बङ्गलादेशका राष्ट्रपति हमिद काठमाडौँमा

राष्ट्रपति विद्यादेवी भण्डारी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बङगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई स्वागत गर्दै । तस्वीर: रत्न श्रेष्ठ

काठमाडौँ, २६ कात्तिक : राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमणका क्रममा आज अपराह्न यहाँ आइपुग्नुभएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीले बङ्गलादेशी समकक्षी हमिदलाई स्वागत गर्नुभएको थियो ।

विमानस्थलको सोही कक्षमा राष्ट्रपति हमिदलाई पञ्चकन्याले पुष्पहारद्वारा स्वागत गरेका थिए । यसअघि राष्ट्रपति हमिद सवार विमान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले स्वागत गर्नुभएको थियो ।

सो अवसरमा राष्ट्रपति हमिदको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो । विशिष्ट पाहुनाको स्वागतार्थ विमानस्थलमा सातवटै प्रदेशका जीवन्त कला र संस्कृतिको झाँकी प्रदर्शन गरिएको थियो । विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली उपस्थित हुनुहुन्थ्यो ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीसँग बङ्गलादेशी समकक्षी हमिदले राष्ट्रपति भवन, शीतल निवासमा बुधबार अपराह्न भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले आफ्ना बङ्गलादेशी समकक्षी तथा उहाँले नेतृत्व गर्नुभएको प्रतिनिधिमण्डलको सम्मानमा सोही दिन साँझ रात्रिभोजको आयोजना गर्नुहुनेछ । बुधबार नै बङ्गलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुहुनेछ ।

राष्ट्रपति हमिदसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा तथा राजनीतिक दलका वरिष्ठ नेताहरूले पनि शिष्टाचार भेट गर्नुहुनेछ । नेपाल बसाइका बेला बङ्गलादेशका विशिष्ट अतिथिले भक्तपुर दरबार क्षेत्र, पोखराका साथै काठमाडौँको चन्द्रगिरि भ्रमण गर्ने कार्यक्रम छ ।

बङ्गलादेशी राष्ट्रपतिको पोखरा भ्रमणले पर्यटन प्र्रवद्र्धन हुने विश्वास

मित्र राष्ट्र बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चार दिवसीय सद्भावना भ्रमणका क्रममा बिहीबार पोखरा आउनुहुनेभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल आउनुभएका हमिदले पर्यटकीयस्थल पोखराको दृश्यावलोकन गर्नुहुनेछ । राष्ट्रपति हमिदको पोखरा भ्रमणका कार्यक्रम निर्धारित भएसँगै पोखरामा यसको तयारी तीव्र पारिएको कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिनुभयो ।

प्रजिअ केसीका अनुसार बिहीबार बिहान १०ः३० बजे राष्ट्रपति हमिद नेपाली सेनाको हेलिकप्टरबाट पोखरा विमानस्थल आउनुहुनेछ । विमानस्थलबाट राष्ट्रपति हमिदले सीधै फेवाताल किनारास्थित फिष्टेल लजमा पुगी आराम तथा भोजन गर्नुहुनेछ । फेवातालमा केही समय जलविहार गर्दै उहाँले अपराह्न २ः३० बजे पोखरा विमानस्थलबाट हेलिकप्टरमा रुपाकोटस्थित ‘रुपाकोट’ रिसोर्ट पुगी दृश्यावलोकन गर्ने कार्यक्रम छ ।

