इतिहास लेखनमा वैदेशिक हस्तक्षेप

मोहन बन्जाडे । केपुचिन पादरीहरू नेपाली जनतालाई शिक्षित र औषधीबाट रोगमुक्त गराउन आएका थिएनन् । उनीहरू इसाई धर्म प्रचार गरी नेपाली संस्कृति नाश गरेर कमजोर बनाई युरोपेली व्यापारीहरूलाई घुस्ने मार्ग खोलाउन आएका थिए । फ्रेन्च, अंग्रेज, डच जो आए पनि ढक र तराजुका साथ तरबार पनि लिएर आई राजनीतिक अधिकार पनि जमाउने गर्थे । त्यसैले पृथ्वीनारायण शाहले सिन्धुलीबाटै धपाएर पठाएका पनि थिए । तर गोमन सर्प त्यसको बदला लिने मौकाको खोजीमा रहन्छ । त्यसपछि करिब पच्चीस वर्षको कूटनीति लोलोपोतोमा रह्यो । सन् १७९३ मा कर्कप्यात्रिक नेपालमा आए, शक्तिको अनुमान लगाए, भावी आक्रमणको सामग्री तयार गरे । त्यति मात्र होइन, बेतियामा रहेका पादरी जोसेप्पीलाई लगाएर पृथ्वीनारायण शाहविरुद्ध घृणा सामग्री लेख्न लगाए । त्यही कुरा किताबमा सामेल गराई पछि आक्रान्ता अंग्रेज अधिकारीको हाते पुस्तिका हुने गरी सन् १८८१ मा प्रकाशित गराए। (श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी, बाबुराम आचार्य, २०६१, पृ. ५५२)

कर्कप्यात्रिक फर्केको आठ वर्षपछि नेपाल आएका ह्यामिल्टन करिब एघार महिना नेपाल बसे । यिनले सो अवधिमा नेपालको भूगोल, इतिहास, प्रशासन र नेपाली सैन्य दलको अध्ययन गरी सन् १८१९ मा ‘नेपाल वर्णन’को नामबाट प्रकाशित गरे । यस किताबमा उनले पृथ्वीनारायण शाहलाई कर्कप्यात्रिकले जत्तिको क्रुर देखाएका छैनन् । किनकि त्यो बेला अंग्रेज र नेपालबीच युद्ध सकिई मेलमिलापको वातावरण बनेको थियो । तर उनले रणबहादुर शाह र भीमसेन थापालाई भने क्रुर र सिद्धान्तहीन भने । हेमिल्टनको किताब प्रकाशन भएको पचासी वर्ष जतिपछि नेपाल आएका फ्रेन्च नागरिक सिल्भ्याँ लेभीले आफ्नो पुस्तक ‘ल नेपाल’मा पृथ्वीनारायण शाहको अपमान खासै गरेनन् । अर्थात् उनले जोसेप्पी र कर्कप्यात्रिकको समर्थन गरेका छैनन् । (बाबुराम आचार्य, ऐजन ५५३)

 इतिहास र इतिहासबारे लेख्दा कसैको गोटी नबनौँ, आयातित घृणा कार्यान्वयन नगरौँ।

पृथ्वीनारायण शाह ललितपुर प्रवेश गर्दा कान्तिपुर र भक्तपुरमा रहेका पादरी र क्रिस्तान बनेका मानिससमेत त्यहाँ बटुलिएका थिए । काठमाडौँ उपत्यकामा अंग्रेजको अधिकार गराउन ती पादरी लागेका थिए । यसैले पृथ्वीनारायण शाह ती पादरीहरूलाई निकालिदिन चाहन्थे । तर तनहुँतर्फ जान परेकाले सो कामको अभिभारा प्रतापसिंह शाहलाई सुम्पी गोरखातिर लागे । जोसेप्पी र माइकल एन्जिलो मुख्य पादरी थिए । (बाबुराम आचार्य, ऐजन ५२८) पछि यिनैमध्येका पादरी जोसेप्पीले पृथ्वीनारायण शाहविरुद्ध विषवमन गरे । त्यही विष नेपालमा पछि आउने कतिपय विदेशी इतिहासकार, समाजशास्त्री, मानवशास्त्री, विदेशी गैरसरकारी संस्था र अन्तर्राष्ट्रिय संस्थाका कर्मचारीमा पुस्तान्तरण हुँदै आएको छ।

