इन्धन शीर्षकमा मन्त्रीहरूको दोहोरो लालसा : मन्त्रालयको तेल हालेर नगद खल्तीमा

पुष्प ढुङ्गाना । प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचारमा ‘शून्य सहनशीलता’को नारा दोहोर्‍याइरहेका छन् । तर, उनी नेतृत्वका २४ मध्ये २३ मन्त्री र राज्यमन्त्रीले इन्धनमा समेत भ्रष्टाचार गरिरहेका छन् । मन्त्रिपरिषद्का सदस्यहरूको पारिश्रमिक सेवा–सुविधासम्बन्धी ऐनअनुसार इन्धन खर्च लिइरहेका उनीहरूले मन्त्रालय वा मातहतका कार्यालयबाट तेल हालिरहेका छन् ।
अधिकांश मन्त्रीले मन्त्रालयमा सचिवस्तरीय निर्णय गराएर एक सय ५० देखि तीन सय लिटरसम्म इन्धन लिने गरेको भेटिएको छ । केहीले आवश्यकताअनुसार भन्दै इन्धन लिने गरेका छन् । मन्त्रीका स्वकीय सचिवहरूले पनि गैरकानुनी रूपमा मन्त्रालयबाट गाडी, इन्धनलगायतका सुविधा र स्वकीय सचिवालयका अन्य सदस्यहरूले मोटरसाइकल र इन्धन लिने गरेका छन् । 

जबकी मन्त्रिपरिषद्का सदस्यहरूको पारिश्रमिक सेवा सुविधा सम्बन्धी ऐनअनुसार प्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायकमन्त्रीको तलबलगायत विभिन्न शीर्षका सुविधा लिइरहेका छन् । भत्ता, इन्धन खर्च, मन्त्रीको स्वकीय सचिलायका सदस्यहरूको तलव भत्तालगायतका सबै सुविधा भुक्तानी गरिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । प्राप्त विवरणअनुसार अर्थमन्त्री युवराज खतिवडाबाहेक सबै मन्त्री र राज्यमन्त्रीले नियमित रुपमा इन्धन वापत एकमुष्ट पैसा लिएका छन् । उपप्रधानमन्त्रीले इन्धनका लागि मासिक २४ हजार ५ सय १४ रुपैँया, मन्त्रीहरूले मासिक २१ हजार ३ सय २१ रुपैँया र राज्यमन्त्रीले मासिक १८ हजार ५४० रुपैँया लिने गरेका छन्  । 

 
मन्त्रीको तलब सुविधा 
मन्त्रीको तलब : ६० हजार ९ सय ७० 
महंगी भत्ता : ८ हजार 
संचार भत्ता : ३ हजार
मसलन्द खर्च : तीन हजार ५ सय
इन्धनका लागि : २१ हजार ३ सय २१ 

अन्य मन्त्रीले पनि यसरी सुविधा लिएका छन्
 
शक्ति बस्नेत : १८० लिटर 
वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले तलब–भत्ता, स्वकीय सचिवालयको तलब सुविधासहित मन्त्रीका रूपमा प्राप्त गर्ने सबै सुविधा मन्त्रिपरिषद् कार्यालयबाट लिइरहेका छन् । उनलाई गृह मन्त्रालयले गाडी दिएको छ । इन्धनका लागि मन्त्रिपरिषद् कार्यालयले मासिक २१ हजार दिइरहेको छ  । तर, उनले मन्त्रालयबाट एउटा ल्यान्डक्रुजर गाडी र बा.२झ २२०१ नम्बरको अतिरिक्त गाडी लिएका छन् । सचिवस्तरको निर्णय गराएर उनले मन्त्रालयबाट मासिक एक सय ८० लिटर इन्धन लिँदै आएका छन् । उनका स्वकीय सचिवले पनि मन्त्रालयबाट गाडी र इन्धन लिएका छन् । अन्य सचिवालय सदस्यहरूले पनि नियमित इन्धन लिने गरेका छन् । 

पद्माकुमारी अर्याल : १५० लिटर
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले ८ जनाको स्वकीय सचिवालय बनाएकी छिन् । मन्त्री र सचिवालय सदस्यको सबै सेवा–सुविधा मन्त्रिपरिषद्ले भुक्तानी गर्दै आएको छ । गृह मन्त्रालयले गाडी सुविधा दिएको छ । तर, उनले इन्धनलगायत सुविधा मन्त्रालयबाटै लिइरहेकी छिन् । मन्त्रालयबाट मासिक इन्धन मात्र १५० लिटर लिने गरेकी छिन् । 