रुपाकोटमा दृश्यावलोकनपछि उहाँ हेलिकप्टरबाट सीधै काठमाडौँ प्रस्थान गर्ने कार्यक्रम रहेको प्रजिअ केसीले जानकारी दिनुभयो । राष्ट्रपति हमिदको पर्यटकीय नगरीको भ्रमणले यहाँको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ । अतिविशिष्ट व्यक्तिको भ्रमण हुनु आफैंँमा महत्वपूर्ण रहेको पर्यटन व्यवसायी बताउँछन् । राष्ट्रपति हमिदको भ्रमणले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष सोम थापाले बताउनुभयो । राष्ट्रपति हमिदको पोखरा बसाइ भव्य बनाउन सबैले आआफ्ना तर्फबाट सहयोग पु¥याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)को संस्थापक सदस्य बङ्गलादेशबाट नेपालमा वार्षिक २५ देखि ३० हजारसम्म पर्यटक आउँछन् । भौगोलिक निकटता, त्यहाँको ठूलो जनसङ्ख्यालगायत कारण बङ्गलादेश नेपालको राम्रो पर्यटन बजार रहेको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले जानकारी दिनुभयो । अतिविशिष्ट व्यक्तिको भ्रमणसँगै यसले देशी विदेशी सञ्चारमाध्यममा राम्रो चासो र चर्चा पाउने भएकाले राष्ट्रपति हमिदको पोखरा भ्रमणले महत्वपूर्ण अर्थ राख्ने उहाँको भनाइ छ ।

विसं २०७२ चैतमा पोखरामा सम्पन्न सार्क मन्त्रिपरिषद् बैठक (मिनी सार्क सम्मेलन) मा सहभागी सार्क राष्ट्रका विशिष्ट पाहुना र त्यसलगत्तै बेलायती राजकुमार ह्यारीलाई आकर्षित गरेको पोखराको सुन्दरताले २०७३ कात्तिकमा तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई पनि लोभ्याएको थियो । सार्क मन्त्रिपरिषद्को बैठकमा सार्क राष्ट्रबाट प्रतिनिधित्व गर्ने परराष्ट्र एवं विदेशमन्त्री तथा अन्य पाहुनाले मुक्तकण्ठले पोखराको प्रशंसा गरेर फर्केको विषय उक्त समयमा राष्ट्रिय एवं अन्तरराष्ट्रिय सञ्चारमाध्यममा छाएको थियो ।

उक्त बैठकमा सहभागी हुन आउनुभएका भारतका तत्कालीन विदेशमन्त्री सुष्मा स्वराजलगायत पाहुनाले पोखरालाई भगवान्ले फुर्सदमा बनाएको ठाउँ र प्रकृतिको अनुपम वरदान भएकाले महत्वपूर्ण निर्णय लिनका लागि उपयुक्त गन्तव्य जस्ता उपमा दिनुभएको थियो । यसअघि सन् १९६१ मा बेलायती महारानी एलिजावेथ द्वितीया र सन् १९६३ मा भारतीय राष्ट्रपति राधाकृष्णनले पनि पोखराको भ्रमण गर्नुभएको थियो ।

सातै प्रदेशका नृत्यद्वारा बङ्गलादेशी पाहुनाको स्वागत

बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्ष परिसरमा सातै प्रदेशको प्रतिनिधित्वि हुने गरी साँस्कृतिक झाँकीसहितको गीतसङ्गीत र नृत्यद्वारा स्वागत गरिएको छ । नेपाल प्रहरीको सङ्गीत विद्यालयबाट प्रशिक्षण प्राप्त ६७ कलाकारले राष्ट्रपति हमिदको स्वागतमा सांस्कृतिक नृत्यसहितको झाँकी प्रस्तुत गरे । नेपाली सेनाबाट सम्मान गारत अर्पणपछि रातो गलैँचामा पदार्पण गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीसँगै उहाँले नेपाली गीतसङ्गीतको स्वाद लिनुभयो ।

उहाँको स्वागत तथा सम्मानमा विमानस्थलमा कलाकारले प्रदेश नं १ को मारुनी, प्रदेश नं २ को झाँगड, प्रदेश नं ३ को तामाङसेलो, गण्डकी प्रदेशको कौरा, प्रदेश नं ५ को टप्पा, कर्णाली प्रदेशको थकाली र सुदूरपश्चिम प्रदेशको हुड्केली गीत तथा नृत्य पस्केका थिए । रातो साडी, चोली र जामामा देखिएका महिला कलाकार घुम्टो ओढेर छड्के तिलहरीमा सजिएका थिए । कानमा ढुङ्ग्री, शिरमा शिरबन्दी तथा शिरफूल लगाएर प्रदेश नं १ का कलाकारले मारुनी नृत्य प्रस्तुत गरे ।

