एसइई परीक्षाका सबै केन्द्रमा ‘हेल्थ डेस्क’को प्रबन्ध

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल

काठमाडौँ, ४ चैत : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आसन्न माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा त्रसित नभई भाग लिन विद्यार्थीलाई आह्वान गर्दै सबै केन्द्रमा सहायता कक्ष ‘हेल्थ डेस्क’को प्रबन्ध गरिएको जनाउनुभएको छ ।

कोभिड–१९ को सङ्क्रमणको जोखिमप्रति सचेत हुन आग्रह गर्दै मन्त्री पोखरेलले आज सार्वजनिक गर्नुभएको अपिलमा परीक्षाका लागि पर्याप्त सावधानीको प्रबन्ध गरिएकाले त्रसित र भयभित हुनु नपर्ने उल्लेख गर्नुभएको हो । उहाँले सङ्क्रमणको रोकथाम गर्नुपर्ने र परीक्षालाई मनोवैज्ञानिक एवं त्रासमुक्त वातावरणमा सम्पन्न गर्नुपर्ने भएकाले विद्यार्थीलाई व्यक्तिगत सरसफाइमा ध्यान दिन, माक्सको प्रयोग गर्न, अरूसँग हात नमिलाउन, सकभर भीडभाडमा नजान पुनः स्मरण गराउनुभएको छ ।

मन्त्री पोखरेलको अपिलमा भनिएको छ, ‘विद्यार्थीको पढ्न पाउने हकअधिकार सुरक्षित हुनुपर्छ भन्नेमा सरकार गम्भीर छ । विद्यार्थीको स्वास्थ्य सुरक्षा र बचावट पहिलो प्राथमिकता हो । यसका लागि परिस्थितिको नियमित विश्लेषण गरेर आवश्यक परेमा उच्चस्तरीय समितिबाट निर्णय गरिनेछ तर हाल पूर्वनिर्धारित तालिकाअनुसार परीक्षा हुनेछ ।’ सो परीक्षा यही चैत ६ देखि १७ गतेसम्म सञ्चालन हुँदैछ । परीक्षामा कूल चार लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका छन् । देशभर एक हजार ९९५ केन्द्र निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.