भानुभक्त ढकाल : १६८ लिटर
अन्य मन्त्रीहरूले जस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले पनि मन्त्रिपरिषद् कार्यालयबाट सुविधा खर्च एकमुष्ट बुझ्दै आएका छन् । तर, गाडीमा इन्धन मन्त्रालयबाटै भर्छन् । मासिक १६८ लिटर इन्धन हाल्ने गरेको मन्त्रालयले जनायो । अन्य मन्त्रीहरूलाई जस्तै गृह मन्त्रालयले गाडी उपलब्ध गराएको छ । तर, मन्त्री ढकालले थप एउटा प्राडो र अर्को कार मन्त्रालयबाट लिँदै आएका छन् ।  प्राडो मन्त्रीले नियमित प्रयोग गरे पनि सानो कार भने झन्डा नराखी पारिवारिक काममा प्रयोग गर्ने गरिएको छ । उनको स्वकीय सचिवले पनि मन्त्रालयबाट स्कारपिओ गाडी र इन्धन सुविधा लिँदै आएका छन् । 

विना मगर : २०० लिटर
खानेपानीमन्त्री विना मगरले विजयदेव भट्टराईलाई स्वकीय अधिकृत र रमेशदत्त भट्टलाई प्रशासन सहायकमा नियुक्त गरेकी छिन् । ५ जनाको सचिवालयको तलब सुविधा र आफ्नो तलबभत्तासहित उनले मन्त्रिपरिषद् कार्यालयबाट मासिक १ लाख ९५ हजार ७ सय ९३ रुपैयाँ बुझ्दै आएकी छिन् । उक्त पैसाभित्र उनको इन्धन सुविधाबापतको पैसा पनि जोडिएको छ । उनको सुविधाका लागि गृह मन्त्रालयले गाडी उपलब्ध गराएको थियो । तर, उनले मेलम्ची आयोजनाको टोयोटाको विलासी गाडी ल्यान्डक्रुजर प्राडो प्रयोग गर्दै आएकी छिन् । सो गाडीका लागि मासिक एक सय ५० देखि २ सय लिटरसम्म इन्धन पनि मन्त्रालयबाटै लिइरहेकी छिन् । 

मोहम्मद इस्तियाक राई : १३० लिटर
सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले ७ जना स्वकीय सचिवालय नियुक्त गरेका छन् । उनले पनि मन्त्रिपरिषद् कार्यालयबाट मासिक एकमुष्ट रकम बुझ्दै मन्त्रालयबाट पनि इन्धन लिइरहेका छन् । गृह मन्त्रालयले गाडी सुविधा दिएको छ । गाडीमा हाल्ने इन्धन किन्न मन्त्रिपरिषद् कार्यालयले मासिक २१ हजार ३ सय दिन्छ, तर फोर्ड कम्पनीको करिब एक करोड पर्ने गाडी चढ्ने उनले मन्त्रालयबाट मासिक एक सय ३० लिटरसम्म इन्धन हाल्छन् । उनको सचिवालयले पनि आवश्यकताअनुसार इन्धन मन्त्रालयबाटै लिँदै आएको छ । स्वकीय सचिव सम्सुल हक राईले भवन विभागबाट बा.२झ ३६३८ नम्बरको स्कारपिओ गाडी प्रयोग गरिरहेका छन् ।

गिरिराजमणि पोखरेल : ३०० लिटर
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आफू र ८ सदस्यीय स्वकीय सचिवालयको इन्धन खर्च मन्त्रालयबाटै लिने गरेका छन् । महिनामा दुईदेखि तीन सय लिटरसम्म इन्धन लिने गरेका छन्  । सुविधाका लागि गृह मन्त्रालयले गाडी उपलब्ध गराए पनि उनले मन्त्रालयबाटै पजेरो गाडी प्रयोग गर्दै आएका छन् । यस्तै फोर्ड कम्पनीको अर्काे कार पनि प्रयोग गरिरहेका छन् । तर, यो गाडीमा झन्डा भने राखेका छैनन् । 

थममाया थापा : १५० लिटर
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्बाट तलब तथा अन्य सुविधासहित मासिक इन्धन सुविधा पनि लिइरहेकी छिन् । मन्त्रिपरिषद् कार्यालयले मासिक तलब तथा अन्य सुविधा भुक्तानी गरेको बिलमा उनले इन्धन शीर्षकमा मासिक २१ हजार ३ सय लिएको देखिन्छ । तर, मन्त्रालयबाट मासिक एक सय ५० लिटर लिइरहेको मन्त्रालयका लेखाका उपसचिव मिठु थापाले जनाए । नियमअनुसार दिन नमिल्ने भए पनि जबर्जस्त दिएको उनले बताए । थापाका अनुसार मन्त्री र उनको स्वकीय सचिवले गाडी र इन्धन मन्त्रालयबाट लिइरहेका छन् । 