राममणि आदीले श्री ३ चन्द्रको जीवनचरित्र नेपालीमा लेखेका थिए । सो पुस्तक भारत बंगालका टि एन रायले अंग्रेजीमा अनुवाद गरेपछि पार्सिवल ल्यान्डन काठमाडौँ आई श्री ३ को हुकुमले भाइ यज्ञमणिमार्फत सो किताब हात पारे ल्यान्डनले सो किताब ‘नेपाल’ नाम राखी दुई भागमा तयार गरी आफ्नै नाममा छपाए । यो किताब छपाउनलाई महाराज (श्री ३) बाट बडाकाजी मरिचमानमार्फत एकलाख पैँसट्ठी हजार भारु दिइएको थियो । (पुराना सम्झना, राममणि आदी २०७३, पृ. ११५–१२१)

हड्सनले नेपालसम्बन्धी ‘विविध निबन्धहरू’मा ‘नेपालमा प्रचलित कानुन र प्रहरी प्रणालीको लेखाजोखा’ नामक आलेख प्रकाशन गरेपछि प्रायः पश्चिमा लेखकहरूले नेपाललाई खास प्रकारको ‘रङ्गीन चश्मा’बाट मात्र हेर्ने गरेका छन् । उनीहरू मूलतः छिमेकी मुलुकका ‘रिलिजन र संस्कृतिका सेक्टेरियन’ जानकारी लिएर नेपालबारे धारणा बनाउने गरेका छन् । (जुडिसियल कस्टम्स, अफ नेपाल, केशरबहादुर के.सी. १९७१ पृ. १)

श्री ५ रणबहादुर शाहले कलकत्तास्थित नेपाली वकिल (दूत) सुब्बा दिनानाथलाई संवत् १८५५ मार्ग सुदी १५ मा लेखेको पत्रमा कर्कप्यात्रिकलाई नेपालमा आउन दिई उनलाई नेपाल देखाउन नहुने बताएका छन् । उनी नेपालमा आए ‘मन बढी’ षड्यन्त्र गर्ने र दशगुना मुलुक बढ्ने भए पनि  ‘त्यसलाई’ नेपाल आउनेजाने गराउन हुँदैन भनी सो पत्रमा उल्लेख छ । अंग्रेजहरूले कर्कप्यात्रिक जस्ता मानिस नेपाल पठाई नेपालको विरुद्धमा काम र प्रचार गर्थे भन्ने यस पत्रबाट थाहा हुन्छ । (नेपालको कानुनी इतिहासको रुपरेखा, रेवतीरमण खनाल, २०५९, पृ. १२७)

 विदेशीले इतिहास बिटुलाएका रहेछन् । उनीहरू त आउँछन्, जान्छन् । किताब लेखेर दाम र नाम कमाउँछन् । तिनीहरू उताका राजनीतिक, आर्थिक, सामाजिक, रणनीतिक र पन्थसापेक्ष एजेन्डाबाट परिचालित भएका हुनसक्छन् । विदेशीले दिएको अगुल्टो बोकेर कहाँ–कहाँ क–कसलाई कहिलेसम्म झोस्दै पोल्दै हिँड्ने?

हड्सन बेलायती दूतावासको कर्मचारी भएर नेपाल आएको समयमा ब्रिटिस दूत र दूतावासका कर्मचारीलाई बाहिरी मानिससँग भेटघाट गर्न पाउने वातावरण थिएन । त्यो बेला ‘अंग्रेज दूतको प्रभाव नपरोस् र ऊ भए नभएको बराबर होस्’ भनी दूतावासलाई पन्छाउन दूतावास वरिपरि नेपाली सिपाहीको चौकी खडा गरिएका थिए । सो दूतावासमा अरु मानिस आवतजावत गर्न नपाउने ‘कडा प्रतिबन्ध’ थियो । अंग्रेजले नेपालबारे दिलचस्पी लिन पाए हस्तक्षेप गरी डाँवाडोल पैदा गर्छन् भन्ने कुरा ‘अंग्रेजको भारत नीति बुझेका’ भीमसेन थापाले बुझेका थिए । त्यसैले उनले त्यस्तो कडा नियन्त्रण गराएका थिए । तर अंग्रेज दूतले भाषा, धर्म र चराचुरुङ्गीको अनुसन्धानको बहानामा मानिसहरू भेट्थे । (रेवतीरमण खनाल ऐजन पृ.२६२) नेपालको संविधान निर्माणकालमा बेलायतका राजदूतले नेपाली सभासद्का नाममा खुलापत्र लेखी सार्वजनिक गराएको कुरा यही पुस्ताको जानकारीमा छ । यस्तै गत निर्वाचनको पर्यवेक्षण गर्न आएको युरोपियन युनियनको निर्वस्त्र हस्तक्षेप र त्यसमा नेपाल सरकारको प्रतिक्रिया तथा उनीहरूको पन्थसापेक्ष अड्डी सार्वजनिक भएको धेरै भएको छैन।

