पाठ्यपुस्तक छपाई गर्न निजी क्षेत्रलाई दिने सरकारको निर्णय प्रति विद्यार्थी संगठनको विरोधमा मुद्रण व्यवसायीको आपत्ति

शम्भु के. सी. । काठमाडौँ, १४ माघ : आगामी शैक्षिक सत्रका लागि सामुदायिक विद्यालयका कक्षा १ देखि ५ सम्मका पाठ्य पुस्तकको छपाई गर्ने जिम्मा नेपाल सरकारले निजी क्षेत्रलाई छाप्न दिने निर्णय गरेकोमा विद्यार्थी संगठनले गरेको विरोधको मुद्रण व्यवसायीहरुले आपत्ति जनाएका छन ।

आगामी शैक्षिक सत्रका लागि सामुदायिक विद्यालयका कक्षा १ देखि ५ सम्मका पाठ्य पुस्तकको छपाई गर्ने जिम्मा नेपाल सरकारले निजी क्षेत्रलाई छाप्न दिने निर्णय गरेकोमा विद्यार्थीले समयमै पाठ्यपुस्तक पाउनुपर्छ भन्ने सरकारको निर्णयको विरोध गर्दै नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) सम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियुले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालको पुत्ला दहन जस्तो निकृष्ट कार्य र प्रदर्शन गरेकोमा उपत्यका मुद्रण उद्योग समन्वय समितिको गम्भिर ध्यानाकर्षण भएको काठमाडौँ मुद्रण उद्योग संघका अध्यक्ष तथा उपत्यका मुद्रण उद्योग समन्वय समितिका संयोजक घन नारायण श्रेष्ठले बताउनु भएको छ ।

उपत्यका मुद्रण उद्योग समन्वय समितिले एक विज्ञप्ती निकालेर सामुदायिक विद्यालयका पाठ्यपुस्तक छपाई तथा वितरणका लागि सरकारी स्वामित्वमा रहेको जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले कक्षा ३ देखि माथिका सबै पाठ्यपुस्तक र निजी क्षेत्रले १ देखि ३ कक्षासम्मका पाठ्यपुस्तक छपाईको जिम्मा पाएकोमा जनक शिक्षा सामाग्री केन्द्र लि. ले अघिल्लो शैक्षिक सत्र सकिएर अर्को शैक्षीक सत्र सुरु हुन दुई महिना बाँकी रहँदासम्म पनि पाठ्यपुस्तक विद्यार्थीको हातमा पु¥याउन नसकेको तर निजी क्षेत्रले आफ्नो जिम्मेवारी अनुरुपका पाठ्यपुस्तक छपाई तथा वितरणको कार्य समयमा नै सकेर जनक शिक्षाले नसकेर बाँकी काम समेत निजी क्षेत्रले सहयोग गरेको सबैमा सर्वविदितै भएको बताएको छ ।

विज्ञप्तीमा भनिएको छ, समयमै पाठ्यपुस्तकहरु विद्यार्थीको हातमा पुग्न नसक्दा समग्र शैक्षिक गतिविधि नै प्रभावित भएको र सामुदायिक विद्यालयमा पढ्ने आम नागरिकका छोराछोरीको भविष्य अन्धकार बन्न पुगेको विषयलाई विद्यार्थी संगठनहरुले आफ्ना आवाजहरु बुलन्द गर्नु पर्नेमा त्यसको उल्टो जनक शिक्षा सामाग्री केन्द्र ले गरेको व्यथितिलाई निरन्तरता दिने गरि गरेको आन्दोलन विद्यार्थीको हकहित विपरित छ । जनक शिक्षा सामाग्री केन्द्रमा हुने व्यथितिलाई निरन्तरता दिदैं सीमित व्यक्तिहरुको उक्साहटमा नेकपा एस पार्टीसंग सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले विषय वस्तुको जानकारी नै नराखी शिक्षा मन्त्रीको पुत्ला दहन गर्नु अत्यन्तै अस्वभाविक, अव्यवाहारिक र सबैलाई आश्चार्य चकित पार्ने खालको ठहर आम मुद्रण व्यवसायीहरुको रहेको छ ।

सामुदायीक विद्यालयका सबै तहका पाठ्यपुस्तक सन् २०१४ सम्म निजी क्षेत्रलाई दिने भनी सरकारले यस अघिनै दातृ संस्थालाई प्रतिवद्धता जनाए अनुरुप क्रमश आठ कक्षा सम्म निजी क्षेत्रलाई दिन सुरु गरिसकेको भएतापनि केही स्वार्थी समूह र केही व्यक्तिहरुको कलुसित भावनाका कारण त्यस प्रकृतिको सरकारको पवित्र निर्णयलाई खुम्चाउँदै तिन कक्षासम्मका पाठय्पुस्तक छाप्न मात्र पाउने गरि निजी क्षेत्रलाई सीमित गरिदै लगिएको अवस्थामा हाल सरकारले निजी क्षेत्रलाई कक्षा ५ सम्मका पाठ्यपुस्तकहरु छाप्न दिनु सकारात्मक निर्णय भएपनि पर्याप्त भने होइन । दातृ निकायहरुसंग गरिएका प्रतिवद्धता अनुरुप पाठ्यपुस्तक विद्यार्थीको हातमा समयमै पु¥याउने सुनिश्चितता गर्नका लागि पनि सबै तहका पाठ्यपुस्तक छपाई तथा वितरणका लागि निजी क्षेत्रलाई दिनुको कुनै विकल्प छैन ।

यसर्थ नेकपा एस सम्वद्ध अनेरास्ववियुले यस्ता प्रकृतिका विषयवस्तु जानकारी विना गरिएका आन्दोलन आफ्नै राजनीतिक विचार सम्मत समेत नरहेको हुँदा, उक्त क्रियाकलापहरु अव्यवहारिक र युक्तिसंगत समेत नरहेकोले विरोधका कार्यक्रमहरु फिर्ता लिन समेत हामी जोडदार माग गर्दर्छौ । साथै सरकारको जनमैत्री एवं बालबालिकाको हकहित र बालअधिकारका सम्बन्धमा भएका निर्णयहरुको स्वागत गर्दै साथ दिन समेत हामी तयार छौं अन्यथा विरोधका लागि विरोध मात्र विकल्प होइन ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.