दोहोरो सुविधा लिनु भ्रष्टाचार हो :  शारदाप्रसाद त्रिताल, पूर्वसचिव

पूर्वसचिव शारदाप्रसाद त्रिताल मन्त्रीले मन्त्रिपरिषद् कार्यालयबाट मात्र सुविधा लिन पाउने बताउँछन् । उनका अनुसार मन्त्रिपरिषद्बाट प्राप्त सुविधाको अतिरिक्त मन्त्रालयबाट कुनै सुविधा लिन मिल्दैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा काम गरेका त्रिताल भन्छन्, ‘मन्त्री, स्वकीय सचिवले मन्त्रालयबाट गाडी, इन्धनजस्ता सुविधा लिन पाउँदैनन् । एउटै व्यक्तिले दुई ठाउँबाट त सुविधा लिन मिल्दै मिल्दैन, त्यस्तो सुविधा लिनु भ्रष्टाचार ठहरिन्छ, त्यस्तो भएको छ भने भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही गर्नुपर्छ ।’

मन्त्री र सचिव चढ्छन् महँगा गाडी  
रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनाबाट प्राप्त करिब २ करोड पर्ने टोयोटाको ल्यान्डक्रुजर, मन्त्रालयबाट प्राप्त करिब ५० लाखको स्कारपिओ र गृह मन्त्रालयले दिएको एउटा कार प्रयोग गर्दै आएका छन् । रक्षासचिवले स्कारपिओ कम्पनीको गाडी चढ्छन् । 

गृहमन्त्री रामबहादुर थापा बादल एक करोड ५५ लाख पर्ने मित्सुबिसी पजेरो गाडी चढ्छन् । स्वास्थ्यमन्त्री उपेन्द्र यादव टोयोटा कम्पनीको करिब २ करोड रुपैयाँबराबरको ल्यान्डक्रुजर गाडी चढ्छन्, कानुनमन्त्री भानुभक्त ढकाल टोयोटाको ल्यान्डक्रुजर प्राडो चढ्छन् । कानुनसचिवले भने स्कारपिओ र हुन्डाईको आइ–२० आस्टा मोडलको दुईवटा गाडी चढ्दै आएका छन् ।

अर्थमन्त्री युवराज खतिवडा र सचिव राजन खनालले निसान कम्पनीको ‘निसान एक्स–ट्रायल’ मोडलका गाडी चढ्दै आएका छन् । ती गाडीको नेपाली बजारको मूल्य करिब एक करोड हाराहारी छ । 

वनमन्त्री शक्ति बस्नेतले पनि ल्यान्डक्रुजर प्राडो चढ्दै आएका छन् । मन्त्रालयका सचिव विश्वनाथ ओलीसँग पनि टोयोटाकै ल्यान्डक्रुजर प्राडो छ । खानेपानीमन्त्री विना मगर र सञ्चारमन्त्री गोकुल बास्कोटा ल्यान्डक्रुजर प्राडो चढ्छन् । 

शिक्षा मन्त्री गिरिराज पोखरेल महिन्द्राको एक्सयुभी ५०० मोडलको गाडी चड्दै आएका छन् । सचिव खगराज बरालपनि महेन्द्राको एक्सयुभी ५०० मोडल नै चढ्छन् । 

संघीय मामिला मन्त्री लालबाबु पण्डित र सचिव दिनेश थपलियासँग फोर्ड कम्पनीको इन्भेडर गाडी छ । ती गाडी एक बर्षअघि एक करोड १० लाखका दरले खरिद गरिएको हो । 

कृषि मन्त्री चक्रपाणि खनाल फोर्ड कम्पनीको एक करोडको गाडी चढ्छन् । सचिव युवकध्वज जोशीसँग पनि फोर्ड कम्पनी र निसानको दुइ वटा गाडी छन् । त्यस्तै युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनारले हुन्डाइको क्रेटा गाडी प्रयोग गर्दैछन् । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले टाटा कम्पनीको करिब ६० लाख पर्ने स्ट्रोम गाडी गढ्दै आएका छन् । उक्त मन्त्रालयका सचिवद्धय यमकुमारी खतिवडा र चन्द्र घिमिरेले पनि स्ट्रम गाडी नै गढ्दै आएका छन् ।  

साभार: नयाँपत्रिका राष्ट्रिय दैनिक तथा nayapatrikadaily.com

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.