त्यो बेला अंग्रेज दूतले विना कुनै काम कुनै नेपालीसँग भेट्न पाउँदैनथे । दरबारमा पनि मुख्तियारको उपस्थितिबाहेक राजासँग एक्लै भेट्न पाउँदैनथे । अंग्रेज दूत नेपाल सरकारको स्वीकृतिविना आफ्नो सीमा नाघी बाहिर हिँडडुल गर्न पाउँदैनथे । कसैले अंग्रेज दूतसँग सम्बन्ध राखेमा कडा सजाय हुनेछ भन्ने उर्दी दिइएको थियो । (रेवतीरमण खनाल, ऐजन १९३)

जासूसको काम गर्ने युरोपेलीहरू नेपालमा पस्थे । डाक्टर मुर् क्रोप्ट नामक अंग्रेज साथीका साथ तपस्वी बनी विसं १८६९ मा नेपाल आएका थिए । जोगीको खोलभित्र बन्दुक लुकाएर हिँडेकाले चौकीदारले पक्रन खोज्दा भरेको बन्दुक देखाई उम्कन खोजेपछि कुमाउका शासक (त्यो बेला नेपाल) बम शाहकहाँ जाहेर भयो । ती डाक्टर भेडा बाख्रा खोज्न तिब्बत गई फर्कंदा भूल परी त्यता पसेका भनी फारुखाबादबाट चिठी आएकाले एकपटकलाई भनी छोडिएको थियो ।(ज्ञानमणि नेपाल, ऐजन पृ.१००)

जंगबहादुरको समयमा रुसी विद्वान् ई पा मिएनाभले लेखेको आफ्नो जीवनीमा त्यसबेला एकजना बंगाली ओभरसियर अंग्रेजी दूतावासमा बसी काठमाडौँ उपत्यकाको नक्सा उतारेका थिए । ती अंग्रेजले जासुसी गरेकाले नेपालबाट धपाउने सजाय दिई धपाइएको थियो । (रेवतीरमण खनाल, ऐजन पृ.३५०)

इतिवृत्तलाई आफ्नो अनुकूल लैजान पाइयो भने राज्य व्यवस्था पनि आफ्नो अनुकूल पार्न गाह्रो पर्दैन भन्ने वारन हेस्टिङका प्रेरणाको परम्परामा लागेका युरोपेलीहरूले इतिहासको जरो टप्प समाते र आफ्नो अनुकूल इतिहासको रुप बनाए । (नेपाल निरूपण, ज्ञानमणि नेपाल, २०५५, पृ. ९९) नेपालमा विदेशीले छ–आठ महिना बसी लेखेका वा नेपालीले लेखेको किताबलाई आफ्नो नाममा छपाएका वा नेपालका ऐतिहासिक सामग्री र सम्पदा चोरी गरी गराई आफ्ना देशका सरकारी वा निजी म्युजियममा पु-याउनेले राज्य समाज र परिवार फुटाउन र बिथोल्न लेखेका कुरालाई ध्रुव सत्य मान्ने वर्ग तयार गरिँदै छ । धनवज्र बज्राचार्य, बाबुराम आचार्य, नयराज पन्त, चित्तरञ्जन नेपाली, ज्ञानमणि नेपाल र इतिहास संशोधन मण्डलका सदस्यले प्रमाणका आधारमा लेखेका इतिहासलाई गौण गरी फिरन्तेले नेपाल र नेपालीको अपमान र सभ्यता समाप्त गर्न लेखेका किताबलाई बढाइ चढाइ गर्ने चलन चलाइँदै त छैन?