मौलिक पोशाकमा रहेका पुरुष कलाकारले तरबार र ढाला प्रदर्शन गर्दै मौलिक नृत्य देखाए । उहाँहरुलाई प्रहरीको सङ्गीत विद्यालयका नृत्य निर्देशक जलमाया गुरुङ र प्रदीप हमालले निर्देशन गर्नुभएको थियो । अर्कातर्फ नेपाली मौलिक पोशाक (गुन्यु, चोली र नेपाली टोपीसहित दौरासुरुवाल) मा सजिएर लहरै बसेका ४९ स्कूले बालबालिकाले उहाँलाई बङ्गाली भाषामै स्वागत गरे । आफ्नै भाषामा स्वागत पाउँदा उहाँले ‘भालो आसी’ भनेर हात हल्लाउँदै अभिवादनका साथ स्वागत स्वीकार्नुभयो । हातहातमा नेपाल र बङ्गलादेशको झण्डा फहराउँदै बालबालिकाले स्वागत गर्दा राष्ट्रपति हमिदको मुहार चम्किलो देखिन्थ्यो ।

यसअघि विमानस्थलमा भौतिक पूर्वाधार तथा यातायतातमन्त्री रघुवीर महासेठले र अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीले बङ्गलादेशी समकक्षीलाई स्वागत गर्नुभएको थियो । उहाँलाई अतिविशिष्ट कक्षाको मूल प्रवेशद्वारमा पञ्चकन्याले पुष्पहारले स्वागत गरे । राष्ट्रपति भण्डारीको निमन्त्रणामा चार दिवसीय सद्भावना भ्रमणका लागि आउनुभएका राष्ट्रपति हमिदको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो । स्वागतका लागि विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत सरकारी अधिकारी उपस्थित हुनुहुन्थ्यो ।

विमानस्थलको बाहिरी प्रवेशद्वार आसपास सर्वसाधारण, स्काउटका विद्यार्थीले झण्डा फहराउँदै अभिभादन गरेका थिए । विभिन्न जातजातिको मौलिक पोशाक लगाएर झाँकीसहितको नृत्य प्रस्तुत गरी विशिष्ट पाहुनाको स्वागत गरिएको थियो । सुरक्षाका लागि ठाउँठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको थियो । उहाँको स्वागतमा सडकमार्गका खम्बामा नेपाल र बङ्गलादेशका राष्ट्रपतिको तस्वीर राखिएको छ भने ठाउँठाउँमा दुवै देशको झण्डा फहराइएको छ । सडकका विभिन्न ठाउँमा स्वागतद्वारसमेत बनाइएको छ । आजै उहाँले भक्तपुरको सम्पदा क्षेत्रसमेत अवलोकन भ्रमण गर्नुभयो ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीसँग बङ्गलादेशी समकक्षीले राष्ट्रपति भवन, शीतल निवासमा बुधबार अपराह्न भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले आफ्ना बङ्गलादेशी समकक्षीे नेतृत्वको प्रतिनिधिमण्डलको सम्मानमा सोही साँझ रात्रिभोजको आयोजना गर्नुहुनेछ । बुधबार नै बङ्गलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र परराष्ट्रमन्त्री ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुहुनेछ ।

राष्ट्रपति हमिदसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा तथा राजनीतिक दलका वरिष्ठ नेताले पनि शिष्टाचार भेट गर्नुहुनेछ । नेपाल बसाइका बेला बङ्गलादेशका विशिष्ट अतिथिले भक्तपुर दरबार क्षेत्र, पोखराका साथै काठमाडौँको चन्द्रागिरि भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँ भ्रमण सकेर यही कात्तिक २९ गते स्वदेश फर्कनुहुनेछ ।

बङ्गलादेशका राष्ट्र्रपतिबाट भक्तपुर भ्रमण

नेपालको औपचारिक सद्भावना भ्रमणमा आउनुभएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज अपराह्न भक्तपुर दरबार स्क्वायरको भ्रमण गर्नुभएको छ ।
यहाँ आइपुग्नुहुँदा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राष्ट्रपतिको टोलीलाई स्वागत गर्नुभएको थियो । राष्ट्रपतिले भक्तपुर दरबार स्क्वायरका मन्दिर तथा कलाकृतिको सूक्ष्म अवलोकन गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.