ञहरुले स्रोत व्यक्तिको रुपमा कक्षा लिइसक्नु भएको छ भने एउटा कार्यक्रमलाई ३५ हजार सम्म दर्शकले प्रत्यक्ष र भिडियो मार्फत हेरेर लाभ लिइसकेका छन् ।

संयोजकको एक्लो प्रयास तथा विभिन्न विश्वविद्यालयका प्राध्यापकहरुको सल्लाह र सहयोगमा सम्पन्न कार्यक्रमहरु मध्ये गत भाद्रमा सम्पन्न पहिलो चरणको अनुसन्धान मूलक कार्यक्रकमको पूर्ण सफलता र सहभागीहरुको माग अनुसार यहि कार्तिक २० बाट सुरुभएर दोस्रो चरणको सात दिने अनुसन्धान कार्यक्रम पनि सम्पन्न भइसकेको छ । अनुसन्धानको क्षेत्रमा विश्वविद्यालयका प्राध्यापक, पिएचडी र एमफिल स्कलरहरु यति ठूलो संख्यामा एउटै थलोमा जम्मा भएर कार्यक्रम आयोजना भएको नेपालमा यो पहिलो अवसर हो । विश्वविद्यालय वा अन्य ठूला ठूला संस्थाहरुले गर्नु पर्ने काम डा. दंगालको एक्लो प्रयासमा भएको र सहभागीहरुले अत्यन्तै ठूलो लाभ लिएको सहभागीहरुले नै बताएका छन् ।

विश्वविद्यालयहरुलाई अनुसन्धानको केन्द्र बनाएर विश्व रेङ्किङ्मा नेपालका विश्वविद्यालयहरुलाई अब्बल बनाउनु पर्छ भन्ने उद्देश्यका साथ सुरु गएिको यो कार्यक्रम निःशुल्क रुपमा सञ्चालन भएको र आगामी दिनहरुमा विषयगत रिसर्च कार्यक्रम चलाउने गरी सुचना गरीसकिएकोे कार्यक्रमका संयोजक एवं संचालक दंगालले बताउनु भएको छ । यस्ता कार्यक्रमहरु निःशुल्क संचालन हुनुले शुल्क तिर्न नसक्ने र दुरदराजमा बस्नेहरु जहाँ हत्तपत्ति स्रोत व्यक्तिहरुको पहुँच हुँदैन तिनीहरुका लागी यो कार्यक्रम वरदान सावित भएको छ ।
कार्यक्रमको दौरानमा लामो समयसम्म अन्तक्र्रियात्मक ढङ्गले अनुसन्धानका अन्तरकुन्तरसम्म पसेर सहभागीका जिज्ञासाको सम्बोधन गरिदिने अत्यन्तै अनुभवी नेपालका अमुल्य गहनासङ्ग यस्तो महामारीका बेला आफ्नै घरमा बसेर साक्षात्कार गर्न पाउनु कार्यक्रमका सहभागीहरुका लागि अहोभाग्य नै हो भन्दा पक्कै पनि अतिशयोक्ती नहोला ।