नेपालको इतिहासमा हात हाल्ने पहिलो युरोपीय कर्कप्यात्रिक हुन् । उनले नेपालको बाटोघाटो चालचलन आदिमा बढ्ता चाख लिएका थिए । उनको पुस्तक इस्ट इन्डिया कम्पनीका अधिकारीलाई नेपाल बुझ्न कामलाग्दो छ । सत्य कुरा भन्दा विदेशीका भक्तहरूलाई नराम्रो लाग्ला, कर्कप्यात्रिकका काम कारबाहीलाई भारदारले पनि राम्ररी बुझेकाले पहिले नेपाल ल्याउँदा घुमाउरो बाटो ल्याएका थिए । उनी दोस्रो पटक नेपालमा आउन खोज्दा दश गुना देश बढ्ने भए पनि उनलाई आउन नदिने भनी संवत् १८५५ मा पत्राचार नै भएको थियो । (ज्ञानमणि नेपाल, ऐजन पृ. ९९–१०० पत्रको व्यहोरा पनि छ)

कर्कप्यात्रिकको किताब अंग्रेज सरकारको ‘मिसन’मा आएको बेलामा लेखिएको थियो । त्यो किताब इस्ट इन्डिया कम्पनीका निर्देशकहरूमा समर्पित र कम्पनीको अभिलेखमा आधारित थियो । साथै सो किताब कम्पनीको अनुमति लिएर छापिएको थियो । त्यसमा कम्पनीको संरक्षकत्वसमेत थियो । यी कुरा सो किताबमा नै छापिएको छ । (एन एकाउन्ट अफ किंगडम अफ नेपाल, कोलोनल कर्कप्यात्रिक, २००६ भूमिका पूर्वका पृष्ठ) अर्को देशको सैनिकले त्यो पनि त्यसबेला नेपालमा आक्रमण गर्ने संलग्न सैनिकले आफ्नो मुलुकको तर्फबाट आक्रमण गर्न सजिलो पार्न तयार पारेको ‘आक्रमण सामग्री’ हाम्रै इतिहास किन !?

नेपाली नागरिकले लेखेका इतिहासका अन्य पुस्तक र आलेखमा यस्ता अरु अन्य प्रसंग पनि छन् । ती सबैको उद्धरण यहाँ सम्भव भएन । तिनको बारेमा थप खोज र एकीकृत प्रकाशन जरुरी छ । यी कुरा हाम्रो शिक्षा पद्धतिको अंग बन्न किन नहुने?

नेपालमा समाजशास्त्र र मानवशास्त्रको अध्ययन गर्न आउनेले प्रायोजित उत्तरदाताबाट उत्तर लिई के–के लेखेका छन् ? त्यसबारे पनि खासै अनुसन्धान भएको देखिँदैन । त्यसबारे पनि काम गर्न आवश्यक छ।

दाता संस्था वा तिनबाट रकमकलम लिएर लेखी नेपाल सरकारमा प्रस्तुत गरिने प्रतिवेदनमा प्रायोजित र प्रलोभित उत्तरदाताबाट उत्तर लिएको देखाई नेपालको सभ्यता र सामाजिक सम्बन्धविरुद्ध लेख्ने चलन कायम नै छ।

विदेशीहरूले सिधै तथ्यांक संकलन गरी प्रकाशित गरिरहेको र ती प्रायोजित तथ्यांक नेपालविरुद्ध प्रयोग गर्ने गरेको भन्ने पनि छ । अरु देशमा विदेशी गएर तथ्यांक संकलन गर्छन् त ? यसमा पारस्परिकताको नियम किन लागू नहुने ? सरकारी तथ्यांकको समानान्तर विदेशीले तथ्यांक संकलन गर्न नियन्त्रण वा नियमनका लागि तथ्यांक ऐनमा संशोधन आवश्यक छ।

नेपालको इतिहास भनी विदेशीले लेखेका किताबको निष्पक्षतामा प्रश्न रहेछ । तत्कालीन शत्रु राज्यको सैनिकले नेपालमा आक्रमण गराउन तयार गरेको प्रतिवेदनलाई पनि हामीले इतिहास भनेका रहेछौँ । नेपालमा जासूसी गर्न र पाटनलाई अंग्रेजको जिम्मा लगाउन पादरीको भेषमा खटिएको जिसेप्पीले बेतीया धपाएकामा रिस थाम्न नसकी घृणा गर्दै पृथ्वीनारायण शाहविरुद्ध गरेको विषवमनलाई पनि हामीले जस्ताको तस्तै पत्याएका रहेछौँ त?

