वृद्धि शुल्क फिर्ता गर्न शिक्षामन्त्री पोखरेलको आग्रह

काठमाडौँ, १४ असोज : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले निजी मेडिकल कलेज सञ्चालकलाई मेडिकल शिक्षाको आफूखुशी वृद्धि गरिएको शुल्क फिर्ता गर्न आग्रह गर्नुभएको छ ।

अनेरास्ववियुले आयोजना गरेको ‘चिकित्सा शिक्षाका समस्या तथा ऐन कार्यान्वयनको सवाल’ विषयको अन्तरक्रिया कार्यक्रममा उहाँले सरकारले तोकेको मापदण्डअनुसार नै मेडिकल सञ्चालकलाई शुल्क लिन आग्रह गर्नुभएको हो । उहाँले वृद्धि शुल्क फिर्ता नगरे कडा कदमसमेत चालिने जानकारी दिनुभयो ।

मन्त्री पोखरेलले विश्वविद्यालय, प्रतिष्ठान, निजी कलेजसंँगको सहमतिमा नयाँ शुल्क तोक्नका लागि कार्यदल बनेको समेत जानकारी दिनुभयो । उहाँले सबैको साझा प्रयासबाट राष्ट्रिय चिकित्सा शिक्षा ऐन बनेको भन्दै कार्यान्वयन गरेर चिकित्सा क्षेत्रका विकृतिलाई सुधार गरिने बताउनुभयो । मुलुकलाई शैक्षिक केन्द्र बनाउन सरकार दृढ रहेको उल्लेख गर्दै उहाँले गुणस्तरीय शिक्षामा कसैसँग पनि सम्झौता नगरिने बताउनुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता खगराज अधिकारीले निजी कलेजले तोकिएको मापदण्डमा कलेज सञ्चालन गर्न नसके राज्यलाई हस्तान्तरण गर्नुपर्ने बताउनुभयो । नेपाली काङ्ग्रेसका नेता एनपी साउदले ऐनमा भएका कमजोरीलाई सुधार गरेर जानुपर्ने बताउनुभयो ।

अनेरास्ववियुका अध्यक्ष ऐन महरको अध्यक्षतामा भएको निजी मेडिकल कलेज एशोसिएसनका महासचिव सुनिल शर्माले ऐन लागू गर्न आफूहरु तयार रहेको जनाउँदै ऐनअनुसार नयाँ शुल्क तोक्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्ष नैनसिंह महरले सरकारको मापदण्डअनुसार निजी कलेजले चिकित्सा शिक्षा सञ्चालन गर्न नसके सरकारीकरण गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.