संस्कृत भाषा र पूर्वीय दर्शनबाट ५० जना दीक्षित

काठमाडौँ, ११ असोज : पूर्वीय वाङ्मय प्रतिष्ठानबाट एक वर्षमा ५० जना प्रशिक्षार्थी संस्कृत भाषा र पूर्वीय दर्शनबाट दीक्षित भएका छन् ।

गत वर्ष स्थापित प्रतिष्ठानमा अध्ययन गरेका विद्यार्थीलाई आज सत्रान्त प्रमाणपत्र वितरण गर्दै वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाललाई वाङ्मय एवं कला, साहित्य, संस्कृतिबाट उच्च र समृद्ध बनाउन आह्वान गर्नुभयो ।

प्रतिष्ठानले संस्कृत भाषा, देवनागरी लिपिका अक्षर र शब्द संरचना तथा पूर्वीय वाङ्मयका स्रोत, वेद, गीता, वैदिक समाज, संस्कार, मानव विकासक्रम, आत्मा, आयुर्वेद आदि विषयमा ज्ञान प्रदान गरिरहेको छ ।

सो अवसरमा प्रशिक्षक प्रा डा लक्ष्मणप्रसाद गौतमले पश्चिममा इतिहास, ज्ञान आदिको अन्त्य भनिए पनि हामीकहाँ नेती नेती अर्थात् कहिल्यै अन्त्य नभएको बताउनुभयो । प्रशिक्षक डा नारायणप्रसाद गड्तौलाले यस भूमिमा देवताहरु पनि जन्मन लालायित हुने बताउँदै पूर्वीय दर्शनको अनुसन्धानमा लाग्न आग्रह गर्नुभयो । कार्यक्रम संयोजक डा विवेक घिमिरेले जिउनु र बाँच्नुमा फरकपन भेटिएको बताउँदै जीवन बाँच्न संस्कृत भाषा र वाङ्मयले सिकाउने विचार राख्नुभयो ।

हरेक शनिबार दिइने सो प्रशिक्षणमा चिकित्सक, प्राध्यापक, शिक्षक, निजामती सेवाका कर्मचारी, औषधि व्यवसायी, लेखा परीक्षक, पत्रकार, विद्यार्थी, व्यापारी, गैससकर्मी आदिको सहभागिता छ । हजारौँ वर्ष लामो इतिहास बोकेको भाषाहरूको जननी मानिने संस्कृत भाषा र जीवन्त सभ्यता, अमूल्य संस्कृति र ज्ञानविज्ञानको धनी पूर्वीय वाङ्मयको पुनर्जागरण गर्ने प्रतिष्ठानको प्रयास रहेको कार्यक्रम संयोजक डा घिमिरेले बताउनुभयो । अठार –२० दिनको सो कक्षाबाट संस्कृत भाषा सामान्य बोल्न र राम्रोसँग अर्थ लगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.