नेपाली नागरिकले लेखेको र बंगालीले अंग्रेजीमा अनुवाद गरेको किताब त्यो बेला एकलाख पैँसट्ठी हजार भारु लिएर आफ्नो नाममा छपाउनुमा नैतिकताको प्रश्न पनि होला । यही अरुले लेखेको किताब आफ्नो नाममा छपाउने पार्सिभल ल्यान्डनमार्फत राणा परिवारमा श्रेणी विभाजन गरिएको थियो भनिन्छ । (श्री ३ हरूको तथ्यवृत्तान्त, भाग २, पुरुषोत्तम शमशेर जबरा २०६२ पृ.१५१)

नेपालमा इतिहास आदि लेख्ने कतिपय नेपाली विदेशीका लागि काम गरी हिँड्ने पनि हुन सक्छन् । तिनमा कसले स्वतन्त्र भएर लेखे र कसले प्रायोजनमा लेखे त्यो पनि समस्या देखिँदो रहेछ । पछिल्लो चरणमा इतिहासलाई जातीय, क्षेत्रीय र अन्य प्रवृत्तताका साथ लेख्ने चलन पनि बढेको देखिन्छ । इतिहासमा आफूलाई राजा वा भारदारको सन्तान भन्ने र अर्थशास्त्र–समाजशास्त्रमा आफैँलाई पीडित भनी कुण्ठा व्यक्त गर्ने वा अरुप्रति घृणा राख्ने गरेको पनि पाइँदो रहेछ । प्रमाण नराखी वा विदेशीले लेखेका पूर्वोक्त वा तिनीहरूसँग मुख मिलाई लेखिएका किताबलाई अकाट्य मानी इतिहासका बतासे बच्चा कोरल्ने पनि कैयौँ होलान् । यस्तै विगतमा पाण्डे र थापाहरू बीचको भारदारी लडाइका कारण एकअर्काप्रति अलि बढी आक्रामक भएर लेखेका कुरा पनि भेटिन्छन् । पुरातत्व विभाग वा राष्ट्रिय अभिलेखालयमा हुँदा विदेशीलाई सामग्री उपलब्ध गराउने वा घरछेउ सामग्री भेटिएको भनी इतिहास लेख्नेहरू पनि हुन सक्छन्।

जेहोस्, विदेशीले इतिहास बिटुलाएका रहेछन् । उनीहरू त आउँछन्, जान्छन् । किताब लेखेर दाम र नाम कमाउँछन् । तिनीहरू उताका राजनीतिक, आर्थिक, सामाजिक, रणनीतिक र पन्थसापेक्ष एजेन्डाबाट परिचालित भएका हुनसक्छन् । फुटाउन, घुस्न र चुस्न मिल्ने गरी लेखेका हुन सक्छन् । तर हामी नेपाली यहीँ आगोपानी बाँडेर बस्ने हो । नुन–भुटुन ऐँचोपैँचो गरेर बस्ने हो । धर्म, पर्म र कर्म गरेर बस्ने हो । जन्ती–मलामी भएर बस्ने हो । हामी अर्को पुस्तामा सद्भाव हस्तान्तरण गर्न सकौँ । विदेशीले दिएको अगुल्टो बोकेर कहाँ–कहाँ ककसलाई कहिलेसम्म झोस्दै पोल्दै हिँड्ने ? त्यसैले इतिहास र इतिहासबारे लेख्दा कसैको गोटी नबनौँ, आयातित घृणा कार्यान्वयन नगरौँ । तथ्य र प्रमाणलाई इतिहासको अंग बनाऔँ।

साभार: nagariknews.nagariknetwork.com

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.
error: