साउदीमा ज्यान गुमाएका जर्घाको शव नेपाल ल्याउन समस्या

तानसेन, ७ माघ : साउदी अरबमा ज्यान गुमाएका पाल्पाको पूर्वखोला गाउँपालिका–४ देवीनगरका २२ वर्षीय मोहन जर्घाको शव अहिलेसम्म पनि घर ल्याउन नसकिएको परिवारले जनाएको छ । काम सकेर साइकलमा कोठातर्फ फर्कंदै गर्दा कारको ठक्करबाट गत पुस २३ गते ज्यान गुमाएका जर्घाको शव अहिलेसम्म पनि घरमा ल्याउन नसकिएको मृतकका दाजु कृष्ण जर्घाले गुनासो गर्नुभयो ।

आफूले चिनेजानेका र सहयोग गर्नेखालको कोही नभेटिएकाले शव कसरी ल्याउने थाहा नभएको कृष्णको भनाइ छ । उहाँले भन्नुभयो, “भाइको मृत्युको खबर सुनेलगत्तै मलेसिया पुगेको २७ दिनमै घर आए, घरमा आउँदा आमाको अवस्था बेहाल छ, भाइको शव कसरी झिकाउने प्रक्रिया केही थाहा छैन्, अलपत्र छौँ ।”

मोहन कामको सिलसिलामा काठमाडौँको सिनामङ्गलमा रहेको फजल इन्टरनेशनल प्रालिमार्फत साउदी अरबको रियाद पुग्नुभएको थियो । २२ वर्षीय मोहनको नेपालबाट विदेश पुगेको २२ दिनमै ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.