स्याङ्जाका थापाको कोरियामा निधन

बाेमजन गुरुङ । सोल, १ जेठ : ईपिएस प्रणाली मार्फत रोजगारीको शिलशिलामा दक्षिण कोरियाको ख्यङ्जु शहर नजिकै एक कम्पनीमा कार्यरत ३३ वर्षीय खड्का बहादुर थापाको निधन भएको छ ।

स्याङ्जा जिल्लाको किचनास माथिल्लो चेप्टे घर भई विगत ७ वर्षदेखि कार्यरत थापा कम्पनीको नाईट ड्यूटी सकेर १२ तारिक बिहान ९ बजेतिर सुतेका थिए । कोठामा एक्लै सुत्ने गरेका उनी साँझको ६ बजेसम्म पनि नउठेपछि कम्पनीमा सँगै काम गर्ने साथीहरुले हेर्न जाँदा मृत अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।

वैधानिक रुपमा कोरियाको पहिलो कार्यकाल अर्थात ४ वर्ष १० महिना पूरा गरेर फेरि दोश्रो कार्यकालका लागि कोरिया आएका उनका परिवारमा आमा, दुई दाईहरु र उनी स्वयं आफू कान्छा अनि अविवाहित सदस्य हुन् । उक्त कम्पनीमा उनी सहित ५ जना नेपाली र ३ जना चाइनीज विदेशी कामदारको रुपमा रहेको मृतकका कम्पनी सहकर्मी गोरखाका रुपेश पुडासैनीले जानकारी गराए ।

अहिले मृतक थापाको शव ख्यङ्जु नजिकै शवगृहमा राखिएको छ । घटनाको आवश्यक छानबिन र मृतकको शव व्यवस्थापनको बारेमा छिटै परिवारसँग सल्लाह गरिने नेपाली राजदुतावास सउलका कार्यवाहक राजदूत रामसिं थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.