मेलम्ची सुरुङको पुनः परीक्षण आज

मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा परीक्षणका लागि पानी हालिँदै । काठमाडौँतर्फ पानी जाने सुरुङ बन्द गरेर आयोजनाको पहिलो अडिट मार्गबाट पानी परीक्षण गरिएको हो । तस्बिरः देवराज सुवेदी

काठमाडौं, १० फागुन : काठमाडौँ उपत्यकाको खानेपानीको समस्या समाधानको उपायका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ आज पुनः परीक्षण गरिने भएको छ ।

सुरुङमा पहिलोपटक पानी पठाएर परीक्षण गरिएको आठ महिनापछि पुनः परीक्षण गर्न लागिएको हो । गत असारमा सुरुङमा पानी पठाएको १० दिनपछि दुर्घटना हुँदा पानी बाहिर निस्केको थियो । अहिले सुरुङमा आवश्यक सुधार गरेर परीक्षण गर्न लागिएको खानेपानी मन्त्रालयका प्रवक्ता रितेश शाक्यले बताए । आज बिहान ११ बजेबाट पानी पठाउन थालिने उनले बताए ।

सुरुङमा पानी पठाएर भरिएपछि सबै पानी बाहिर निकाल्न केही साता लाग्ने मन्त्रालयले बताउँदै आएको छ ।  सुरुङको अवस्था ठीक भएर सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा आएपछि भने उपत्यकामा वितरण शुरु हुने  शाक्यको भनाइ छ ।  सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र रहेका छन् । यहाँबाट पानी प्रशोधन भए पनि उपत्यकाका विभिन्न स्थानमा रहेका ट्याङ्कीमार्फत पाइपमा पानी पुग्छ ।

उपत्यकामा खानेपानी वितरणका लागि आवश्यक संरचना बनिसकेकाले पानी आउनासाथ तत्काल वितरण थालिने उनले बताए । अहिले बागतीको पानीमार्फत परीक्षण भइसकेको छ ।

यसअघि सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका–१ स्थित आयोजनास्थलमा असार २१ मा पानी पथान्तरण गरिएकामा असार ३० मा दुर्घटना भएको थियो । सुरुङ परीक्षणका लागि पानी भर्न थालिएकामा एक सातामा पानी बाहिर निस्केको हो ।

दुर्घटनाका बारेमा बुझ्नका लागि खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा भएको दुर्घटनासम्बन्धी अध्ययन गर्न गठित समितिले गेटभित्रबाट हुनुपर्नेमा बाहिरबाट राखिएकाले दुर्घटना भएको निष्कर्ष निकालेको थियो। समितिकै सुझावका आधारमा ढोकाको फ्रेम नयाँ राखिएको छ ।

हेलिकप्टर तयारी अवस्थामा

विगतको जस्तो दुर्घटना नहोस् भनेर आयोजनाले यसपालि विशेष सतर्कता अपनाएको खत्रीको भनाइ छ ।

परीक्षणका क्रममा हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको छ । उद्धार योजना बनाएर धुलिखेलदेखि काठमाडौंस्थित विभिन्न अस्पतालहरुसँग समन्वय गरिएको छ ।

परीक्षणका लागि पहिले जसरी नै प्राविधिक मापदण्डअनुसार प्रतिसेकेन्ड २६० लिटर पानीका दरले सुरुङमा पानी प्रवाह गरिनेछ । सुरुङमा पानी भरिएपछि करिब १० दिन यतिकै राखिनेछ । त्यसपछि प्रतिसेकेन्ड २६० लिटरकै दरमा १५ देखि २० दिन लगाएर बाहिर पानी फालेर सुरुङ खाली गरिनेछ । पानी सबै फालिसकेपछि करिव ७ दिन लगाएर सुरुङको गुणस्तर पुनः परीक्षण गरिनेछ ।

केही समस्या देखिए त्यसलाई समाधान गरिने छ । यो सबै काम सकिएपछि फेरि पुरानै प्रक्रियाबाट नियमित रुपमा सुरुङमा पानी भर्न थालिने छ ।

यो पानी सुन्दरीजलमा तयार रहेका २ वटा प्रशोधन केन्द्र हुँदै वितरण प्रणालीमा पठाइने छ । सबै अवस्था सामान्य हुँदा मेलम्चीको पानी मुख्य वितरण लाइनमा पठाउने काम थाल्न दुईदेखि तीन महिना लाग्ने अनुमान छ ।

ठेकदार र आयोजनाले प्रधानमन्त्री कार्यालयमा बुझाएको कार्यतालिका अनुसार काम भएमा २०७८ वैशाख २ गते (१५ अप्रिल २०२१) सम्म मेलम्ची आयोजनाको काम सकिनेछ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा आउने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.