यसरी अनुसन्धान जस्तो सन्सारमै अनेक तहल्का मच्चाउन सक्ने गहन क्षेत्रमा नेपालका युवावर्ग, विश्वविद्यालयका अनुसन्धानकर्ता र अनुसन्धान क्षेत्रका महान गुरुवर्गलाई यस्तो महामारीका बिच अनुसन्धानरुपी मायाको एउटै मालामा उन्न यो कार्यक्रम सफल भएको छ । उहाँले यो सत्कर्मलाई भविष्यमा समेत जारी राख्दै पुनः झन् व्यवस्थित र विशिष्ट ढंगले विषयगत रुपमै मुलुकभरका प्राध्यापकसङ्ग थप माया पिरती गास्ने बाचाबन्धन गरिसकेको र उनीसँग मायाप्रेम गर्न अनुसन्धानकर्ता र अनुसन्धानका विज्ञ थप उत्साहित र तयार भैसकेको कुरा पनि कार्यक्रम संचालकले गरेको तथा गुरुवर्गले २१ औं शताब्दीको अमुल्य उपहार ईन्टरनेटको अधिकतम उपयोग गर्दै हामीलाई त्यो खारिएको ज्ञान र अनुभव बाँड्दै गर्दा ज्ञान जति बाँडे पनि जहिल्यै बढिरहने उसको मौलिक स्वभाव भएरै त होला आदरणीय गुरुहरुले त्यति धेरै ज्ञान हामी माझ पस्कन सक्नुभएको भन्ने कुराले सहभागीलाई थप सोचमग्न बनाएको छ भन्दै इलामबाट सहभागी हुनु भएका सह प्राध्यापक अरुण नेपालले आफ्नो फेशबुक वालमा लेख्दै अनुसन्धान कार्यमा रुची भएर पनि आफुले तीब्र चाहना राख्दाराख्दै भेट गर्न नसकेका अनुसन्धानका ज्ञाता र विज्ञसङ्ग भेट गराइदिएर पुर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सहभागीहरुका दिलको गहिराई चुम्न डा. दंगाल थप सफल भएका छन् भनेर कार्यक्रमको समिक्षा गरेका छन् ।

कार्यक्रमको समापन पछि कार्यक्रमको भिडियोलाई युट्युवमा अपलोड गरेर फेसबुकमा समेत शेयर गरी पछि सम्म हेर्न सकिने र आफुहरुले आफ्ना विद्यार्थीहरुलाई समेत ती भिडियोहरु शेयर गर्ने गरेको सहभागी प्राध्यापकहरुले बताएबाट पनि अब नेपालमा पनि युट्युवमा पाठ्य सामग्री अपलोड गर्ने र ज्ञान बाँड्ने कार्यको थालनी भएको देखिन्छ । सो कार्यक्रममा प्राविधिक र अन्य रुपमा कक्षा १२ मा पढ्दै गरेकि उहाँ कै छोरी दिलासाले सहयोग गरिरहेकोले आफुलाई सहज भएको पनि डा. दंगालले बताउनु भएको छ । कार्यक्रम संचालनको समयमा ८/१० घण्टा समय दिनु परे पनि साथीहरुको उत्साह देख्दा थकानको महसुस नभएको उहाँले बताउनु भएको छ ।

नेपाल प्रगतिशील प्राध्यापक संगठनका केन्द्रिय सचिव समेत रहेका डा. दंगालले कार्यक्रम संचालनको क्रममा सबै प्राध्यापक संघ संगठनको नेत्रित्वहरुले कार्यक्रममा आएर शुभकामना दिनुका साथै आवश्यक परेको सबै क्षेत्रमा खुलेर सहयोग गरेको भएता पनि केहि ठूला पदमा रहेका र आफुलाई सोकल्ड प्राध्यापकका नेता भन्नेहरुले आफ्नो दोकान सुक्ने र प्राध्यापकहरुलाई गुमराहमा पारेर फाइदा लिने दिन गए कि भनेर कार्यक्रममा विभिन्न प्रकारको अवरोधहरु सिर्जना गर्ने गरेकोले कतिपय अवस्थामा स्रोत व्यक्ति र प्रमुख अतिथिहरुको नाम अगाडीनै सार्वजनिक गर्न नमिलेको अनुभव पनि आफुले संगालेको बताएका छन् ।

आफु प्राध्यापक संघको नेत्रित्वमा रहेको र आफुले सके सम्म विश्वविद्यालय, प्राध्यापक, विद्यार्थी र उच्च शिक्षाको क्षेत्रमा केहि गर्न सकिन्छ कि भनेर लागेको र लागि रहने विचार उनको छ । २ दर्जन जति अर्थशास्त्रका पाठ्यपुस्तक र त्यति नै संख्यामा रिसर्च आर्टिकल र सयौँको संख्यामा दैनिक पत्रिकामा अर्थ र उच्चशिक्षाका क्षेत्रमा लेखहरु लेखि सकेका डा. दंगाल आफु पूर्णरुपमा विश्वविद्यालयमा मात्र काम गर्ने जनाउछन् । विश्वविद्यालयले मेरा लागी ठूलो लगानी गरेको हुनाले अब मैले विश्वविद्यालयका लागी केहि गर्नुपर्छ भन्ने उद्देश्यले पनि आफू यो महान एकेडेमिक काममा लागेको र लागीरहने उहाँ बताउनु हुन्छ ।

कार्यक्रमलाई शुभकामना दिने क्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. भिम सुवेदीले यो अनुसन्धानको भर्चुअल कक्षामा सहभागीहरुको ठूलो उपस्थितीले प्रवेश पाउन गारो हुनुनै कार्यक्रमको सफलता भएको र अनुसन्धान भन्ने कुरा गरेर मात्र जानिने र यहाँ यहि कुरा सिकाउन खोजिएको कुरा व्यक्त गर्नुभयो । पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले कोभिडले आक्रान्त पारेको अवस्थामा विद्वान स्रोत व्यक्ति र रिसर्चका स्कलरहरुलाई जोड्ने कार्यक्रम सञ्चालन गरेर संचलकले स्तुत्यको काम गर्नु भएको कुरा व्यक्त गर्नुभयो ।

सुप विश्वविद्यालयका उपकुलपति प्रा.डा. अम्मराज जोशीले विश्वविद्यालयका प्राध्यापक र रिसर्चमा लागेका साथीहरुमा रिसर्चमा बानी परोस् भनेर यो कार्यक्रमको आयोजना गरिएको मत राख्नुभयो । मप विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्द बहादुर सिंहले अनुसन्धानमा प्राध्यापकहरु लाग्ने हो भने विश्वविद्यालयहरु होपको केन्द्र हुन्छन् त्यसो भयो भने मानिसहरुको विश्वविद्यालय प्रति विश्वास बढ्छ, सायद यहि दृष्टिकोण पुरा गर्न हामीलाई कोभिडले यो अवसर दियो तथा यो अवसरलाइ डा. दंगालले क्याप्चर गरेर हामी सबैलाइ अवसर दिनु भएकोमा धन्यवाद दिर्दै शुभकामना ब्यक्त गर्नु भयो ।

त्यसैगरी खुला विश्वविविद्यालयका उपकुलपति प्रा.डा. लेखनाथ शर्मा, राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्रा. भरत झा र पुर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइरालाले समेत कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नु भयो । त्रिविका रेक्टर प्रा.डा. शिवलाल भुषालले रिसर्चका क्षेत्रमा पुराना विद्वान सरहरुको ज्ञानलाई नयाँ पुस्ता सम्म पुर्याउने काम यो कार्यक्रमले गरेको, पिएचडी र एम फिमफिलका विद्यार्थीहरुलाई रिसर्चको क्रममा जहाँ समस्या पर्छ त्यही व्यवहारमा खड्किएका कुराहरु प्रश्न गरेर वा पौडी खेल्नलाई कुवा बाहिर बसेर हैन कुवा भित्रै पसेर सिकाउने काम यो कार्यक्रमले गरेको र विश्वविद्यालयले गर्ने यस प्रकारका कार्यक्रम केन्द्रीकृत गरेर गर्न नसकेको सन्दर्भमा डा. दंगालले गर्नु भएकोमा आभार प्रकट गर्नुभयो ।

नेपाल प्रगतिशील प्राध्यापक संगठनका का.वा. अध्यक्ष प्रा.डा. कल्याणी मिश्रले एक जना प्राध्यापकले गर्न चाह्यो भने धेरै गर्न सक्छ भन्ने कुराको ज्वलन्त उदाहरण हो दिलनाथ दंगाल भन्दै प्राध्यापकहरु जतिसुकै सक्षम भएपनि रिसर्चको क्षेत्रमा कमजोर भएको कारणले सरकारले विश्वास नगरेका सन्दर्भमा यो कार्यक्रमले प्राध्यापकहरुलाई रिसर्चको क्षेत्रमा अगाडी बढ्न हौसला प्रदान गरेको कुरा व्यक्त गर्नु भयो । नेपाल प्राध्यापक संंघका अध्यक्ष प्रा.डा. बुद्धबहादुर थापा र त्रिवि प्राध्यापक संघका सभापति प्रा.डा. वसन्त ढकालले पनि कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.
error: